News 24 Television
ओलीविरुद्ध बोल्नेलाई एमालेमा कारवाही जारी, स्टाटस लेखेकै भरमा डण्डा !

काठमाडौं । नेकपा एमालेमा पछिल्लो समय आन्तरिक लोकतन्त्रको खडेरी उत्पन्न भइरहेको आरोप लाग्दै आएका छन् । यो आरोप पार्टी आबद्ध नेताहरुदेखि बाह्य दलका नेताहरुले पनि निरन्तर लगाउने गरेका छन् । 

मुख्यतः पार्टी नेतृत्वमाथि प्रश्न र टिप्पणी गरेकै आधारमा नेताहरुमाथि छानिछानी कारवाही हुनुले एमालेमा आन्तिरिक  लोकतन्त्रको संकट परेको आरोप लागिरहेको हो । मुख्यतः एमाले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीलाई नै केन्द्र बनाएर यस्ता आरोपहरु लाग्ने गरेका छन् । 

तत्कालीन नेकपा हुँदा वा त्यसपछि एमालेमा भएका सबै विघटनहरु ओलीको सर्वसत्तावादी सोच नै कारण भएको तर्क गरिँदै आएको छ । यसको एक पुष्ट्याइँ पुष १० गते बसेको एमाले सचिवालय बैठकको निर्णय पनि हो । उक्त बैठकले पूर्वउपाध्यक्ष भीम रावललाई पार्टीमै नरहने गरी र स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रिय कमिटी सदस्य उषाकिरण तिमल्सिनालाई ६ महिनाका लागि पदबाट निलम्बन गर्ने निर्णय गरेको थियो ।

 
भीम रावलससहित ३ नेतामाथि कारवाही हुनुको  प्रमुख कारण भाटभटेनीका सञ्चालक मीनबहादुर गुरूङबाट दानमा लिएको जग्गाको विरोध गर्नु नै थियो । कारवाहीको निर्णयमा पनि नेतृत्वमाथि गरिएको आलोचनाबारे प्रष्टिकरण माग्दा चित्तबुझ्दो जवाफ नआएको भनिएको भनिएको छ ।  

एमाले कोशीमा पनि उस्तै रोग   

एमाले नेतृत्वकै  विरोध गरेको कारण कोशी प्रदेशका पूर्वसांसद एवं उदयपुरका नेता विमल कार्की पनि कारवाहीको सिकार बनेका छन् । लगातार एमाले अध्यक्ष ओलीको  कार्यशैलीमाथि टिप्पणी गरेको भन्दै राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् सदस्यसमेत रहेका कार्कीलाई कोशी प्रदेश कमिटिले ६  महिनाका लागि निलम्बन गरेको हो । 

मुख्यतः एमाले  अध्यक्ष केपी शर्मा ओलीले पार्टी कार्यालय बनाउन भाटभटेनीका संचालक मीनबहादुर गुरुङसँग जग्गा दानमा लिएपछि कार्की यसकाविरुद्ध खरो रुपमा उत्रिएका थिए । 

फेसबुक स्टाटसमार्फत बारम्बार आलोचना गरेपछि कोशी प्रदेश समितिले गत मंसिर १६ गते कार्कीलाई प्रष्टिकरण सोधेको थियो ।

फेसबुकमा के–के लेखिएको थियो ? 

एमालेले भीम रावलसहितका नेताहरुमाथि कारवाही गरेपछि नेता कार्कीले फेसबुकमा यस्तोे देलेका थिए । ‘व्यापारीसँग जग्गा दान लिएर पार्टी भवन बनाउनु गलत हो । यस्तो कार्यले जनताप्रति उत्तरदायी राजनीतिलाई स्खलित बनाउछ । यो कार्यले देशभरिका एमालेजनको भावनामाथि कुठाराघात मात्र भएको छैन, हुर्मत पनि लिएको छ । त्यसैले यस्तो कार्यको हामिले बिरोध गरेकै हो । तिमिले स्पष्टीकरण सोधे पनि नसोधे पनि हामी यस्ता प्रवृत्ति र चरित्रको बिरोध गरि नै रहन्छौँ ।’ 

त्यसअघि पनि ओलीमाथि लगातार प्रश्न उठाउँदै आएका कार्कीले कम्बोडियामा लागनी रहेको भन्ने विषयपछि सामाजिक संजालमा भाइरल बनेको ओलीको नागरिकतामाथि पनि प्रश्न गरेका थिए । जहाँ एकै व्यक्तिका दुई फरक नागरिकता कसरी भयो ? 

भन्दै स्टाटस लेखेका थिए । त्यसपछि संविधान संशोधन नगर्ने भन्दै ओलीले दिएको अभिव्यक्ति र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिमा प्रवेश गर्ने तयारीमाथि पनि कार्कीले टिप्पणी गरेको देखिन्छ । 

प्रष्टिकरणमा चित्त नबुझाएको एमाले 

पार्टी नेतृत्वविरुद्धका अभिव्यक्ति दिँदै आएका नेता कार्कीमाथि एमाले प्रदेश कमिटिले मंसिर १६ गते नै स्पष्टिकरण सोधेकामा उनले २१ गते मात्रै पत्रको जवाफ फर्काएका थिए । प्रष्टिकरणमा उनले केही ढिलागरी पत्र पाएको उल्लेख गर्दै  आफूले पार्टीलाई अहित हुने गतिविधि, विधान पद्धतिविपरीतका कार्य र नेतृत्वमाथि कहिल्यै पनि आलोचना नगरेको उल्लेख  गरेका थिए । 

बरु उनले आफूले फेसबुक ह्याक हुने समस्या भोगिरहेको जिकिर गरेका थिए । तर एमाले कोशी प्रदेश कमिटीको भने स्पष्टिकरण मागिएकोमा चित्त बुझ्दो जवाफ नआएको भन्दै  पुस २७ गतेको बैठकबाट नेता कार्कीलाई  निलम्बनको सिफारिस गरेको छ । स्पष्टिकरण दिएपछि पनि नेता कार्कीले उही शैलीमा पुनः स्टाटस लेखेपछि कारवाही गर्ने निर्णयमा पुगेको एमाले कोशी प्रदेश कमिटिको भनाइ छ । 

केन्द्रमा जसरी भीम रावलसहितका केही नेतालाई स्पष्टिकरण सोधिएकामा आएको जवाफ चित्त बुझ्दो नभएको भन्दै कारवाही गरियो कोशीमा पनि यही शैली अपनाइएको छ । पार्टीभित्र उठेका मुल मुद्धा र विचरणीय विषयमा नेताहरुले नेतृत्वमाथि प्रश्न गरेकै भरमा दण्डीत हुने अवस्था आउनु पार्टीमा निरङ्कुशता लादिनु नै हो । 

पार्टीमा आएका विभिन्न मुद्धामाथि विचार र बहस गर्नु आवश्यक होला । तर कुनै पनि पक्षबाट आएका फरक मतलाई दबाएर कारवाहीको डण्डा नै चलाउनु एमालेको अलोकतान्त्रिक चरित्र देखिन्छ । 

प्रकाशित मिति: बिहीबार, माघ ३, २०८१  ०८:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update