News 24 Television
रविको थुनछेक बहस सकिएन, बुधबारसम्म हिरासतमै

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेको थुनछेक बहस आज पनि सकिएन । हिजो आइतबार काठमाडौँ जिल्ला अदालतमा उनको बयान लिइएको थियो भने आज सोमबार बिहानबाटै सुरु भएको थुनछेक बहस लम्बिएको छ । बहस नसकिएपछि रविलाई बुधबारसम्म न्यायिक हिरासतमै राखिएको छ ।

भोलि मंगलबार सार्वजनिक बिदा भएका कारण अदालत खुल्ने छैन । बुधबारबाट मात्रै बाँकी थुनछेक बहस हुने जनाइएको छ । स्वर्णलक्ष्मी सहकारीको रकम गोर्खा मिडियामा गएकोबारे छानबिन चलिरहेका कारण लामिछाने लगायत विरुद्ध अदालतमा मुद्दा दायर भएको थियो । सोही मुद्दाको क्रममा रविलाई थुनामा पठाउने कि धरौटीमा छाड्ने भन्नेबारे बहस चलिरहेछ । आज सरकारी वकिल र सहकारी पीडितको पक्षका वकिलको मात्र बहस हुनसकेको छ । रवि पक्षका वकिलले बहस गर्ने समय पाएनन् ।

सरकारी वकिलले रविमार्फत प्रमाण नष्ट हुनसक्ने भन्दै उनलाई थुनामै राखेर अनुसन्धान अगाडि बढाउन माग गरेका थिए । तर रवि पक्षका वकिलहरूले थुनाबाहिरै राखेर अनुसन्धान गर्न माग गर्दै आएका छन् ।  न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले आइतबार नै थुनछेक बहस चल्दासम्मका लागि रविलाई हिरासतमै पठाउन आदेश दिएकाे थियाे । 

प्रकाशित मिति: सोमबार, पुस २९, २०८१  १७:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update