काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मोरङको ग्रामथान गाउँपालिकाको सभालाई सम्बोधन गर्दै माओवादी केन्द्रको विजयी यात्रा शुरु भएको दाबी गरेका छन् ।
माओवादी केन्द्रले उपनिर्वाचनबाट पालिका जितेपछि प्रचण्डले गरेको यो दाबी र सुशासनको नारामाथि भने प्रश्नहरु अनुत्तरित नै देखिन्छन् ।
गएको उपचुनावमा माओवादी केन्द्रले उत्साहजनक मत प्राप्त गरेपछि अध्यक्ष प्रचण्ड यसैलाई मापन गरि विभिन्न उद्घोष गर्दै आइरहेका छन् ।
गएको उपनिर्वाचनबाट माओवादी केन्द्रले एक पालिका नै थप गरेको छ, भने वडामा समेत बलियो उपस्थिति जनाएको अवस्था छ । यस्तोमा माओवादी केन्द्रले मोरङको ग्रामथान गाउँपालिकाको उपचुनाव जित्नुलाई उपलब्धिको रुपमा ब्याख्या गर्दै अब बिजयी यात्रा शुरु भएको अर्थमा प्रचण्डले जिकिर गरेका छन् ।
प्रचण्डले यस्तो दाबी गर्दै गर्दा पालिकामा निर्वाचित नमो नारायण माझीले पनि खुशी साटेका छन् । तराई क्षेत्रको दल अदलीबदलीको क्रममा माओवादी केन्द्रबाट उम्मेदवार बनेका माझीले निर्वाचन जितेपछि संकटको स्थितिमा माओवादीलाई उत्साह दिने नेताको रुपमा उनलाई लिने गरिएको छ ।
अध्यक्ष माझीले पनि विकासको काममा जनतालाई जोड्ने विषयदेखि विभिन्न काममा लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
माओवादी केन्द्रले खबरदारीसभाको रुपमा जनतालाई धन्यवाद दिने भन्दै आयोजना गरेको कार्यक्रममा खुशी साटिएपनि पालिका अध्यक्षको काममा भने कुनै शब्द खर्च गरिएन् । यस प्रकारको शैलीले जनतामाथि खेलवाड त गरिएन भन्ने प्रश्न स्वभाविक उठेको छ ।
ग्रामथान गाउँपालिका र नमो नारायण
मोरंङको ग्रामथान वडा नम्वर २ का विभिन्न क्षेत्रमा अवैध माटो उत्खनन भइरहेको जनगुनासो बढेको भन्दै प्रमुख प्रशासकीय अधिकृत रामराज पौडेलले गैरकानूनी उत्खनन रोक्दै संलग्न सवारीसाधन नियन्त्रणमा लिन भन्दै प्रहरीलाई पत्र लेखेका थिए ।
त्यसपछि अध्यक्ष माझीले के कति कारणले यस्तो गरेको भन्दै स्पष्टीकरण नै सोधेका थिए । अवैध काम रोक्नुको सट्टा उनले कर्मचारीमाथि ज्यादति गरेको आरोपसहित उनीमाथि अनेक आरोप लागेका थिए । तर, यो विषय अहिले सेलाएको छ ।
कांग्रेसबाट माओवादी केन्द्रले ग्रामथान खोसेको हो । तर, अध्यक्ष माझीको यस्तो हर्कतपछि उठेका प्रश्नको निवारण भने आन्तरिक रुपमै मिलाइएको बताइन्छ ।
प्रचण्डको प्रशंसा
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ग्रामथानका जनतालाई आफ्नो निवास खुमलटारको गेट जहिले पनि खुला रहने आश्वासन समेत दिएका छन् । जनताको पक्षमा पालिकाले काम गर्छ वा गर्दैन भन्ने विषयको ग्यारेन्टी पार्टीले लिने गरि अभिव्यक्ति दिनुको सट्टा अहिले आगामी निर्वाचनमा पहिलो बन्ने दाबीबाहेकका विषय समेटेको देखिन्न ।
उसोतः यो पालिकाको जित निकाल्नका लागि माओवादी केन्द्रका सांसद अमनलाल मोदीको ठूलो भुमिका रहेको बताइन्छ । तर, माओवादी केन्द्रबाट निर्वाचित अध्यक्षले पहिलो पटकमै सोधेको स्पष्टीकरणले पालिकाले सुशासनको पक्षमा काम गर्ने बाटो खोल्न सक्ला भन्ने प्रश्न भने पेचिलो बनिरहेको छ । तर, अध्यक्ष माझीले अवैध उत्खनन्मा आफ्नो विमति रहेपनि जानकारी नै नदिइ स्पष्टीकरण किन सोधेको भन्दै जवाफ मागेको बताउने गरेका थिए ।
सामान्य जानकारी समेत नदिएको भन्दै उनले स्पष्टीकरण सोधेको जिकिर गरेपनि यो विषयको विवाद लम्बिन नदिइ सामसूम पारिएको थियो ।