News 24 Television
खो खो विश्वकपः पुरुष र महिला दुबै टोली फाइनलमा

काठमाडौं । पछिल्लो समय नेपाली खेलको विभिन्न विधामा नेपाली महिला टिमले सफलताहरु हासिल गर्दै आएको छ । केही समयअघि मात्रै साफ महिला च्याम्पियनसिप फुटवलमा नेपाल उपविजेता बनेको थियो । 

क्रिकेटमा पनि उत्कृष्ट प्रदर्शन गर्दै आएको नेपाली महिला टिमले पहिलो पटक विश्वकप क्रिकेट खेलिरहेको छ । हालै भारतमा जारी खो खो विश्वकपमा पनि ऐतिहासिक जित निकाल्दै नेपाली महिला टोलीले फाइनल यात्रा तय गरेको छ भने पुरुष टिम पनि फाइनलमा पुगेको छ ।

नेपाली महिला टोली भारतमा जारी खो खो विश्वको फाइनलमा पुगेको छ । भारतमा जारी खो खो विश्वकपमा नेपालले उत्कृष्ट प्रदर्शन जारी राख्दा नेपाली महिला टोलीले शनिवार युगाण्डालाई हराउँदै फाइनल यात्रा तय गरेको हो । 

सेमिफाइनलको खेलमा नेपालले युगाण्डलाई १८– ८९ ले पराजित गरेको हो । विश्वकपमा फाइनलमा पुगेको यो पहिलो पटक हो । खो खो विश्वकपमा नेपाली टोलीले एतिहासिक जित निकालेको हो ।  

इरानलाई शुक्रवार १०३–८ को फराकिलो अन्तरले हराँउदै नेपाल महिला टिम सेमिफाइनलमा पुगेको थियो । समूह चरणमा अपराजित रहँदै अघि बढेको नेपाली महिला टोली समूह ‘सी’ को विजेता बनेको थियो । हालसम्म ६ वटा खेलमा नेपालले सबै खेल जितेको छ ।  

नेपालले पहिलो खेलमा भुटानलाई ९३–२४, दोस्रो खेलमा जर्मनीलाई ७३–३४, तेस्रो खेलमा श्रीलंकालाई ११०–१० ले र चौथो खेलमा बंगलादेशलाई ८४–२४ ले पराजित गरेको थियो ।

यस्तै, शनिवार नै भएको पुरुषतर्फको सेमिफाइनलमा पनि इरानलाई हराउँदै नेपाली टोली फाइनलमा प्रवेश गरेको छ । भारतको नयाँ दिल्लीमा रहेको इन्दिरा गान्धी स्टेडियममा भएको सेमिफाइनल खेलमा नेपालले इरानलाई  ७२–२० ले पराजित गरेको हो । 

शुक्रबार भएको खेलमा पुरुष टोलीले बङ्गलादेशलाई ६७–१८ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको थियो । नेपाली पुरुष टोली समूह चरणको पहिलो खेलमा भारतसँग पराजित भएको थियो । तर दोस्रो खेलमा पेरु, तेस्रो खेलमा ब्राजिल र चौथो खेलमा भुटानलाई पराजित गर्न सफल भएको हो । प्रतियोगिताअन्तर्गत महिला र पुरुष दुवैतर्फका फाइनल खेल आइतबार हुनेछन् ।

 

प्रकाशित मिति: आइतबार, माघ ६, २०८१  ०८:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update