काठमाडौँ । परराष्ट्रमन्त्री आरजु राणा देउवाले आफ्नो भारत भ्रमणमा भारतीय विदेशमन्त्री एस जयशंकरबाट हप्काइ खाने खालको प्रश्न आएको खुलासा गरेकी छन् । भदौमा पहिलोपटक भारत जाँदा उच्च सम्मान पाएको चर्चापछि पुस ४ गते दोस्रोपटक भारत भ्रमणमा गएकी मन्त्री राणालाई भारतले राम्रो व्यवहार नगरेको भन्दै यसअघि नै आलोचना भइसकेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतले आफ्नो देशको भ्रमणमा नबोलाएपछि आरजुले ओलीको भ्रमणका लागि वातावरण बनाउन प्रयास गरेकी थिइन् । दोस्रोपटक भारत जाँदा उनलाई भारतीय प्रधानमन्त्री, विदेशमन्त्री लगायतले उति महत्व नै दिएका थिएनन् । सोमबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा उपस्थित भएकी मन्त्री राणाले सार्कबारे समेत भारत रुष्ट रहेको प्रतिक्रिया आफूले पाएको बताइन् ।
नेपाल सार्क संगठनको अध्यक्ष भएको नाताले वर्षौदेखि हुन नसकेको सार्क शिखर सम्मेलन गराउन आफूले पहल गरेको आरजुको भनाइ छ । भारतीय विदेशमन्त्री एस जयशंकरसामु पनि आफूले सार्क शिखर सम्मेलनबारे कुरा उठाउँदा जयशंकरले उल्टै प्रतिप्रश्न गरेको आरजुले समितिमा बताइन् । उनले समितिको बैठकमा भनेकी छन्– ‘स्टेट हेडको बैठक बस्न सबै सहमत हुनुपर्छ । भारत जाँदा मैले विदेशमन्त्री एस जयशंकरसँग सार्क सम्मेलनको विषय उठाएकी थिएँ । तर जयशंकरजीले प्रतिप्रश्न गर्दै भन्नुभो– तिम्रो देशमा आएर मान्छे मारेको भए मिटिङ हुन्थ्यो ? त्यसपछि मैले थप कुरा गर्न सकिनँ ।’
पाकिस्तानसँगको दुश्मनीका कारण भारतले सार्कलाई बाइपास गर्दै आएको छ । सार्कको १८ औं शिखर सम्मेलन सन् २०१४ मा नेपालले आयोजना गरेको थियो भने १९ औं शिखर सम्मेलन पाकिस्तानले गर्ने तय भएको थियो । तर पाकिस्तानले भारतकै कारण सम्मेलन गर्न सकेको छैन । सन् २०१६ मा भारतीय सैनिकहरूमाथि भएको एउटा आक्रमणमा पाकिस्तानको हात रहेको भन्दै भारतले पाकिस्तानको अध्यक्षतामा हुने सार्क सम्मेलनलाई महत्व दिएको छैन । पाकिस्तानले आफ्नो देशमा आएर मान्छे मारेको सन्दर्भ झिक्दै एस जयशंकरले परराष्ट्रमन्त्री राणालाई थर्काउने शैलीमा उक्त प्रश्न गरेका थिए ।
समितिमा सांसदहरुले प्रधानमन्त्री ओलीको चीन भ्रमण र त्यसबेला भएका सम्झौताबारे पनि प्रश्न उठाएका थिए । नेपाली काँग्रेसका सांसद योगेश गौचन थकालीले प्रधानमन्त्रीले चीन भ्रमणमा गरेको सम्झौताअनुसार सरकारले कस्तो ऋण लिने तयारी गरेको छ ? भन्दै प्रश्न गरे । उनले बाह्य एवं आन्तरिक ऋण परिचालनमा सरकार गम्भिर हुन आवश्यक रहेको बताए । ऋण लिँदा परिणाममुखी परियोजना निर्माणका लागि मात्र लिनुपर्ने उनको भनाइ थियो ।
जवाफमा परराष्ट्रमन्त्री राणाले चीनसँग भएको बीआरआई सम्झौता अनुदानमा आधारित सहयोगको समझादारी भएको बताइन् । उनले चीन सरकारसँग ऋण लिनेसम्बन्धी कुनै पनि समझदारी पत्रमा हस्ताक्षर नभएको दाबी गरिन् । नेपालको कुल गार्हस्थ्य उत्पादन निष्क्रिय जस्तै भएको जानकारी चीनलाई गराएको भन्दै उनले चीन सरकार एड र ग्राण्ट दिनको लागि तयार भएको बताइन् । चीन सरकारबाट बिआरआई परियोजना अन्तर्गत आउने सबै परियोजनाहरु एड फाइनान्सिङमै आउने उनको भनाइ थियो ।
बैठकमा सांसदहरुले नेपाली पासपोर्ट (राहादानी) विश्वमा सबैभन्दा कमजोर किन भएको भन्दै परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण गराएका थिए । नेपाली पासपोर्टको स्तर कमजोर हुँदा देशको इज्जतमाथि नै प्रश्न उठेको उनीहरुको भनाइ थियो । नेकपा एमालेकी सचेतक सुनिता बरालले विभिन्न प्रतिवेदनहरुमा नेपाली राहदानीको ¥याङ्किङ दिनानुदिन घटिरहेको बताउँदै यसको सुधारमा सरकारको ध्यान गएको छ कि छैन भनेर मन्त्री राणालाई पश्न गरिन् । साथै फ्रि भिसा फ्रि टिकेटको व्यवस्था कार्यान्वयनको स्थितिबारे समेत उनले मन्त्रीको जवाफ मागिन् ।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपाली राहदानी कमजोर हुनुको मुख्य कारण सम्झौता अनुसार काम नहुनु रहेको बताए । उनले सम्झौताअनुसार गुणस्तरीय राहदानी नदिए पनि सेटिङ मिलाए उन्मुक्ति पाइन्छ भन्ने मानसिकता हाबी भएको भन्दै उनले त्यस्ता दोषीलाई कानूनी दायरामा ल्याउन माग गरे ।
सोमवारको बैठकमा प्रधानमन्त्री ओलीको चीन भ्रमण तथा परराष्ट्रमन्त्री राणाको भारत भ्रमणका उपलब्धिबारे छलफल र समीक्षा गरिएको थियो ।