News 24 Television
तीन वर्षअघि सकिनुपर्ने द्रुतमार्गको काम ३७ प्रतिशत 

काठमाडौं । बहुप्रतीक्षित काठमाडौँ–तराई–मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माणको काम शुरु भएको झण्डै सात वर्ष पुगिसकेको छ । तर द्ुतमार्ग निर्माणको काम भने सुस्त छ । 

त्यसैले तोकिएको समयभित्र निर्माण सम्पन्न हुने सम्भावनालाई लिएर प्रश्न उठ्न थालेका छन् । आयोजनाले हालसम्म करिब ३७ प्रतिशत मात्र निर्माण कार्य सम्पन्न गरेको छ । 

सरकारले उच्च प्राथमिकतामा राखेको काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्र्याक) परियोजनाको गति भने सुस्त छ । निर्माण सुरु भएको सात वर्षमा यस परियोजनाको भौतिक प्रगति केवल ३७.६ प्रतिशत मात्र छ । 

७४ सालमा सरकारले द्र्रूत मार्ग निर्माणको जिम्मेवारी नेपाली सेनालाई दिएको थियो । ७६ सालमा डिपिआर तयार भएपछि निर्माणको काम अघि बढेको थियो । फास्ट ट्रयाक निर्माण पूरा भएपछि काठमाडौं उपत्यकाबाट तराईसम्म पुग्न डेढ घण्टामै सम्भव हुन्छ । 

अहिलेको चार पाँच घण्टाको दुरी डेढ घण्टामा छोटिँदा यसले नेपालको अर्थतन्त्रलाई नै सकारात्मक प्रभाव पार्नेछ । तर, अपेक्षित गतिमा काम सम्पन्न हुन नसक्दा लागत पनि दिनप्रतिदिन बढ्दै गएको छ ।

द्रुतमार्ग निर्माणमा के–के हुँदैछ ?

–    विभिन्न १३ वटा प्याकेज रहेको काठमाडौँ–तराई÷मधेस द्रुतमार्ग सडक आयोजनाको हाल निर्माणाधीन १२ वटा प्याकेज

–    ७ वटा सुरुङ मध्ये धेद्रे तथा लेनडाँडामा रहेका २ वटा सुरुङहरू छिचोलिई सकिएको 

–    महादेवटारस्थित सुरुङ मार्गको निर्माण कार्य ६५ प्रतिशत सम्पन्न
 
–    चन्द्रामभिरस्थित सुरुङको निर्माण कार्य सुरु 

–    ३ वटा सुरुङहरूको डिजाइन तथा पूर्व तयारीको कार्य जारी

–    निर्माण गर्नुपर्ने ८९ वटा पुलहरू मध्ये ८० वटा पुलहरूको निर्माण कार्य जारी

–    ५ वटा पुलको निर्माण कार्य सम्पन्न 

–    खोकना–बुङ्मती खण्डको २ सय ११ रोपनी जग्गा अझै अधिग्रहण हुन नसक्दा पुल निर्माण अलपत्र

–    हालसम्मको समष्टिगत भौतिक प्रगति ३७.६० प्रतिशत र वित्तीय प्रगति ३९.५६ प्रतिशत अर्थात करिब ७२ अर्ब ४१ करोड रुपैयाँ खर्च 

प्रारम्भिक लक्ष्यअनुसार २०७८ भदौसम्म फास्ट ट्रयाक निर्माण सम्पन्न गर्नुपर्ने थियो । 

लक्ष्यअनुसार काम हुन नसकेपछि सुरुमा २०८१ सम्म म्याद थप भयो । पछिल्लो पटक त्यसलाई पुनः २०८३ चैतसम्म पु¥याइएको छ । तर, हालसम्म एक तिहाई मात्र काम सम्पन्न भएको कारण राष्ट्रिय गौरवको यो आयोजना समय पनि पुनः थप गर्नुपर्ने अवस्थामा पुगेको छ । 

कुल ७०.९७७ किलोमिटरमध्ये ६४.४७७ किमिमा मात्र काम भइरहेको छ । ललितपुरको खोकना खण्डको ६.५ किमिमा अझै ठेक्का व्यवस्थापन हुन सकेको छैन । १ खर्ब ११ अर्ब रुपैयाँको शुरुवाती लागत संशोधन गरेर १ खर्ब ७५ अर्ब रुपैयाँ पु¥याइएको थियो । अहिले फेरि संशोधन गरेर २ खर्ब ११ अर्ब ९३ करोड रुपैयाँ बनाइएको छ । तर निर्माणमा अहिलेसम्म करिब ७२ अर्ब ४१ करोड रुपैयाँ खर्च भइसकेको छ ।

काठमाडौं–तराई द्रुतमार्ग नेपालको यातायात क्षेत्रमा कोसेढुंगा सावित हुनसक्ने सम्भावना छ । तर, हालसम्मको सुस्त प्रगतिको गति हेर्दा सरकारले यो परियोजनालाई थप प्राथमिकता दिएर समयमै सम्पन्न गर्न प्रभावकारी कदम चाल्नुपर्ने देखिन्छ ।

प्रकाशित मिति: आइतबार, माघ ६, २०८१  ०८:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update