News 24 Television
ओलीलाई किन भाउ दिएनन् मोदीले ? आरजुको खुलासा

काठमाडाैँ । परराष्ट्रमन्त्री आरजु राणा देउवाले केपी ओली नेतृत्वको वर्तमान सरकारप्रति भारत सरकार उदासिन रहेको तथ्यलाई सांकेतिक रुपले प्रष्ट पारेकी छन् । चीनसँगको सम्बन्ध र खुलापनबारे हौसिएकी आरजुले भारतीय विदेशमन्त्री एस जयशंकरसँगको सम्वादलाई लामो समयपछि सार्वजनिक गर्दै भारतसँगको सम्बन्धबारे नयाँ खुलासा गरेकी हुन् । 

परराष्ट्रमन्त्री आरजु राणा देउवा पहिलो भारत भ्रमणमा अत्यन्तै उत्साहित मात्रै बनिनन्, उच्च मर्यादा र सम्मान पनि पाइन् । नेपाल सरकारको प्रतिनिधिको रुपमा पाउनुपर्ने सम्मानभन्दा माथिल्लो दर्जा पाएर हौसिएकी आरजुले त्यहिबेला नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको तयारी शुरु भएको दाबी गरिसकेकी थिइन् । 

गएको भदौ ४ गते भारतीय विदेशमन्त्री एस जयशंकरसँगको भेट र प्रधानमन्त्री नरेन्द्र मोदीदेखि अन्य नेताहरुसँगको रणनीतिक सम्वादले उनको चर्चा उच्चस्तरमा थियो । तर, त्यो लामो समय भने टिक्न सकेन । दोश्रो पटक भारत जाँदा उनले सामान्य सरकारी कर्मचारी समेत भेट्न सकिनन् भने आरजुलाई भेट्ने राम माधवलाई त भारतीय सरकारले स्पष्टीकरण नै सोधेको बताइन्छ । यसरी अघि बढेको दुई देशको सम्बन्धको बारेमा थप रहस्य पनि खुल्नेक्रम जारी छन् । 

आरजुको तीतो अनुभव

आरजुले भारतीय विदेशमन्त्री एस जयशंकरसँगको भेटमा सार्कलाई सक्रिय बनाउने विषयमा छलफल गरेको भनेकी छन् । त्यसमा जयशंकरले दिएको जवाफ भने कुटनीतिक रुपमा अत्यन्तै संवेदनशील देखिन्छ भने नेपालको प्रयासले खास अर्थ राख्दैन भन्ने भाव प्रष्ट भएको देखिन्छ । आरजुले संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिमा जयशंकरले दिएको जवाफलाई उदृत गर्दै दिएको बयानले नै नेपालको उपस्थिति र प्रस्तावलाई प्रष्ट पारेको देखिन्छ । 

आरजुले भारतले सार्कको सक्रियताबारेको जिज्ञासामा तिम्रो देशमा आएर कसैले मान्छे मारेको भए के गथ्र्यौ ? भन्दै गम्भीर जवाफ दिएको भनेकी छन् । भारतीय पक्षबाट आएको यो प्रश्न र जवाफ कुटनीतिरुपमा अत्यन्तै संवेदनशील हो । भारतकै कारण निष्क्रिय बनिरहेको सार्क भारतको यस्तो जवाफले झन कोमामा जाने निश्चित छ । 

चीनको प्रसंगमा उत्साह

चीन भ्रमणको विषयमा समेत धारणा राखेकी परराष्ट्रमन्त्री आरजुले चीनसँगको बीआरआई सम्झौतामा कतै पनि ऋण भन्ने शब्द नपरेको दोहो¥याएकी छन् । तर, ऋण लिने नलिने विषयमा वार्ता सम्बाद हुने विषय भने लुकेको छैन । ऋणजस्तै अनुदान भन्ने शब्द पनि नपरेकाले यो विषयको कौतुहलता मेटिन सकेको देखिन्न । यस्तोमा उनले चिनियाँ विदेशमन्त्री वाङ यीले एजेण्डामै नरहेको पोखरा अन्तराष्ट्रिय विमानस्थल सञ्चालनमा सहयोग गर्ने वचन दिएको समेत भनेकी छन् । 

आरजुले यसरी संसदीय समितिमा दिएको बयानले नै भारत सरकार केपी ओली नेतृत्वको सरकारप्रतिको उदासिनता थप बढाउने मनस्थितिमा रहेको तथ्य नै लुक्न सक्ने देखिन्न । 

कुटनीतिक जालो

परराष्ट्रमन्त्री आरजु राणा देउवाले पछिल्लो भारत भ्रमणमा नपाएको रेस्पोन्स चर्चाको विषय बनेपछि उनी पनि भारतसँग चिढिएको देखिन्छ । चीनसँगको सम्बन्धमा खास टिप्पणी नगर्ने कांग्रेस प्रवृ्तिलाई चिर्दै उनले पोखरा विमानस्थलको विषयलाई सार्वजनिक गरेर भारतमाथि दबाब बढाउन खोजेको देखिन्छ । पोखरा अन्तराष्ट्रिय विमानस्थल सञ्चालनको विषयलाई लिएर अनेक टिप्पणी चल्ने गर्छ । केहिले त पोखरा विमानस्थल सञ्चालन गर्न नै भारतसँग सल्लाह गर्नुपर्ने धारणा राखिरहेका छन् । यस्तोमा पोखरा अन्तराष्ट्रिय विमानस्थल राजनीतिक कोपभाजनमा परेको बेला नै उनले चिनियाँ सहयोग र प्रतिवद्धताको विषय उठाएर भारतलाई दबाबमा राख्न खोजेको देखिन्छ । 

ओली सरकारमाथि भारतको ‘अनदेखा’

भारत सरकारले केपी ओली नेतृत्वको सरकारलाई महत्व नदिएको देखिन्छ । ओलीले भारत भ्रमणको असफल प्रयास लामो समय गरेपनि भारतले वास्ता नगर्दा सफल हुन सकेन । भारतसँगको सम्बन्ध सुधार गर्न नसकेका ओलीले संयुक्त राष्ट्रसंघको बैठकमा भाग लिन अमेरिका पुगेको बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग मुस्किलले सम्भव भएको साइडलाइन वार्तालाई नै उपलब्धिको रुपमा ब्याख्या गरिरहेका छन् । यसरी हेर्दा ओलीले भारतसँगको सम्बन्ध विस्तारमा खास प्रगति गर्न सकेका छैनन् भने आरजुको पछिल्लो अभिव्यक्तिले पनि थप दिक्दारी बढाउने काम मात्रै गरेको छ । 


 

प्रकाशित मिति: मंगलबार, माघ १, २०८१  १२:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update