काठमाडौँ । ४६ वर्षसम्म भारतमा बन्धक जीवन विताएर पुर्ते राना मगर अन्ततः ७० वर्षको उमेरमा आफ्नो देश फर्किएका छन् । पुर्ते राना मगर गरिबी र रोजगारीको अभावका बीच १७ वर्षको उमेरमै मानव वेचविखनको शिकार भएका थिए । उनी बुढेरकालमा आफ्नो देश फर्कन सफल भएपनि सामाजिक अस्तित्व खोजी भने जारी नै छ ।
एक पटक कल्पना गर्नुहोस् त, १७ वर्षको उमेरमा हराउनु र ४६ वर्षपछि आफ्नो मातृभूमिमा पाइला टेक्नु । यो कुनै काल्पनिक कथा होइन, यो हो इन्द्रवती–६ सिन्धुपाल्चोकका ७० वर्षीय पुर्ते रानामगरको जीवनको सत्य घटना ।
१७ वर्षका कलिला पुर्ते रानामगर आफ्नो गाउँमा रहेको गरिबी र अवसरको अभावका कारण कामको खोजीमा काठमाडौं आएका थिए । कुटोकेदालो मात्रै गरेका रानामगरलाई कुर्सीमा बसेर काम गर्ने अवसरले चीनको सीमानामा रहेको एउटा गाउँमा पुर्यायो । सहरको ठूलो सपना देखेका उनी अचानक एउटा भयावह वास्तविकतामा फसे । रानामगरसहित तीन जनालाई हेल्म्बु घर भएका व्यक्तिले बेचे । तर, उनीहरूलाई आफूहरू बेचिएको थाहा हुन तीन वर्ष लाग्यो । दिनभर भारी काम, रातभर दुःख र पिंजडा भित्रको जीवनमा उनका वर्षहरू बित्दै गए । पछि, पुर्ते भारतको मनाली पुगे । त्योसँगै उनको जीवन अकल्पनीय श्रम र पीडाले भरियो ।
उनले चार दशकभन्दा बढी समय भारतमा बन्धक जीवन बिताए जहाँ उनी जबर्जस्ती बेचिएर शोषणमा परे । उनी विभिन्न स्थानमा मजदुरी गर्न बाध्य भए जहाँ उनलाई न पारिश्रमिक दिइन्थ्यो न त स्वतन्त्रताको अधिकार । उनका लागि दिनरात एउटै थिए । कठोर काम, न्यून आहार, र निरन्तरको मानसिक तनाव उनका जीवनका हिस्सा बने । उनलाई न कुनै अधिकार थियो, न त उम्किने बाटो । दशकौंसम्म पिंजडाजस्तो जीवन बिताएका रानामगर २२ वर्षीय छोरासँग गाँउ खोज्दै आफ्नो देश फर्किए । परिवारका सदस्यसँग भेटेर उनी हर्षित भएपनि आफ्नो टाउँकोमाथि छानो नभएको पीडा उनलाई छ ।
पुर्तेको कथा केवल एउटा घटनामात्र होइन । यो हजारौं मानिसको पीडा र मानव बेचबिखनको भयावह यथार्थको ऐना हो । नेपालजस्ता देशहरूमा गरिबी र अवसरको अभावले कति मानिस शोषणको शिकार बन्छन्, यो घटनाले प्रस्ट पार्छ । राष्ट्रिय मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन अनुसार लगभग ४० हजार बढीको संख्यामा नेपाली नागरिकहरू विभिन्न क्षेत्रमा मानव बेचबिखन तथा ओसारपसारमा परेको अनुमान गरिएको छ । मानव बेचबिखनको आयाम फराकिलो बन्दै गएकाले यसको नियन्त्रण चुनौतीको विषय बनेको छ । सरकारले बेचविखनको चपेटामा परेकाहरुको उद्दार र पुनस्थापनामा विशेष प्रभाकारिता देखाउन आवश्यक छ ।