News 24 Television
ओलीको कुर्सी देउवाको मुडमा, छिट्टै देखिन सक्छ यस्तो संयोग !

काठमाडौं । सत्ता सहकार्यका विभिन्न अड्कलबाजीकाबीच प्रधानमन्त्री केपी ओलीमा एकखाले वेचैनी देखिन्छ । विपक्षी दलहरुले छलफल गरेपनि तर्सिने गरेका ओलीमाथि कांग्रेसको एक पक्षले खुलेर विरोध गर्दा सत्ता सहकार्यमा जोखिम बढाउने त होइन भन्ने पीर समेत देखिन्छ ।

यस्तोमा ओली सत्ताको एकमात्रै भरोसाको रुपमा देखिएका छन्, कांग्रेस सभापति शेरबहादुर देउवा । तर के अहिलेको स्थितिलाई देउवाले लामो समयसम्म सम्हाल्ने काम गर्लान् ? कस्तो देखिन्छ परिदृष्य ? 

कांग्रेस एमाले सत्ता गठबन्धनमा दरार आउला त ? यसबारे नेताहरुले प्रष्टीकरण दिनेक्रम जारी छ । कांग्रेसले प्रधानमन्त्री केपी ओलीलाई भरोसा दिनेक्रममा केहि शंकाहरु देखिन्छन् । विपक्षी दलका नेताहरुले छलफल नै गर्न थालेको बेला समेत प्रधानमन्त्री ओली चिढिने गरेका छन् । 

ओलीलाई सत्तामा आउनसक्ने सबैखाले चुनौतिको सामना गर्नुको सट्टा विपक्षी दलहरुले छलफल सहकार्य गर्दा नै चिढिनु पर्ने स्थिति बनिरहेको छ ।

साना दलमाथि थ्रेस होल्ड लगाएरै भएपनि तह लगाउने मनस्थिति बनाउने गरेका ओलीलाई कांग्रेसले भरथेग गर्ला ? शंका भने देखिन्छ । कांग्रेसको आन्तरिक राजनीतिमा देखिएको समस्यालाई साम्य पार्ने कोसिस पनि देखिन्छन् ।

यस्तोमा गृहमन्त्री समेत रहेका कांग्रेस नेता रमेश लेखकले गठबन्धनमा कुनै समस्या नरहेको जिकिर गरिरहेका छन् । 

यसरी कांग्रेसको एक पक्षले सरकार र गठबन्धनको बचाउ गरेपनि कांग्रेसकै नेताहरुले विरोध गरिरहेका छन् । सरकारको कामबाट सन्तुष्ट नरहेका नेताहरुले अध्यादेशपछि सार्वजनिक रुपमै विरोध गरिरहेको देखिन्छ । तर, प्रधानमन्त्री ओलीले अध्यादेशले देशलाई धेरै अघि लैजाने भन्दै बचाउ गर्ने गरेका छन् ।

सत्तामा कांग्रेसको निर्णय नै निर्णायक हुनेमा शंका छैन् । कांग्रेस सभापति शेरबाहदुर देउवालाई प्रधानमन्त्री बनाउने कोसिस पनि चलिरहेको छ । यस्तोमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले त सार्वजनिक रुपमै ओलीलाई रोक्न विश्वासको मत लिएको खुलासा गरिसकेका छन् । 

प्रचण्डले दिएको अभिव्यक्तिले पनि ओलीको सत्ता देउवाको हातमा निर्भर हुनेमा शंका छैन् । यस्तोमा अध्यादेशदेखि सरकारका काममा उठेका प्रश्न र संसदीय अंकगणितका कारण पनि ओली देउवाको आडभरोसामा बस्नुपर्ने स्थिति थप बलियो बन्दै गएको छ ।

देउवा–ओली संयोग

कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी ओलीबीच गज्जबको संयोग निर्माण हुने शंका गर्न थालिएको छ । ओलीले संसद विघटन गर्दै प्रधानमन्त्रीको कुर्सी ओगटीरहेको बेला ओलीलाई विस्थापन देउवाले नै गरेका थिए । त्यसमा प्रचण्ड माधव नेपालसहितका नेताहरुले भूमिका खेलेका थिए । 

ओलीलाई प्रधानमन्त्रीबाट बर्खास्त गर्दै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्चमा परेको रिटपछि देउवा सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्री बनेका थिए । 

अहिले फेरि कांग्रेस एमालेको सत्ता सहकार्यमा ओलीलाई फालेर देउवा नै प्रधानमन्त्री बन्ने लाइनमा छन् । स्वभाविक गठबन्धन नचलेमा उनै देउवाले परमादेशपछि जनादेशको नाममा ओलीलाई फेरि बालकोट पठाउनेछन् । 

त्यो बेलाको जस्तो सत्ता बहिर्गमन नभएपनि ओलीलाई देउवाले नै सत्ता नेतृत्वबाट फाल्ने स्थितिमा उनै देउवा निर्णायक बन्नुलाई रोचक विषयको रुपमा लिन थालिएको छ । 

प्रकाशित मिति: शनिबार, माघ ५, २०८१  ०८:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update