काठमाडौं । काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनको मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको थुनछेक बहस सोमवारदेखि शुरु भएको छ । लामिछानेलाई थुनामा पठाउने कि छाड्ने भन्नेबारेको मुद्दामा सोमबार बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । थुनछेक बहस जारी नै रहेकाले लामिछाने थप २ दिन न्यायिक हिरासतमै रहने भएका छन् ।
काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनको मुद्दामा थुनछेक बहस नसकिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने थप २ दिन न्यायिक हिरासतमै रहनुपर्ने भएको छ । सोमबारदेखि शुरु भएको बहस नसकिएको र मंगलबार सार्वजनिक विदा परेकाले उनी दुई दिन हिरासतमै बस्नुपर्ने भएको हो । हेर्दाहेर्दैमा राखिएको यो मुद्दाको अर्को सुनुवाई अब बुधबार मात्रै हुनेछ ।
न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा सोमवार लामिछानेतर्फका २ जना र सरकारी वकिलतर्फ ९ जनाले बहस गरेका थिए । लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र दिनेश त्रिपाठीले बहस गरेका हुन् । सरकारी वकिलको तर्फबाट न्यायाधिवक्ता खडिन्द्रराज कटुवाल, चन्द्र सञ्जेल, सन्तोष राज कटुवाल, राधिका सुवाल, विना खड्कासहित ९ जनाले बहस गरेका थिए । मंगलबार सार्वजनिक विदा भएकाले रवि पक्षका वकिलले सोमवार नै थुनछेक सक्न दबाब बढाएका थिए । तर सरकारी वकिल र जाहेरवाला वकिलको बहस लम्बिएपछि सोमबार बहस नसकिएको हो ।
अदालतबाहिर प्रधानमन्त्रीविरुद्ध नाराबाजी
पोखराको सूर्यदर्शन सहकारी अपचलन प्रकरणमा जिल्ला अदालत कास्कीमा ६५ लाख धरौटी बुझाएर ८४ दिनपछि कास्की हिरासतबाट छाडिएका लामिछाने आइतबार आफै काठमाडौं जिल्ला अदालतमा हाजिर भएका थिए । तर आइतबार थुनछेक बहस नै शुरु भएन । सोमवार थुनछेक बहस शुरु भएपछि बहस सकिएर बेलुकासम्म आदेश आउन सक्ने भन्दै रास्वपा कार्यकर्ताहरु अदालत बाहिर ठूलो संख्यामा जम्मा भएका थिए । तर बहस नसकिएपछि अदालतले सोमवार पनि रविलाई न्यायिक हिरासतमै पठाउने आदेश दियो । सोमवार अदालतबाट प्रहरी भ्यान राखेर लगिएपछि उनका समर्थकहरुले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चर्का नाराबाजी गरे । सोमवार जिल्ला अदालत परिसरमा रविका समर्थकसँगै विवादित ब्यवसायी दुर्गा प्रसाईँ पनि उपस्थित थिए ।
मंगलबार माघे संक्रान्तिको सार्वजनिक विदा भएकाले बुधबार मात्रै सुनुवाई हुने भएकाले सोमवार र मंगलबार २ दिन रवि हिरासतमै बस्नुपर्ने भएको छ । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलन गरेको कसुरमा अभियोग पत्र दायर भएकाले लामिछाने आइतबार अदालतमा हाजिर भएका थिए । आइतबार थुनछेक बहस शुरु नभएपछि अदालतले लामिछानेलाई न्यायिक हिरासतमा पठाएको थियो ।
पुर्पक्षका लागि थुनामा नै पठाउनुपर्नेमा जोड
सोमवार भएको थुनछेक बहसमा सरकारी पक्षका वकिलले लामिछानेलाई पुर्पक्षका लागि थुनामा नै पठाउनुपर्ने जिकिर गरे । अहिलेसम्मको प्राप्त प्रमाणको आधारमा उनलाई थुनामै पठाउनुपर्नेमा उनीहरुले जोड दिएका थिए । रास्वपा सभापति लामिछानेलाई छाडिए प्रमाणहरु नष्ट हुन सक्ने आशंका पनि सरकारी पक्षका वकिलहरुले गरेका छन् ।
स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा सरकारी वकिलको कार्यालय काठमाडौंले पुस २१ गते लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो । यो मुद्दामा एक अर्ब १९ करोड ४९ लाख २१ हजार २७० रूपैयाँ बिगो माग गरिएको छ । सोही मुद्दामा प्रतिवादी रहेका सुनिता नेवा र कमल लामा धरौटीमा रिहा भइसकेका छन् ।