काठमाडौँ । पछिल्लो समय युटुब ट्रेन्डमा रहेको गीत ‘म त ढलेँ, ढलेँ...’ ले समाजमा चर्चा र आलोचना दुवै बटुलेको छ । पाँच करोड भ्युज गएको खुसीमा निर्माता÷गायिकाको टोलीले सेलिब्रेसन नै गरे । ठीक यस्तैगरी पछिल्लो समय पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘सरकार ढल्यो, ढल्यो...’ गीत गाइरहेका छन् । उनी जता जान्छन्, उतै भाषणमा भनिरहेछन्– यो सरकार ढल्नै लाग्यो, आफै ढल्न लागेको छ । सरकार अहिले ढल्छ कि भरे ढल्छ, अब ढल्नै लागेको छ । जतिखेर पनि प्रचण्ड काँग्रेस–एमाले गठबन्धनमा केपी ओली नेतृत्वको सरकार ढलेको सपनामा रमाइरहेका देखिन्छन् । सरकार ढलेपछि प्रचण्ड प्रधानमन्त्री बन्ने सम्भावना पनि देखिन्न । तर पनि उनी सरकार ढल्ने कुरामा रमाइरहेका छन् ।
शुक्रबार प्रचण्डले विपक्षी दलहरु नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनसँग छलफल गरेको विषयले सरकार ढल्न लागेको हल्लामा मसलाको काम ग¥यो । यद्यपि राजेन्द्र लिङ्देन स्वयंले आफू पृथ्वी जयन्तीको अवसरमा आयोजना गर्ने जलपान समारोहका लागि निमन्त्रणा दिन माओवादी संसदीय दलको कार्यालयमा पुगेको बताएका थिए । लिङ्देन त्यहाँ पुग्दा प्रचण्ड र माधवबीच छलफल भइरहेको थियो । भेटमा समसामयिक राजनीतिक विषयमा पनि केही छलफल भएको र देश बनाउनका लागि संविधान परिवर्तन जरुरी रहेको लिङ्देनले बताएका थिए । उक्त छलफलबाट बाहिरिँदै गर्दा पनि प्रचण्डले ओली नेतृत्वको सरकार आफै ढल्न लागेको र अब धेरै टिक्न नसक्ने बताएका थिए । अहिलेको सरकार अप्राकृतिक, अलोकतान्त्रिक र अपारदर्शी रहेको आरोप लगाउँदै प्रचण्डले अब धेरै चल्न नसक्ने दाबी गरेका थिए ।
मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले माघी पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा घिउ–चाकु र तरुल भोज आयोजना गरे– शीतल निवासमा । त्यहाँ प्रधानमन्त्री ओली, पूर्व–राष्ट्रपति विद्या भण्डारी, पूर्व–प्रधानमन्त्री शेरबहादुर देउवा, माधव नेपाल लगायत नेताहरु सहभागी थिए । तर प्रचण्ड भने रिल्याक्स गर्नका लागि सिन्धुपाल्चोकको सुकुटे पुगे । विगतदेखि नै कुनै महत्वपूर्ण राजनीतिक निर्णय गर्नुअघि सुकुटे पुगेर फ्रेस हुने गरेका प्रचण्डको यसपटकको सुकुटे यात्रालाई पनि अर्थपूर्ण रुपमा हेरिएको छ । त्यहाँ पुगेर पनि प्रचण्डले वर्तमान सरकार आफैँ ढल्न लागेको घोषणा गरे । गत असार १७ गतेको मध्यरातमा दुई दलले सहमति गर्दा नै सरकारको अप्राकृतिक गर्भाधान भएको, अप्राकृतिक गठबन्धनबाटै सरकार जन्मेको, सत्ता साझेदार कांग्रेसभित्रै असन्तुष्टि बढिरहेको र सरकारले अलोकप्रिय कामहरु गरिरहेको कारण अब सरकारको आयु छोटिँदै गएको प्रचण्डले बताए । उनले यस्तो अप्राकृतिक सरकार अन्ततः ढल्नु नै पर्ने दाबी गरे ।
प्रचण्डले भनेझैँ पछिल्लो समय सरकारको मुख्य मियो काँग्रेसभित्र विभिन्न असन्तुष्टि भने चुलिँदै गएका छन् । प्रधानमन्त्री ओलीले चीन भ्रमणमा जाँदा बीआरआई कार्यान्वयनका सन्दर्भमा गरेको सम्झौता होस् या राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन खोज्दा होस् काँग्रेस नेताहरु ओलीप्रति झस्किँदै आएका छन् । ओलीले संविधान संशोधन २०८७ मा मात्रै हुने भन्ने अभिव्यक्ति दिएपछि र संसदको हिउँदे अधिवेशन बोलाउन आनाकानी गर्दै ५–६ वटा अध्यादेश जारी गरेपछि उनको नियतमाथि विपक्षी दलले मात्रै हैन सत्तारुढ काँग्रेस नेताहरुले समेत प्रश्न उठाइरहेका छन् । अघिल्लो प्रचण्ड नेतृत्वको सरकारमा करिव एक वर्ष परराष्ट्र मन्त्री बनेका काँग्रेस नेता नारायणप्रकाश साउँदले दुईतिहाइ बहुमत सरकारको पक्षमा हुँदा पनि अध्यादेश ल्याइनु ठीक नरहेको बताएका छन् । अध्यायदेशबाट आएको कानून संसदबाट पारित नभएसम्म दिगो हुन नसक्ने उनको भनाइ छ ।
सरकार र सत्तारुढ दलहरुका पछिल्ला घटनाक्रम गम्भीर रुपले नियालिरहेको दाबी गर्दै प्रचण्डले आफू सरकार गिराउने र सत्तामा जाने खेलमा नलागेको जिकिर गरेका छन् । राष्ट्रिय राजनीतिमा अस्थिरताका कारक प्रचण्ड भन्ने आरोप लागिरहेका बेला उनले आफू सरकार ढाल्नमा केन्द्रित नभएर संगठन निर्माणमा लागेको बताइरहेका छन् । तर सरकार आफै ढल्ने, काँग्रेस–एमालेबीचकै खटपटले ढल्ने कुरा भने बारम्बार दोहो¥याउँदै आएका छन् । कहिलेसम्म सरकार ढल्छ र नयाँ सरकार कसरी बन्छ भन्ने कुरा भने प्रचण्डले किटान गर्न सकेका छैनन् । यो सरकार गठन भएदेखि नै चाँडै ढल्ने कुरा गर्दै आएका प्रचण्डले सरकार ढलेको दिन पक्कै पनि सेलिब्रेसन भने गर्लान् ।