काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको नेतृत्व कम्युनिष्ट पार्टीका नेताले गरे पनि जनतामा सन्तुष्टि नभएको बताएका छन् ।
मंगलवार पिस्कर स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री नेपालले कम्युनिस्ट नाम मात्रका भएकाले जनता सन्तुष्ट हुन नसकेको बताएका हुन् । उनले नेपालको राजनीतिमा पछिल्लो समय धेरै विकृति विसंगतिहरु आएको बताउँदै कम्युनिष्ट पार्टी र नेताले मुलुक चलाउने जिम्मेवारी पाए पनि जनतालाई सन्तुष्टि दिनेगरी काम गर्न नसकेको दाबी गरे ।
मुलुकको नेतृत्व गर्ने नेतृत्व कम्युनिष्ट नेता भएकैले मात्र कम्युनिष्ट आन्दोलन माथि नउठ्ने उनकाे धारणा छ । विश्वका उदाहरण हेर्दा पनि कम्युनिष्ट पार्टीका नेताहरुले नै कम्युनिष्ट पार्टीलाई सिध्याएको इतिहास रहेको भन्दै नेपालमा पनि साेही कुरा भइरहेकाे बताए ।
अध्यक्ष नेपालले कम्युनिष्टको नाममा गैरकम्युनिष्ट काम कसैले गर्न नहुने धारणा राखे । उनले कम्युनिष्ट भएपछि कम्युनिष्टको नाम र मर्यादा राख्दै विगतको त्याग, तपस्या र बलिदानको कीर्तिमान कायम राख्न सक्नुपर्ने बताए । कम्युनिष्ट नेताले एक पटक मात्रै कीर्तिमान कायम गरेर नहुने भन्दै उनले जनताको सेवा, मानव कल्याण र समाज परिवर्तनमा लागिपर्न आवश्यक रहेको बताए ।
अध्यक्ष नेपालले भने, ‘नेपालमा न्यायको पक्षमा आवाज उठाउने कम्युनिष्ट पार्टीहरु पनि छन् । निमुखाको आवाज बोक्ने पनि छन् । अहिलेको राजनीतिमा धेरै विकृति विसंगतिहरु आएका छन् । मुलुक चलाउने जिम्मेवारी पाएका कम्युनिष्ट पार्टीका मान्छे छन् । तर जनता सन्तुष्ट हुन सकेका छैनन् । कम्युनिष्ट भएर मात्रै पनि हुँदैन । कम्युनिष्ट पार्टीका नेताहरुले नै कम्युष्टि पार्टीलाई सिध्याइदिएका छन् । कम्युनिष्टको नाममा गैर कम्युनिष्ट काम गर्नु हुँदैन । कम्युनिष्टको नाम र मर्यादा राख्नुपर्छ । त्याग, तपस्या र बलिदानको कीर्तिमान कायम राख्नुपर्छ । एक पटक कीर्तिमान कायम गरेर हुँदैन । विगतमा खेलेका भुमिकाको प्रशंसा गर्नुपर्छ । जीवन जनताको सेवा,मानव कल्याण र समाज परिवर्तनको लागि लगाउनुपर्छ भन्ने भावना सम्प्रेसन गरी युवाहरुलाई असल बाटोमा लैजान सक्यौं भने मात्रै पिस्करका सहितहरुको सपना पूरा हुन्छ ।’
उनले जनताको सेवा, मानव कल्याण र समाज परिवर्तनका लागि काम गर्ने भावना सम्प्रेषण गरी युवाहरुलाई असल बाटोमा लैजानसके मात्रै पिस्करका शहीदहरुको सपना पूरा हुने बताए ।