मोरङ । म्याद सकिएको खाद्यपुरक सामग्रीमा नयाँ मितिको लेवल टाँसेर विक्रि वितरणमा फुड आर्युवेदिक न्यूट्रासिटिकल कस्मेस्यूटिकल एशोसिएशन अफ नेपाल फ्यानक्यानका कोशी अध्यक्ष विपिन झा संलग्न रहेको पाइएको छ ।
विराटनगर–६ बीएफेएम पूर्व भूमि मार्गमा तीन तलाको आफ्नै घरको गोदाममा ५१ वर्षीय झाले म्याद सकिएको न्युट्रास्युटिकलको लेभल मेटाएर पुनः नयाँ उत्पादन मिति राखेर बिक्री वितरणको लागि बजारमा पठाउने गरेको पाइएको हो । जिल्ला प्रहरी कार्यालय मोरङ तथा राजस्व अनुसन्धान कार्यालय इटहरी सुनसरीले आइतबार दिउँसो झाको घरमा छापा मारेर ठूलो परिमाणमा न्युट्रास्युटिकल बरामद गरेको थियो । झाले न्युट्रास्युटिकल बजार पठाउनको लागि तीन तलाको घरको भूइँ र दोस्रो तला गरी तीन वटा कोठालाई गोदाम बनाएर राखेका छन । उक्त गोदाममा १४ भन्दा बढी प्रकारका न्युट्रास्युटिकल र अन्य विभिन्न कम्पनीको मल्टिभिटामिनहरू फेला परेको मोरङ प्रहरीले जनाएको छ ।
प्रहरीले खाद्यपूरक सामग्रीमा छाप लगाउने ४० वटा स्ट्याम्प पनि बरामद गरेको छ । ‘बरामद गरेको खाद्यपूरक सामग्रीका अहिलेसम्म बिलविजक पनि देखिएको छैन । यो भन्सार छली गरी ल्याएको अनुमान गरिएको छ ।
फ्यानक्यान मोरङका अध्यक्ष विपिन झाले एक दशकअगाडिदेखि न्युट्रास्युटिकल आयात गर्ने सप्लायर्स चलाउँदै आएका छन् । उनको साक्षी मेडिलिङ्कमार्फत भारतबाट न्युट्रास्युटिकल सस्तोमा ल्याउने र यहाँ ल्याएपछि आफूले खरिद गरेकोभन्दा दशगुणा बढी मूल्य तोकेर बजार पठाउने गरेको पाइएको हो । यसले नियमसंगत काम गर्ने व्यवसायी मर्कामा पर्ने सरोकारवालाहरुले बताएका छन् ।
झाले म्याद सकिएको न्युट्रास्युटिकलको उत्पादन मिति र म्याद सकिएको मिति मेटाउन प्रयोग गर्ने केमिकल र सामान प्रहरीले बरामद गरेको छ । झाले विराटनगरसहित पूर्वका विभिन्न सहरहरूमा न्युट्रास्युटिकल सप्लाई गर्दै आएका छन् । उनले सबैभन्दा बढी विराटनगरको ठूलो फार्मेसीभित्रको हस्पिटल र विराटनगरको ठूलो मेडिसिन पसलमा जाने गरेको छ । सबैभन्दा बढी विराटनगरको जलजला मोडमा रहेको अलट फार्मेसीले झाको सप्लायर्सबाट न्युट्रास्युटिकल आयात गर्ने गरेको छ । स्वास्थ्य क्षेत्रका जानकारले दिएको जानकारीअनुसार झाले भारतमा ५० रुपैयाँ पत्तामा खरिद गर्ने न्युट्रास्युटिकल यहाँ ल्याएर आफै मूल्य तोकेर पाँच सयसम्ममा बिक्री गर्दछन ।