News 24 Television
जनकपुर क्षेत्र विकास परिषद्को अनियमिताको खोजी गर्दै प्रहरी 

काठमाडौं । जनकपुर क्षेत्र विकास परिषद् जति वृहत्त छ, परिषद् भित्रको अनियमितता पनि उति नै वृहत्त छ । परिषद्का तत्कालिन निर्देशक बलराम ठाकुरसहितका कर्मचारीबाट अनियमिता भएको उजुरी परे पनि सत्ताको आडमा अनुसन्धान प्रभावकारी हुन सकेको थिएन । परिषद्भित्र भएको अनियमितताको छानबिन गर्न स्थानीयको दबाबपछि प्रहरीले तत्कालिन निर्देशक ठाकुरलाई पक्राउ गरेको छ । 

जनकपुर क्षेत्र विकास परिषद्का तत्कालिन कार्यकारी निर्देशक बलराम ठाकुर सोमवार ललितपुरको भैंसेपाटीबाट पक्राउ परे । 

परिषद्को कार्यकारी निर्देशक हुँदा आर्थिक अनियमितता गरेको उजुरीपछि जिल्ला अदालत धनुषाले गत भदौ १६ गते ठाकुरसहित परिषद्का कर्मचारीहरु संजयकुमार मण्डल, सावित्री गिरी, जितेन्द्रकुमार यादव र मदनकुमार चौधरीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । 
पक्राउ पूर्जी जारी भएको झण्डै ५ महिनापछि तत्कालिन निर्देशक ठाकुरलाई प्रहरीले पक्राउ गरेको हो । 

परिषद्को कार्यकारी निर्देशक हुँदा ठाकुरको बदमासी

परिषद्का तत्कालिन निर्देशक ठाकुरले महोत्तरी जिल्ला एकडारा गाउँपालिका बस्ने मुकेश यादवको नाममा वृहत्तर जनकपुरको खाताबाट रकम निकालेका थिए । 

विभिन्न मितिको हुँदै नभएको गाडी भाडावापत २०७६ असार ३१ गते किर्ते सम्झौता पत्र र कार्यादेश तयार गरी ३० लाख रुपैयाँ आफ्नो नाममा खाताबाट निकालेको पाएपछि यादवले २०८१ भदौ ४ गते ठाकुरविरुद्ध जाहेरी दिएका थिए । 

ठाकुरसहितका कर्मचारीले कीर्ते गरी आफ्नो नाममा रकम निकालेको भन्दै यादवले जाहेरी दिएका थिए । त्यसैगरी, भारतको तिरुपति तिरुमाला वाजी ट्रष्टले जनकपुर धाममा आउने धार्मीक पर्यटकहरुका लागि बनाईदिईएको भवन पनि कानुन विपरीत ठाकुरसहितका व्यक्तिहरुको मिलोमतोमा द पिक हस्पिटालिटीलाई ठेक्का प्रक्रियामा दिईएको उल्लेख छ । 

जनकपुर क्षेत्र विकास परिषद्को गाडीसमेत भाडामा लगाएर रकम कुम्ल्याउनेदेखि परिषद्को गाडी उनकै पत्नी इन्दुलेखा कुमारी ठाकुरको नाममा पास गरेको आरोप छ । उक्त गाडि इन्दुको नामबाट पुनः जनकपुर क्षेत्र विकास परिषद्कै सवारी चालक पदमा कार्यरत धनीराम मण्डलको नाममा २०७८ साउन ५ गते नामसारी गरिएको छ । 
बलरामबाट आफूले गाडी किनेको स्वीकोक्ति धनीरामको छ । अहिले उक्त गाडी विक्रि गरिसकेको उनको भनाई छ ।   

जनकपुर क्षेत्र विकास परिषद्मा आर्थिक अनियमितताको रिपोर्ट यसअिघ न्यूज २४ टेलिभिजनबाट प्रशारण भएको थियो । अदालतबाट पक्राउ पूर्जी भएको झण्डै ५ महिना ठाकुर पक्राउ परे पनि अन्य आरोपीहरु भने पक्राउ परेका छैनन् । 

 

प्रकाशित मिति: बुधबार, माघ २, २०८१  ०८:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update