News 24 Television
पप्पुले फेरि पा¥यो विचल्ली, कामै नगरि करोडौं झ्वाम !

रौतहट । पप्पु कन्ट्रक्सन नेपालमा कमसल काम गर्ने कम्पनीका रुपमा कहलिएको नाम हो । पप्पुले निर्माणको जिम्मा लिएका धेरै संरचनाहरु देशैभर अलपत्र अवस्थामा रहेका छन् । पप्पु र अधुरा निर्माण संरचनाहरू एकअर्काको पर्याय नै बनेका छन् । 

रौतहटमा पनि पप्पुले निर्माणको जिम्मा लिएका धेरै पुलहरू अझै पनि अधुरै रहेका छन् । त्यसमै पर्छ लमाहा खोलामा निर्माणाधीन पुल, जो ८ वर्षमा पाँच पटक म्याद थपिसक्दा पनि अझै पनि ३०% हाराहारी काम गर्न बाँकी नै रहेको छ । 

रौतहटको गुजरा नगरपालिका १ मा रहेको कोठियार र रङ्गपुर जोड्ने लमाखोलामा निर्माण सुरु भएको ८ वर्षभन्दा बढी भयो । तर, निर्माण अझै अधुरै छ । यो पुल निर्माणको जिम्मा पाएको छ, पप्पु कन्ट्रक्सनले । पप्पु कन्ट्रक्सन अर्थात नेपालका अधिंकाश संरचना निर्माणको जिम्मा लिने तर काम कहिलेई समयमै पुरा नगर्ने नाम । 

पप्पु शिवशंकर जेबी गरुडाले २०७३ जेठ २६ गते ९ करोड २२ लाख ७७ हजार ५ सय ५९ रुपैयाँ ५६ पैसामा ठेक्का साकार गरेको थियो । सम्झौता अनुसार मिति २०७५ असोज १५ गते सो पुलको निर्माण सम्पन्न भइसक्नुपर्ने हो । तर पाँचौं पटक म्याद थपिसक्दा पनि अझै जम्मा ७१ प्रतिशत मात्रै काम सम्पन्न भएको छ । 

कुल १२५.९० मिटर लामो सो पुलको निर्माण सम्पन्न भएको भए  हजारौं नागरिकले लाभान्वित भइसकेका हुन्थे । पुल नहुँदा कोठियार, रङ्गपुर, मैरा ,जङ्गलसिया , चोचा, कटानी लगायतका बासिन्दाहरू खोला हुँदै यात्रा गर्न बाध्य छन् । अन्य बेला सामान्य बहावमा बग्ने लमाहा खोला पानी परेको बेला भने उच्च बहावमा बग्ने गर्छ । 

खोलामा बाढी आएको बेला दुईतर्फी आवतजावतनै ठप्प हुन्छ । विद्यालय जाने बालबालिका ,अस्पताल जाने बिरामी,  खेती गर्न जाने किसान लगायत दैनिक कार्यहरू गर्ने सर्वसाधारणहरू पुल नवन्दा निकै शास्तिपूर्वक यात्रा गर्न बाध्य छन् ।

सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले पछिल्लो पटक थपिएको म्याद २०८२ असार ३० गते सम्पन्न हुँदैछ । तर सो पुल निर्माण क्षेत्र कार्य भने डेढ वर्षदेखि रोकिरहेको स्थानीय बताउँछन् । अझै पनि निर्माण कम्पनीले काम सुरु नगरेकाले थपिएको मितिमा पनि काम सम्पन्न हुने कुरामा स्थानीयलाई विश्वास छैन । निर्माण कम्पनीको चरम लापरवाहीले गर्दा पुल निर्माण कार्य समयमा नसकिएको स्थानीयको भनाइ छ । 

यस निर्माण कम्पनीले सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरबाट एकैपटक ६ वटा पुलको ठेक्का साकार गरेको थियो । 

आर्थिक वर्ष ७४÷७५ मा तीनवटा पुलको ठेक्का साकार गर्नाले निर्माण व्यवसायीमा अत्याधिक कार्यबोझ हुनुका साथै समय अनुसार बढ्दै गइरहेको मूल्य वृद्धिले आर्थिक संकटमा परेकोले समयमै निर्माण कार्य हुन नसकेको सडक डिभिजन कार्यालयको भनाइ छ । निर्माण व्यवसायीले रोकिएको काम फागुनसम्म सुरु गर्ने प्रतिबद्धता व्यक्त गरेको बतााउदै सो अवधिमा पनि सुरु नभए ठेक्का तोडेर नयाँ प्रक्रियामा जाने सडक डिभिजन कार्यालयको तयारी  छ । 

पुल निर्माणको लागि निर्माण कम्पनीले अहिलेसम्म ५ करोड ४५ लाख ४५ हजार ८२८ रुपैयाँ भुक्तानी लिइसकेको छ । यसरी एकैपटक धेरै संरचनाहरूको ठेक्का लिने तर कुनै पनि संरचनाहरूको काम पूरा नगर्ने निर्माण कम्पनीहरू प्रति सरकारले कारबाहीको डण्डा नचलाए यो निर्माणको अवस्था सधैं दयनीय नै हुने देखिन्छ । 

प्रकाशित मिति: बिहीबार, माघ ३, २०८१  ०८:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update