News 24 Television
बालेनले केपी ओलीको हुर्मत लिँदै ! अध्यादेशले जग्गा झ्वाम !

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले अध्यादेश सरकारलाई सफल बनाउन ल्याएको दाबी गरेका छन् । ओलीले अध्यादेश ल्याउनुको कारणदेखि प्रतिपक्षी दलको मोर्चासम्मका विषयमा खण्डन गर्दै कांग्रेससँगको सहकार्यमा कुनै असहमति नरहेको जिकिर गरेका छन् । 

सरकारले ५ अध्यादेश ल्याएपछि प्रतिपक्षी दलमा मात्रै नभएर कांग्रेसमा समेत विवाद देखिन्छ । कांग्रेस नेताहरुले अध्यादेशबारे विभिन्न प्रतिक्रिया जनाइरहेका छन् । कांग्रेसको इतर पक्षले अध्यादेशबारे चर्को विरोध गरिरहेको छ । भने संस्थापन पक्षकै केहि नेताहरुले समेत असन्तुष्टी जनाइरहेका छन् । 

कांग्रेस नेताहरुले अध्यादेशबाट मुलुक चलाउने विषयमा कडा टिप्पणी गरेपनि तीब्र आर्थिक विकासका लागि अध्यादेश जारी गरिएको सरकारले दाबी गरिरहेको थियो । यस्तोमा राष्ट्रपति रामचन्द्र पौडेलले ५ मध्ये ४ अध्यादेश जारी गरेपनि भूमिसम्बन्धिको अध्यादेश जारी नगर्दा सरकार र राष्ट्रपतिबीचको विवाद जस्तो देखिएको थियो । तर, राष्ट्रपति पौडेलले ओलीले तोकेकै समयमा बुधबार अध्यादेश जारी गरिदिएपछि ओलीले यसलाई प्रचारको विषय बनाउन खोजिरहेका छन् । 

अध्यादेश राष्ट्रपतिले रोकेको भन्दै भ्रम फिजाइएको आरोप ओलीले लगाएका छन् । ओलीले अध्यादेश ल्याउने निर्णय गठबन्धनभित्र एकमतले भएको दाबी गर्दै राष्ट्रपतिले अध्यादेश जारी गर्न आनाकानी गरेको विषयलाई भ्रम भनेपनि उनले राष्ट्रपतिसमक्ष जग्गा वितरणमा राखिएका प्रावधान सच्याउने प्रतिवद्धता जनाएपछि मात्रै भूमिसम्बन्धि अध्यादेश जारी भएको बताइएको छ । 

यता, भूमिसम्बन्धि अध्यादेशले वन क्षेत्रमा ठूलो नोक्सानी हुने स्थिति बनिरहेको आरोप लाग्न थालेको छ, भने गिरिबन्धु जस्ता थुप्रै हदबन्दीका जग्गामा समेत सरकारले नयाँ प्रावधान ल्याएर काम गर्न खोजेको आरोप लागिरहेको छ । यस्तै, अध्यादेशले सरकार सफल हुने दाबी ओलीले गरेका छन् । 

ओलीले यस्तो दाबी गर्दै गर्दा प्रतिपक्षी दल नेकपा एकीकृत समाजवादीका नेता माधव नेपालले भने सरकार स्वच्छेचारी ढंगले अघि बढ्न खोजेको भन्दै आलोचना गरेका छन् । 

यता, काठमाडौं महानगरका प्रमुख बालेन्द्र साह ’बालेन’ले सरकारले ल्याएको भूमिसम्बन्धि अध्यायदेशको कडा टिप्पणी गरेका छन् । बालेनले कांग्रेस–एमालेले कार्यकर्तालाई जग्गा बाँड्ने गरि अध्यादेश ल्याएको आरोप लगाउदै खुला मञ्च र टुडिखेल पनि बाडिने भन्दै केपी ओलीप्रति व्यङ्ग्य कसेका छन् ।

यसैगरि, ओलीका पछिल्ला कदमहरुप्रति प्रतिपक्षी दलहरु समेत आक्रामक बन्न थालेका  छन् । प्रतिपक्षीले समाजवादी मोर्चादेखि विपक्षीले एकजुट बन्दै सरकारमाथिको खबरदारीलाई प्रभावकारी बनाउने भनिरहेका छन् । 

यस्तोमा ओलीले प्रतिपक्षीको संख्यालाई लिएर खिसिट्यूरी समेत गरेका छन् । मोर्चा र प्रतिपक्षको नाममा विशाल नदीमा साना ढुंगा हानेर थुन्न खोजिएको भन्दै प्रधानमन्त्री ओलीले प्रतिपक्षको हुर्मत लिने प्रयास समेत गरेका छन् । 

प्रतिपक्षीमाथि खनिएका ओलीले अध्यादेश जारी गरेर सरकारलाई सफल बनाउने बाटोमा लगेको दाबी गरेपनि भुमि सम्बन्धिको अध्यादेशले वन क्षेत्र मासिनेदेखि जग्गा हदबन्दी प्रकरणले समस्या निम्तिन सक्ने बताइन्छ । 

प्रकाशित मिति: बिहीबार, माघ ३, २०८१  ०८:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update