काठमाडौं । नेकपा माओवादी केन्द्रसहित प्रमुख प्रतिपक्षी दलहरुले सत्ता ढाल्ने प्रयासलाई निरन्तरता दिइरहेका छन् । सुरुमा काँग्रेस एमालेको गठबन्धनप्रति नकारात्मक टिप्पणी गर्दै सरकार गठनको प्रकृयामै कैफियत देखाएका प्रतिपक्षीहरु अझै सत्तारुढ गठबन्धनको औचित्यमाथि प्रश्न गरिरहेका छन् ।
कानूनी आधारसहित काँग्रेस–एमाले मिलनलाई नै अपवित्र र अस्वभाविक भन्ने गरेका प्रतिपक्षीहरुले सुरुमा सरकार ठडिनै नदिने रणनीति लिएका थिए । जसको प्रयासस्वरुप संसदमै प्रतिपक्षीहरु गर्जिएका थिए । तर यो प्रयासमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र रास्वपा लगायताका प्रतिपक्षीहरु असफल भए । यसपछिका केही समय सत्तामाथि गहिरो नजर नलगाएका यी दलहरु पछिल्लो समय भने पुनः सत्ता ढाल्ने र ढलिहाल्ने प्रक्षेपण पनि गरिरहेका छन् ।
यसका साथै माओवादी अध्यक्ष समेत रहेका प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्ड समाजवादी मोर्चालाई सक्रिय बनाउने रणनीतिमा पनि छन् । यसअघि निष्क्रिय रहेको समाजवादी मोर्चा अहिले प्रचण्डले सक्रिय बनाउनुलाई सत्ताको आधार तय गरिरहेकै रुपमा लिइँदै आएको छ ।
यसमा गोलबद्ध हुन मोर्चाबाट अलग हुन चाहेका जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई पनि बोलावट भइरहेको छ । प्रतिपक्षले वर्तमान सरकार ढल्नसक्ने र वैकल्पिक सरकार निर्माण गर्ने तीव्र तयारी थालिरहेको देखिन्छ ।
यही प्रयोजनका लागि वर्तमान सरकारको औचित्य र कार्यसम्पादनमाथि पनि प्रतिपक्षीले झन असन्तुष्टि जनाइरहेका छन् ।
मुख्यत प्रतिपक्षीले सरकारका पछिल्ला कदम र निर्णयहरुले सत्ता गठबन्धनमा खटपट पैदा हुने आंकलन गरेर प्रतिपक्षी मोर्चालाई बलियो बनाउन खोजेको देखिन्छ । प्रतिपक्षले संविधान संशोधनको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्ति र सरकारले ल्याएको अध्यादेशका कारण सत्तामा खटपट हुने आंकलन गरेको देखिन्छ । तर भर्खरै सरकारले ल्याइएको अध्यादेशाबारे भने प्रधानमन्त्री ओलीले काँग्रेससँगकै समझदारीमा ल्याएको बताइरहेका छन् ।
यसले पनि काँग्रेस एमालेको सत्ता सहकार्यमा तत्काललाई समस्या नरहेको भन्न सकिने अवस्था छ । जसले सत्ता ढाल्ने रणनीतिमा रहेको प्रतिपक्षीको योजना विफल भएको देखिन्छ । यद्यपि काँग्रेसको एक पक्षले भने सत्ता सहकार्यमा समस्या रहेको जिकिर गरिरहेको छ ।
यसअघि नै संविधान संशोधन र अध्यादेश ल्याउने सवालमा काँग्रसका केही नेताहरुले विमत्ति जनाएका थिए । यो कोणबाट नियाल्दा सत्ता सहकार्यमा केही समस्या रहेको भन्न सकिने अवस्था पनि छ । तर काँग्रेसबाट प्रतिनिधित्व गर्दै सरकारमा गएका मन्त्रीहरुसँग सभापति शेरबहादुर देउवाले गरेका छलफलमा मिश्रित प्रतिकृया आएका थिए । यद्यपि सत्ता सहकार्यका सवालमा एमालेसँग कुनै समस्या नरहेको काँग्रेसले निश्कर्ष निकालिएको छ ।
जसले तत्कालका लागि सत्ता ढाल्ने प्रतिपक्षी रणनीतिलाई चुनौति दिएको छ । पछिल्लो दिनहरुमा पनि प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डले सत्ता तत्काल ढलिहाल्नसक्ने खतराको संकेत गर्दै आफू ‘रिल्याक्स’ रहेको जिकिर गरिरहेका थिए ।
सुरुका दिनदेखि नै वर्तमान सत्ता समीकरण अप्राकृतिक र अस्वभाविक रहेको भन्दै सत्ताको आयू धेरै नरहेको टिप्पणी गर्ने प्रतिपक्षलाई काँग्रेसको यो निश्कर्षले भने थप चुनौति दिएको छ ।