काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कानून निर्माण काम रोक्नका लागि नभइ काम गर्नका लागि बनाउनुपर्ने बताएका छन् । शुक्रवार काठमाडौंमा स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) को २५ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
अहिले सरकारले काम गर्नका लागि अध्यादेश ल्याएको दाबी गर्दै प्रधानमन्त्रीले कतिपयले यसको विरोध गर्न खोजिरहेको गुनासाे गरे । अध्यादेशहरू अबकाे १५-२० दिनमा संसदमा पेश भएर दुई महिनाभित्र कानूनको रुप लिइसक्ने समेत उनकाे दाबी छ ।
दुई महिनासम्म देशका कामहरु रोकेर राख्न नमिल्ने बताउँदै ओलीले एउटा देशका लागि दुई महिनाको समय धेरै नै महत्वपूर्ण रहेको बताए । उनले विकासका काम अघि बढाउने र जनताको सेवा गर्ने व्यवसायमैत्री सकारात्मक कानूनहरुको निर्माण जरुरी रहेकोले अध्यादेश ल्याउनुपरेकाे जिकिर गरे ।
प्रधानमन्त्री ओलीले भने, ‘अहिले हामीले भर्खर कानून अध्यादेशमार्फत ल्याएका छौँ । कतिपयले त्यसको विरोध गर्न खोजिरहेका छन् । अध्यादेशले शासन खोज्यो भने । १५/२० दिनभित्र संसद आइसक्छ । संसद आएको पहिलो दिन त्यहाँ पेश गर्छौं । त्यहाँ छलफल गर्छौं । र अगाडि बढाउँछौँ । दुई महिनाभित्र त्यसको टुंगो लागिसक्नुपर्छ । तर दुई महिनासम्म काम रोकेर बस्न मिल्दैन । एउटा देशको दुई महिना भनेको महत्वपूर्ण छ । अत्यन्त जरुरी कुराहरु । अहिले खोल्न जरुरी छ । उद्यमी व्यवसायीहरु अहिले तड्पिएका छन् । हाम्रा नीतिहरु, कानूनहरु बन्नुपर्दछ, काम गर्नका लागि, काम रोक्नका लागि होइन । रोक्न कानून बनेका छन् भने त्यस्ता कानूनलाई फेर्न पर्दछ । कामलाई अघि बढाउने, विकासलाई अघि बढाउने, जनतालाई सेवा पु¥याउने र व्यवसायीलाई पुग्ने सकारात्मक कानूनहरु परिवर्तन गर्नुपर्छ । एक हप्ता ढिलो हुन्छ भने एक हप्ता अगाडि गर्नुपर्दछ । अध्यादेश भनेको कुनै छुट्टै पृथक केही कुरा होइन ।’