काठमाडाैँ । माघे संक्रान्तिको अवसरमा नेताहरु शीतल निवासमा भेला भएका छन् । सो अवसरमा आज बिहान राष्ट्रपति रामचन्द्र पौडेलले माघी पर्वको शुभाकामना व्यक्त गरेका छन् ।
शीतल निवासमा आज माघे संक्रान्तिको अवसरमा खाइने घ्यू-चाकु र तरुलको भोजको समेत आयोजना गरिएको छ । माघी पर्वको अवसरमा आज शीतल निवासमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वराष्ट्रपतिद्वय डा. रामवरण यादव, विद्यादेवी भण्डारी, पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, झलनाथ खनाल, माधव नेपाल लगायतका नेताहरुको उपस्थिति रहेको छ ।
जमघटमा राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय उद्देश्य पूरा गर्न सबै एकजुट भएर अघि बढ्न आह्वान गरेका छन् । उनले परम्परागत रुपमा प्राचीन समयदेखि मनाइने साउने संक्रान्ति र माघी पर्वको विशेष महत्व रहेको बताउँदै यी संक्रान्ति पर्व मात्र नभएर नेपालीहरुको जनजीवन समेत रहेको बताए ।