News 24 Television
 नेकपा एसका कार्यकर्ता धमाधम एमालेमा, माधवलाई भने ‘नो इन्ट्री’ ! 

काठमाडौं । तत्कालीन (नेकपा) विभाजनपछि नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेका माधवकुमार नेपालले आफ्नो पार्टीलाई विभिन्न चरणमा निर्वाचनमार्फत परीक्षण पनि गरे । स्थानीय तहको निर्वाचनसँगै प्रदेश र केन्द्रको निर्वाचनलाई पनि नेकपा एसले सामाना गरेको थियो । तर माधव नेतृत्वको नेकपा एसले सोचेजति मत परिणाम ल्याउन सकेन । 

सबै निर्वाचनहरुमा काँग्रेस र माओवादीसँग गठबन्धन गरेको नेकपा एसले केन्द्रको निर्वाचनमा प्रत्यक्षतर्फ १० सिट ल्याउँदा समानुपातिक मत परिणामले उसलाई राष्ट्रिय दल बनाउन भने सकेन । अहिले पनि कमजोर धरातलमा रहेको नेकपा एस तत्कालीन गठबन्धन टुटाएर काँग्रेस–एमालेले सरकार बनाउँदा माओवादीसँगै प्रतिपक्षमा छ । जसका कारण पनि एमाले र नेकपा एसको सम्बन्धमा सुधार भएको छैन । 

ओली–माधवको पानी बाराबार

एमालेमै रहँदा पनि आन्तरिक संघर्षमा गहिरोगरी डुवेका माधव नेपाल र केपी शर्मा ओलीको सम्बन्ध अझै सुधारोन्मुख देखिँदैन । तत्कालीन नेकपा हुँदा पुष्पकमल दाहाल प्रचण्डसँग मिलेर माधवले केपी शर्मा ओलीको चरित्र र कार्यशैलीकाविरुद्ध सडक आन्दोलन नै  गरेका थिए । तत्कालीन नेकपामा देखिएको चर्को विवादकै कारण पार्टी विभाजन हुँदा नेकपा एस स्थापना भएको हो । 

पार्टी विभाजन गरेपछि एमाले अध्यक्ष ओलीले माधवको नाम नै नलिने र लिएको अवस्थामा पनि मुख कुल्ला गर्नेसम्मको अभिव्यक्ति दिँदै आएका छन् । माधव र ओलीको यो विवादको क्रम अझै जारी छ । अहिले सत्तामा रहेका ओलीले प्रतिपक्षीे मोर्चाको गतिविधिलाई खिसिट्युरी गर्ने गरेका छन् । उता माधवले पनि ओलीको कार्यशैली र अभिव्यकितको घोर विरोध गर्ने गरेको दे्खिन्छ । 

ओली माधवबीच भनाभन चलिरहँदा पनि पछिल्लो समयसम्ममा नेकपा एसका दर्जनौँ नेता  र हजारौँ कार्यकर्ता नेकपा एमालेमै फर्किसकेका छन् । नेकपा एमालेको पछिल्लो केन्द्रीय कमिटि बैठकले पनि पार्टी छाडेर जाने पूर्वनेता तथा कार्यकर्ताहरुलाई एमालेमै फर्कए स्वागत गर्ने आधिकारिक निर्णय नै गरेको छ । तर पार्टी फुटाउन नेतृत्व गरेका माधव नेपाललाई भने अस्वीकार गर्ने एमालेको रणनीति देखिन्छ । फलतः शुक्रबार मात्रै महासचिव शंकर पोखरेलले एमाले छाडेका सबैलाई स्वागत गरिने तर माधव नेपालका लागि भने बाटो खुला नरहेको प्रष्ट पारेका छन् । 

यद्यपि यही अवस्थामा नेकपा एकीकृत समाजवादी परित्याग गरेर एमाले प्रवेश गर्नेहरुको जमात बढीरहेको छ । शुक्रबार मात्रै नेकपा एस निकट समाजवादी प्रेस संगठन नेपालका अध्यक्ष विश्वमणि सुवेदीसहित उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र केही केन्द्रीय सदस्यसमेत एमाले निकट पत्रकार संगठन प्रेस चौतारीमा प्रवेश गरेका छन् । यसअघि सुवेदीले आफूले लेखेबापत पार्टीले स्पष्टीकरण सोधेको भन्दै सामाजिक सञ्जालमार्फत नै असन्तुष्टि जनाएका थिए । 

यस लगत्तै सुवेदीसहितको टिम प्रेस चौतारीमा प्रवेश गरेका हुन् । उता समाजवादी प्रेस संगठनले भने सुवेदीलाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको भन्दै विज्ञप्ति जारी गरेको छ । यसरी एमाले परित्या गरेर नेकपा एसमा सामेल भएकाहरु पुनः एमालेमै फर्कँदा स–सम्मान स्वागत भइरहेको छ । तर यही अवस्थामा माधव नेपाललाई भने एमालेले बाटो बन्द रहेको जिकिर गरिरहेको हो । 

प्रकाशित मिति: आइतबार, माघ ६, २०८१  ०९:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update