News 24 Television
यसरी धुलिसात् पारिँदैछ काठमाडौँ विश्वविद्यालय !

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) शिक्षाको गुणस्तरका हिसाबले अब्बल मानिन्छ । विश्वबजारमा प्रतिष्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्ने विश्वविद्यालय भनेर चिनिएको यो विश्वविद्यालयको साख अहिले विश्वविद्यालयसँगै सम्बन्धित पदाधिकारीका कारण धुमिल बन्दै गइरहेको छ । केयूका उपकूलपति डा. भोला थापाका गतिविधिले यस विश्वविद्यालयमा अहिले वेथितिको चाङ थुप्रिएको छ । 

काठमाडौं विश्वविद्यालय शिक्षाको गुणस्तरका हिसाबले राम्रो मानिएको विश्व विद्यालय हो । तर, यस विश्वविद्यालयका उपकुलपति डाक्टर भोला थापासहितका व्यक्तिहरुको मिलेमतोमा यहाँ विसंगतिको गति बढ्दो छ भने नेता र धनाढ्यहरुको चंगुल बलियो बन्दैछ । 

डा.थापा २०७७ सालमा नेपाली कांग्रेसको कोटाबाट उपकुलपति बनेका व्यक्ति हुन् । यही माघ ५ गते उपकूलपतिका रुपमा थापाको चार वर्षे अवधि पूरा हुँदैछ । यि चार वर्षमा थापा विवाद र अनियमित क्रियाकलापबाट गुज्रेको आरोप सतहमै देखिएको छ । 

नेताहरुको चाकडी, आफ्नाहरुलाई नियुक्ति, असान्र्दभिक सम्बन्धन, धनाढ्यहरुको सेवा, विश्वविद्यालयलाई राजनीतिको थलो, ठिकठाक चलेका संस्थालाई धराशयी बनाउने आदि काममा उपकुलपति लागेको आरोप विश्वविद्यालयभित्रै बाट आइरहेका छन् । 

के छन् त थापाले गरेका अनियमित काम ?

विश्वविद्यालयको नाममा आएको पैसाबाट व्यक्तिको नाममा अक्षयकोष काठमाडौं विश्वविद्यालयमा रहेका केही अक्षयकोषहरु व्यक्तिका नाममा सूचिकृत छन् । ती मध्येका केही यी हुन् 

–प्रोफेसर डाक्टर महेशनाथ पराजुली इन्डाउमेन्ट स्कलरसिप फन्ड 

–प्रोफेसर डाक्टर विवेक बराल इन्डाउमेन्ट फन्ड 

–डाक्टर बिपिन अधिकारी इन्डाउमेन्ट स्कलरसिफ फन्ड 

यी अक्षयकोषको नाम हेर्दा लाग्न सक्छ, यस्तो कोष स्थापना गर्न विश्वविद्यालयकै यी विद्वानहरु आफैंले दान दिएका हुन् । तर, तथ्य ठिक उल्टो छ । 

काठमाडौं विश्वविद्यालय माओवादी लाल किल्ला !

डाक्टर भोला थापा विश्वविद्यालयमा आउनुअघि यो संस्था राजनीतिबाट केही हदसम्म टाढा  थियो । परीक्षा, परीक्षाफल नियमित थिए । क्यालेन्डरका कार्यक्रमहरु पनि खास प्रभावित थिएनन् । तर अहिले माओवादीको दबदबा रहेको देखिन्छ । 

डाक्टर थापा कांग्रेसको कोटाबाट नियुक्त भए पनि माओवादी र कांग्रेसले आलोपालो गरी सरकार चलाउने दुई पार्टीबीच सहमति थियो । जसअनुसार थापा तत्कालिन प्रधानमन्त्री प्रचण्डलाई खुशी पार्न तत्कालिन नेकपा माओवादी केन्द्रबाट वन तथा वातावरण विभागका सदस्य डाक्टर विकास अधिकारीका प्रत्येक चाहना पूरा गरिरहेका थिए । 

उपकूलपति थापाले विश्वविद्यालयलाई माओवादीको लाल किल्ला बनाउन गरेको अर्को उदाहरण हो डाक्टर जनार्दन लामिछानेलाई स्कुल अफ साइन्सको डिनमा नियुक्ति दिनु र डाक्टर रामप्रसाद घिमिरेलाई परीक्षा नियन्त्रक बनाउनु । 

साथै २०८० फागुन २३ मा भएको विश्वविद्यालय प्राध्यापक संघको चुनावमा माओवादीका विभागीय सदस्य डाक्टर विकास अधिकारीलाई उपकूलपति थापाको जोडबलमा प्राध्यापक संघको सभापतिमा जिताउनु पनि चाकडीको उदाहरण हो । 

धुलिखेल अस्पताललाई केयुबाट अलग्याउने र माओवादीको चाकरी गर्ने खेलमा पनि उनी अटेर भएर लागेका थिए । परिणाम स्वरुप आर्थिक वर्ष ८०\८१ को बजेटमा प्रचण्ड पत्नि सीता दाहालको नामबाट अस्पताल खोल्ने कार्यक्रम समावेश भएको थियो । साथै, दुर्गा प्रसाईंको मेडिकल कलेजलाई सम्बन्धन दिन अदालतलाई भन्दा थापालाई हतारो देखिएको छ । 

डा. थापाका असान्दर्भिक क्रियाकलाप

उपकुलपति डा. थापामार्फत् केही असान्दर्भिक क्रियाकलाप पनि विश्वविद्यालयमा भएको पाइएको छ । भरतपुरको कलेज अफ मेडिकल साइन्स, पोखराको मणिपाल कलेज अफ मडिकल साइन्ससँगको सहकार्यमा ‘ब्याचलर इन हेल्थ इन्फरमेटिक्स’ कार्यक्रम सञ्चालन गर्ने स्वीकृति दिइएको छ । तर यसरी अन्यत्र कार्यक्रम सञ्चालन गर्ने निश्चित गाइडलाईन अहिलेसम्म सार्वजनिक भएको छैन । 

युलियन्स एजुकेशन फाउन्डसन खुसी पार्न पनि अनौठो एमओयु पनि उनले गरेका छन् ।     चर्को शुल्कका कारण चर्चामा रहने एक शिक्षण संस्था हो – युलियन्स एजुकेसशन फाउन्डेसन् । कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी तथा वर्तमान परराष्ट्रमन्त्री डाक्टर आरजु राणाको शिक्षण संस्था भनेर पनि चिनिने यो संस्थामा अहिले आरजुको संलग्नता देखिदैन । केही अघिसम्म उनी युलियन्सको ट्रस्टी थिइन् । 

आफ्ना कलेजहरुको चुस्त नियमन, क्यालेन्डरको प्रभावकारी कार्यान्वयन, गुणस्तरीय शिक्षा आदि कारणले केयुले शाख आर्जन गरेको थियो । तर, अहिले यो विश्वविद्यालयको धन्दा पनि अन्यको झै सम्बन्धन बाँड्नेमा केन्द्रीत हुन थालेको देखिन्छ । 

प्रकाशित मिति: शुक्रबार, माघ ४, २०८१  ०८:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update