काठमाडौं । काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन लामो समयदेखि अस्तव्यस्त रहँदै आएको छ । दैनिक लाखौं सर्वसाधारणले ट्राफिक व्यवस्थापनको अभावले हैरानी खेप्नु परिरहेको छ । अत्यधिक सवारी चाप, साँघुरा सडक र जनसंख्याको तीव्र वृद्धिले गर्दा उपत्यकामा ट्राफिक समस्या झन् जटिल बनेको छ ।
दैनिकजसो हुने ट्राफिक जामले सर्वसाधारणको समय र सवारी साधनमार्फत पेट्रोलियम पदार्थमो अनावश्यक खपत भइरहेको छ ।
ट्राफिक जाम उपत्यकामा दैनिक जीवनको एक हिस्सा जस्तो बनेको छ । विशेषगरी चाबहिल, कोटेश्वर, कलंकी, थापाथली र नयाँ बसपार्कजस्ता चोकहरू सधैंजसो अस्तव्यस्त अवस्थामा देखिन्छन् । बिहानको व्यस्त समय र बेलुकीको समयमा कामबाट फर्कने क्रममा ट्राफिकको समस्या चरम अवस्थामा पुग्ने गर्दछ ।
ट्राफिक व्यवस्थापनका लागि ट्राफिक प्रहरी महाशाखाले प्रयास गरिरहेको भए पनि समस्या समाधानमा अपेक्षित सफलता प्राप्त गर्न सकेको छैन । स्मार्ट ट्राफिक लाइट प्रणाली र डिजिटल निगरानी प्रणाली केही क्षेत्रहरूमा मात्र सीमित छन् ।
सवारी साधनको तुलनामा पार्किङ स्थलको अभाव, फुटपाथमा पसलहरूको अतिक्रमण र अव्यवस्थित सार्वजनिक यातायात प्रणाली समस्या बढाउने मुख्य कारण बनेका छन् । सवारी चालकलाई सचेत बनाउने, जथाभावी पार्किङमा कारबाही गर्ने र स्मार्ट ट्राफिक लाइट प्रणाली जडान गर्ने प्रयास भए पनि प्रभावकारी परिणाम देखिन नसकेको यातायात व्यवसायी बताउँछन् ।
उपत्यकामा सवारी साधनको संख्या प्रत्येक वर्ष तीव्र गतिमा बढ्दै गएको छ । चाबहिल, कोटेश्वर, कलंकी, नयाँ बसपार्क र थापाथलीजस्ता व्यस्त चोकहरूमा दैनिकजसो सवारी जाम देखिन्छ । बिहान र बेलुकाको समयमा ती स्थानहरूमा सवारी साधनको लर्को हटाउन ट्राफिक प्रहरीलाई निकै सकस हुने गरेको छ ।
जथाभावी पार्किङ गर्ने सवारी साधनमा कारबाही, सचेतनामूलक कार्यक्रम र ट्राफिक नियम उल्लंघन गर्नेहरूलाई जरिवाना जस्ता प्रयास गरिए पनि समस्या समाधान हुन सकेको छैन । नियम पालना नगर्ने प्रवृत्ति मुख्य चुनौती बनेको ट्राफिक प्रहरी महाशाखाको भनाई छ ।
सर्वसाधारणले जस्तै कमजोर ट्राफिक व्यवस्थापनप्रति सवारी चालक पनि असन्तुष्ट छन् । सार्वजनिक सवारी साधनले यात्रु कुरेर बस्न नपाउने ‘पिक एण्ड ड्रप’ कार्यक्रमको प्रभावकारिता न्यून हुँदा पनि ट्राफिक व्यवस्थापन सहज हुन नसकेको बुझाई चालकहरूको छ ।
काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनको समस्याले आर्थिक, सामाजिक र मनोवैज्ञानिक रूपमा गम्भीर असर पारिरहेको छ । समस्या दीर्घकालीन भएकाले यसको समाधान तत्काल प्राथमिकतामा राख्नुपर्ने आवाज उठिरहेको छ । यदि समस्या समाधानका लागि चाँडो कदम चालिएन भने उपत्यकाको ट्राफिक व्यवस्थापन आगामी दिनमा अझै अस्तव्यस्त बन्ने देखिन्छ ।