News 24 Television
नेपाल आहारपुरक सौन्दर्यबद्र्धक संघ एनएनसीएले प्रदेश समिति विस्तार

काठमाडौं । नेपाल आहारपुरक सौन्दर्यबद्र्धक संघ एनएनसीएले प्रदेश समिति विस्तार गरेको छ । काठमाडौंमा एक कार्यक्रम आयोजना गरेर बागमती प्रदेश विस्तार गरेको हो । 

विनोद पौडेलको अध्यक्षतामा गठित १७ सदस्यीय प्रदेश समिति बनाइएको छ । प्रदेश समिति विस्तार कार्यक्रममा तोकिएका शर्तको पालना गर्दै कानूनी परिधिभित्र रहेर व्यापार व्यवसाय गर्ने अधिकार सबैलाई रहेको सरोकारवाला निकायहरुले बताएका छन् ।
कार्यक्रममा बोल्दै सरोकारवालाहरुले यस्तो बताएका हुन् । उनीहरुले कानूनभित्र रहेर गरिएका व्यापार व्यवसायमा अवरोध गर्ने अधिकार कसैको नरहेको जिकिर गरे । 

कार्यक्रममा बोल्दै अध्यागमन विभागका महानिर्देशक गोविन्दप्रसाद रिजालले व्यवसायीहरुले व्यवसायिक सुरक्षा र चुनौतिका विषयहरु के छन् भन्ने सन्दर्भमा छलफल चलाउन जरुरी रहेको बताउनु भयो । छलफलले व्यवसाय गर्दाखेरिका चुनौति, व्यवसायिक सुरक्षासँग जोडिने विषयवस्तुहरु स्पष्ट हुने बताए । 

उनले भने , ‘व्यवसायिक सुरक्षा र चुनौतिका विषयहरु के छन् भन्ने सन्दर्भमा यहाँहरुले एउटा राम्रो किसिमको छलफल चलाउनुस् । त्यसले पनि फाइदा नै गर्दछ । हामीले व्यवसाय गर्दाखेरिका चुनौतिहरु केके छन् ? व्यवसायिक सुरक्षासँग जोडिने विषयवस्तुहरु के छन् ? कसरी अघि बढ्दा अझ राम्रो हुन्छ भन्नेबारेमा छलफल गर्नुस् । कानूनी परिधिभित्र रहेर र तोकिएका शर्तको पालना गर्नेगरी व्यापार व्यवसाय गर्न पाउनेछ । त्यसमा कसैले पनि अवरोध गर्न हुँदैन । कहीँ कतै भइरेको छ भन्ने गुनासो छ । त्यो गुनासो पनि आगामी दिनमा सरोकारवाला निकायहरुसँग बसेर छलफल गरेर समाधान गर्न सकिन्छ ।’

कार्यक्रममा बोल्दै वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेलले नेपालमा कतैपनि दर्ता नभइ र गुणस्तरको बारेमा कहीँ पनि परीक्षण नगरी विक्री वितरण गर्नेहरुमाथि सरकारले कडा कारबाही गर्ने बताउनु भयो । उहाँले विभागले उनीहरुको सामान जफत गर्नेदेखि जरिबाना तिराउनेसम्मको निर्णय लिनसक्ने बताए । उनले विधिवत ढंगले दर्ता गरेर नेपालमा दर्ता भएको वस्तु बेचेको खण्डमा पनि कारबाही, जफत वा कुनै प्रकारका दण्ड जरिबाना गर्न नसक्ने बताए । 

  उनले भने , ‘कहीँ पनि नेपालमा दर्ता नभइकन, गुणस्तरको बारेमा कहीँ पनि खोजि नै नगरीकन जति पनि वस्तुहरु नेपालमा विक्री वितरण भइरहेका छन्, ति वस्तुहरुको हकमा हामी एकदमै कडा ढंगले अगाडि बढ्छौँ । त्यसलाई जफत, जरिबाना गर्ने सम्मको कानूनी कारबाहीमा अगाडि जान्छौँ । तपाईंले विधिवत ढंगले दर्ता गरेर नेपालमा दर्ता भएको वस्तु बेचिरहनुभएको छ भने वाणिज्य विभागले कारबाही गर्ने, जफत गर्ने वा कुनै प्रकारको दण्ड जरिबाना गर्दैनौँ ।’

कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा। ईश्वर सुवेदीले मानव स्वास्थ्यसँग प्रत्यक्ष रुपमा सरोकार राख्ने वस्तु भनेको खाद्य वस्तु रहेको बताए ।  कार्यक्रममा नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिल कार्कीले सरकारी निकायहरुले व्यवसाय दर्ता र अनुगमनलाई सहज बनाइदिनुपर्ने बताए । व्यवसायीहरुले पनि पारदर्शी हिसावले काम गर्नुपर्नेमा जोड दिए । 

उनले  भने , ‘सरकारी निकायले दर्ता र अनुगमनलाई स्विफ्ट बनाइदिने, फास्ट बनाइदिने र आँखाले देखिने मात्रै पारदर्शी हिसावले काम गरिदिने हो भने धेरै सस्तो त्यहीँबाट हुन्छ । औषधिको हकमा मात्रै होइन, खाद्य, तेल, निर्माण सामग्री सबैमा हो ।’

उनले  गलत ढंगले नाफा कमाउन खोज्नेहरुलाई भने कानूनी दायरामा ल्याउन आवश्यक रहेको बताउनु भयो । कार्यक्रममा एनएनसीएका केन्द्रीय अध्यक्ष विप्लव रञ्जितले कानूनसम्बद्ध व्यापार गर्ने वतावारण बनाउन सरकारको योजना प्रष्ट हुनुपर्ने उल्लेख गरे । 

उनले भने , ‘सरकारको एउटा निकायले दर्ता दिने अर्को निकायले नचिन्ने गर्न हुँदैन ।’ अध्यक्ष रञ्जितले खाद्य विभागले अनुमति दिएर व्यवसाय सुरु गरेका आहारपुरक र सौन्दर्य सामग्रीमा औषधि व्यवस्था विभागले सहजीकरण गर्नुपर्ने धारणा राखे । त्यस्तै महासचिव सुरज पौडेलले आम नागरिकका लागि आवश्यकता बन्दै गरेको आहारपुर फुड सप्लिमेन्ट्रीबारे नागरिक तहमा बुझाउन आवश्यक रहेको उल्लेख गरे । अधिवेशनले विनोद पौडेलको अध्यक्षतामा गठित समितिको बरिष्ठ उपाध्यक्षमा बालकृष्ण पौडेल, उपाध्यक्ष अमित सिन्हा, सन्जिव रोय, महासचिव कृष्ण अधिकारी, सचिव सुमन शंकर, कोषाध्यक्षमा मीन रिमाल र सहकोषाध्यक्ष बसन्त थापालाई निर्वाचित गरेको छ ।

 त्यस्तै सदस्यहरु गिता गौतम (सामना), सृष्टि बन, सरोज चालिसे, सरोज सापकोटा, प्रशुन राज उपाध्याय, रमेश पौडेल, सन्तोश सुवेदी, अरुण महर्जन र समीर काजी श्रेष्ठ रहेका छन् ।
 

प्रकाशित मिति: आइतबार, माघ ६, २०८१  १२:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update