News 24 Television
सरकारी अस्पतालमै स्वास्थ्य व्यापारीकरण र लापरवाही

काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) का सांसद श्रीकृष्ण अधिकारीले नेपालको स्वास्थ्य क्षेत्रमा बजारीकरण मौलाएको बताएका छन् । सोमवार राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति बैठमा बोल्दै उनले यस्तो बताएका हुन् ।

सरकारी अस्पतालहरुमा व्यापारीकरण बढेको कारण नागरिकले सहज स्वास्थ्य सेवा प्राप्त गर्न नसकेको  भन्दै उनले सरकारी अस्पतालहरुका आपतकालिन केन्द्रहरुको अनुगमन गर्न समिति सभापति समक्ष माग राखे । सरकारी अस्पतालका इमरजेन्सीहरुमा चिकित्सकको लापरबाहीका कारण गुण्स्तरीय उपचार सेवा प्रवाह हुन नसकेको उनकाे भनाइ छ ।

सांसद अधिकारीले भने, ‘आजको चुनौती फेरि आधारभुत स्वास्थ्य सेवामा नागरिकको पहुँच  पुर्याउने भन्ने देखेको छु । स्वास्थ्यको क्षेत्रमा अत्यन्तै बजारिकरण र व्यापारिकरण छ कि त्यो सरकार अस्पतालहरुमै देखिन्छ । अब हामीले एक पटक सरकारी अस्पतालहरुको आपत्कालीन केन्द्रहरुमा अनुगमन गर्नुपर्ने आवश्यकता मैले देखेको छु । त्यहाँ सेवा लिन जाने बिरामीहरुले पाएको दुःख अत्यन्त छ । न त्यहाँ गुणस्तर छ न त सहज उपचार हुन्छ । बिरामी एकदम सिकिस्त भएपछि इमरजेन्सीमा पुग्छ तर त्यहाँ त्यहाँ डाक्टर पनि हुँदैन, गुणस्तरीय उपचार पनि हुँदैन । त्यसकारण सरकारी अस्पतालका इमरजेन्सीहरुलाई सुधार गर्न अत्यनत जरुरी छ’ । 

सांसद अधिकारीले स्वास्थ्य सेवा समाजवादउन्मुख हुन नसकेको बताए । उनले संविधानले स्वास्थ्य सेवा नागरिकको मौलिक हकको रुपमा व्यवस्था गरिएको उल्लेख गर्दै यसमा हाम्रो नीति के हो ? भन्दै प्रश्न गरे । अझै पनि दुर्गम भेगमा आधारभुत स्वास्थ्य सेवा पुग्न नसकेको भन्दै उनले सरकारको गम्भीर ध्यानाकर्षण गराए । 

नेकपा एमालेकी सांसद सुमित्रा बिसीले सिंहदरबार वैद्यखानाका कर्मचारीहरु लामो समयदेखि करारमा काम गरिरहेकोले उनीहरूलाई स्थायी बनाउन माग गरे । वैद्यखानाका कर्मचारीहरुले जीवनको उर्बर समय त्यही खर्च गरकोले स्वास्थ्य मन्त्रालयल यस विषयमा गम्भीर हुनुपर्ने उनकाे माग छ ।

उनले भनिन्, ‘सिंहदरबार वैद्यखानाको कर्मचारी कति वर्षदेखि अस्थायी, करार काम गरिरहनुभएको छ । उहाँहरुको सेवा अवधी अब के हुने ? सेवा त उहाँहरुले धेरै वर्ष गर्नुभयो । तर निस्केर जाँदादोरि सेवा त उहाँहरुले केही पनि पाउनुहुने भएनन् । उहाँले जीवनको उर्वर समय त्यही लगानी गर्नुभएको छ । यसको विषयमा स्वास्थ्य मन्त्रालयले ध्यान दिनुपर्ने देखिन्छ । अनि देशभित्रका उद्योगहरु कच्चा पदार्थको अभावमा जर्जर भएका छन् । जडिबुटीहरु बाहिर विदेशीने गरेका छन् । अनि त्यहीबाट प्रशोधन गरेका औषधि ल्याइरहेका छौं । यसबारे सोच्नुपर्ने आवश्यकता छ ।’

प्रकाशित मिति: सोमबार, पुस २९, २०८१  १७:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update