News 24 Television
तनाव बढे सुकुटे जाने ! विदेशीलाई पनि ‘रिल्याक्स’

सिन्धुपाल्चोक । काठमाडौंबाट केवल ६५ किलोमिटर दूरीमा रहेको सिन्धुपाल्चोकको सुकुटे पर्यटकका लागि रोजाईको केन्द्र बनिरहेको छ । 

सिन्धुपाल्चोकको सुकुटेलाई आन्तरिक तथा बाह्य पर्यटकको केन्द्र बनाउन यहाँका व्यवसायीहरु रचनात्मक कार्य समेत गर्दै आएका छन् । प्राय काठमाडौंवासीको उपस्थिति बाक्लै देखिने सुकुटेमा पछिल्लो समय भारत, चीन, अमेरिका र युरोपियन पर्यटक पनि बढ्न थालेका छन्  । 

शान्त अनि मनोरम ठाउँमा गएर आनन्द प्राप्ति गर्न चाहने काठमाडौंवासी प्राय सिन्धुपाल्चोकको सुकुटे क्षेत्रमा जाने गरेका छन् । काठमाडौंबाट केवल ६५ किलोमिटरको दुरीमा रहेकाले पनि सुकुटे पर्यटकको रोजाईमा परिरहेको छ । 

शान्त, नदि र वरिपरि पहाडहरुको सुन्दरताले समेत पर्यटकलाई लोभ्याउने गरेको सुकुटेमा यहाँका व्यवसायीले मनोरन्जनात्मक एवम् रचनात्मक कार्य समेत गरिरहेकाले पर्यटक थप आकर्षित भइरहेका छन् ।

सुकुटेलाई पर्यटकीय केन्द्रका रुपमा विकास गर्नको लागि माघ १ देखि यहाँको कोरिडोरमा ७औं महिला तथा ८ औं पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना भइरहेको छ । 

यहाँका ब्यवसायीहरु यस्ता कार्यक्रम र मेला महोसत्वले भूकम्प र कोरोनापछि खस्केको पर्यटक आवागमन अझ बढाउन सहयोग पुग्ने आशामा छन् । पर्यटकीय केन्द्र सुकुटेमा खेल र महोसत्वमा सहभागी हुन पुगेकाहरु ¥याफटिङ,स्काई साइक्लिङ,प्याराग्लाइडिङदेखि जेटबोटसम्मको मजा लिईरहेका छन् ।

राजनीतिज्ञहरुको पनि रोजाईमा पर्ने गरेको छ सुकुटे । पूर्वप्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका लागि आनन्द प्राप्तिको स्थल समेत बनेको छ सुकुटे क्षेत्र । राजनीतिक तनाव बढेको बेला अनि प्रभावकारी निर्णय गर्न आफु सुकुटे पुग्ने गरेको बताउछन् प्रचण्ड । 

यो क्षेत्रलाई सरकारले समेत केन्द्रमा राखेको छ । नेपाल सरकारले एक सय पर्यटकीय क्षेत्रहरुको छनोट गर्दासमेत सिन्धुपाल्चोकको सुकुटे समावेश भएको थियो । 

चीनसँगको अन्तर्राष्ट्रिय मार्ग कोदारी, छिमेकी जिल्ला दोलखाको कालिञ्चोक र भर्खरै खुला गरिएको भर्जिन हिमाल जुगल आरोहणमा आउने पर्यटकको ट्रान्जिट प्वाइन्ट सुकुटे बन्न थालेका व्यवसायी बताउछन् । 

यहाँका ठूला र साना होटेलमा पाँच सय मानिसले रोजगारी गर्छन् । सिजनमा दैनिक एक हजारभन्दा बढीले ¥याफ्टिङ गर्छन् । साहसिक खेलमा सयभन्दा बढी युवा रोजगार छन् । सुकुटेमा मनोरञ्जन लिन आउने अधिकांश पर्यटकले छोटो दूरीमा धेरै कुराको आनन्द र अनुभव लिन पाउने ब्यवसायी दाबी गर्छन् । 

सिजनमा एउटै रिर्सोटमा दैनिक १५ सयसम्म पर्यटक आउने ब्यवसायी बताउछन् । तर यहाँका रिर्सोटहरुले स्थानीय उत्पादनका कृषिजन्य पदार्थ उपयोग गर्न सकिरहेको देखिदैन । 

अर्कोतर्फ जलयात्रा र रिर्सोटले चिनिने सुकुटेलाई जल विहारको हब बनाउने भनिरहदा नदीमा अनाधिकृत तरीकाले हुने उत्खनन पनि चुनौती बन्दै गएको देखिन्छ ।

प्रकाशित मिति: शुक्रबार, माघ ४, २०८१  ०८:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update