काठमाडौं । वामदेव गौतम, पार्टीको खोजीमा छन् । कम्युनिस्ट आन्दोलनमा आफूलाई अब्बल नेता ठान्ने वामदेव अहिले फेरि एमालेसँग एकता गर्ने लाइनमा पुगेका छन् । केहि समय पहिले नेकपा एकीकृत समाजवादीमा जान प्रयास गरेका वामदेव किन राजनीतिको भकुण्डो बन्न खोज्दैछन् त ?
वामदेव गौतम, कुनै समय निर्णायक मतसहित एमालेको शीर्ष तहमा रहेका उनी तत्कालीन नेकपामा समेत बलशाली थिए । सचिवालयमा वामदेवले कता समर्थन गर्छन् र बहुमत जुट्छ भन्ने स्थिति थियो ।
यहि कारण उनलाई राष्ट्रियसभा सदस्य बनाउने विषय नै राष्ट्रिय चर्चाको विषय बन्यो । वामदेव बर्दियाबाट तत्कालीन समयमा माओवादी केन्द्र र एमालेको चुनावी तालमेलमा पनि पराजित भएपछि उनले त्यो पराजयलाई राजनीतिक षडयन्त्रको रुपमा अथ्र्याइरहे ।
उनले आफूलाई प्रधानमन्त्री बन्नबाट रोक्ने षडयन्त्रस्वरुप प्रतिनिधिसभामा हराइएको दाबी गर्थे । राजनीति वामदेवको हातमा लामो समय भने रहनै सकेन् । नेकपा विभाजनमा वामपन्थी एकता गराएरै छाड्ने भन्दै एकता अभियानको घोषणा त गरे । तर, उनी विचल्लीमा परे । उनीसँगै रहेका केहि नेताहरुले पार्टी समाते । वामदेव बार्गेनिङ गर्दै बसिरहे ।
एमालेमा जान चाहेका वामदेवलाई एमाले अध्यक्ष केपी ओलीले खास महत्व नै नदिएपछि उनी विलौना पोखिरहेका देखिन्थे । ओलीले आफूलाई ठोस जिम्मेवारी दिन नचाहेको आरोप लगाउनेदेखि ओलीविरुद्ध अभिव्यक्ति पनि दिने गर्थे ।
यस्तोमा माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीसँग एकता गर्ने, उपाध्यक्षको जिम्मेवारी सम्हाल्ने लगायतका विषय टुंगो लागिसकेको थियो । यो विषयको पुष्टि उनले गरेका पटक–पटकका छलफल र अभिव्यक्तिले पनि गरेको छ भने एकीकृत समाजवादीका पदाधिकारीका अभिव्यक्तिले पनि गर्छ ।
वामदेवले छलफलपछि सैद्धान्तिक सहमति जुटिसकेको भन्दै ढिला नहुने विश्वास व्यक्त गरेपनि एमालेमै जाने निधो गर्ने ठाउँमा कसरी आइपुगे त ? यो भने रोचक विषय बनेको छ ।
वामदेव राजनीतिको भकुण्डो
वामदेव गौतम लामो समय कम्युनिस्ट आन्दोलनमा लागेपनि निर्णयमा स्थिर भने हुन सकेको देखिन्न । तत्कालीन एमालेबाट फुटेर फेरि एमालेमै फर्किएको घटना होस वा राष्ट्रियसभाको सदस्य बन्दा प्रधानमन्त्री बन्ने सपना देखेको बेला नै किन नहोस्, उनी स्थिरतापुर्वक अघि बढेको देखिन्न ।
वामदेव गौतम अहिले पनि एमालेमा जाने असफल प्रयासपछि नेकपा एकीकृत समाजवादी हुँदै फेरि एमालेमै जाने जिकिर गरिरहेका छन् । यस्तोमा उनले एमालेमा गएर कम्युनिस्ट एकताको पहल गर्ने भनेका छन् । तर, के यो सम्भव छ ?
तत्काल यो सम्भावना देखिन्न । यसको कारण एमालेले अंगिकार गरेको नीति र एमालेको तत्कालको कार्यनीति पनि कारण देखिन्छ । एमाले महासचिव शंकर पोखरेलले नै माधव नेपालबाहेकलाई एमालेमा स्वागत गर्ने भनेका छन भने सुदूरपश्चिममा भीम रावलसँग देखिएका नेताहरुमाथिको कारबाही प्रकरणलाई हेर्दा पनि वामदेवको यो सपना पुरा हुने देखिन्न । यसरी हेर्दा वामदेव राजनीतिको भकुण्डो बन्न पुगेका छन् । कारण हो, राष्ट्रियसभा सदस्य हुनु ।
राष्ट्रपतिबाट मनोनयनमा परेका वामदेवलाई राष्ट्रियसभाको बहुमत, अल्पमतसँग जोड्न सकिन्छ । यहि कारण पनि उनी अहिले हट केक बन्न पुगेका छन् । सरकारसँग राष्ट्रियसभामा सामान्य बहुमत समेत नरहेको स्थितिमा उनको महत्व बढेर जानुमा कुनै शंका छैन् ।
१ सदस्यले पनि ठूलो अर्थ राख्ने भएकाले वामदेवले अहिले एमालेमा महत्व पाएका छन् । यो महत्व संसदीय अंकगणितको कारण नै हो । यस्तो कारण पनि उनी राजनीतिको भकुण्डो बनेका छन् । एमाले र नेकपा एसले चाहेको बेला उनलाई यताबाट उता र उताबाट यता हान्ने गर्छन् ।
एमालेमा वामदेव एक्लै
वामदेवले बालुवाटारमा प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी ओलीसँग छलफल गर्दै गर्दा उनको समुहमा रहेका केहि नेताहरु भने माओवादी केन्द्रसँग एकता गर्ने भन्दै सार्वजनिक भएका छन् । वामदेव समूहमा रहेका नेताहरु उपाध्यक्ष एवम् लुम्बिनी प्रदेश इन्चार्ज महेन्द्र अर्याल, उपाध्यक्ष एवम् कर्णाली प्रदेश इन्चार्ज डिल्लीराज भट्टराई, उपाध्यक्ष एवम कोशी प्रदेश इन्चार्ज इन्द्र सुब्बा र उपाध्यक्ष एवम मधेश प्रदेश इन्चार्ज हरि काफ्लेले वामदेवको साथ छोडेको घोषणा गरेका छन भने माओवादी केन्द्रसँग एकता गर्ने भनेका छन् ।
यसरी हेर्दा वामदेव अन्तिममा एक्लिदै गएका छन् । यसअघि नै उनीसँग रहेका नेताहरुले एमाले र नेकपा एसमा पुगेर राजनीतिक सक्रियता बढाइसकेका छन् । यस्तो स्थिति बनेपनि वामदेवले एमालेमा जाने निर्णयलाई परिपक्क बनाउने गरि अघि बढ्लान ? शंका भने देखिन्छ ।