News 24 Television
एनआरएनलाई नेपालमा लगानी गर्नै समस्या ! 

काठमाडौं । गैरआवासीय नेपाली परिचयपत्र लिएका नेपालीहरुलाई गैरआवासीय नेपाली नागरिक सरह पाउने अधिकारको ब्यवस्था गर्न गैरआवासिय नेपाली संघले सरकारसँग माग गरेको छ । 

एनआरएन परिचय पत्र पाएका ब्यक्तिले भिसा लिन नपर्ने ब्यवस्था कार्यान्वयन गर्न पनि उनीहरुले माग गरेका छन् । एनआरएनको लगानी बिस्तार गर्न सरकारले लगानीमैत्री कानून र नियम बनाएमा बिदेशमा बसेका सबै खालका नेपालीहरुबाट लगानी आउन सक्ने उनीहरुको दाबी छ । 

सरकारले एनआरएनको परिचय पत्र लिई नेपालमा लगानी गर्न चाहने ब्यक्तिलाई पटक पटक भिसा लिने प्रावधानको कारण समस्या भएको गैरआवासिय नेपाली संघले जनाएको छ । एआरएनको नागरिकता पाएका नेपालीलाई लगानीको समस्या परेको उनीहरुको भनाई छ । अन्तर्राष्ट्रिय युवा सम्मेलन गर्न आयोजना गर्न लागिएकोबारे जानकारी दिन आइतबार काठमाडौंमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष डा. बद्रि केसीले एनआरएन नागरिकलाई लगानी समस्याबारे चिन्ता ब्यक्त गरेका हुन् । 

दोस्रो विश्व युद्धको समयमा हराएका तथा अलपत्र परेका नेपाली मूलका ब्यक्तिहरुलाई  पहिचान गर्न सकेमा उनीहरुबाट पनि आफनो पुर्खाको थलोमा फर्किएर लगानी गर्न सक्ने हुदाँ नेपाल सरकारले नेपाली मूलका ब्यक्तिलाई लगानी गर्न सक्ने लगानी मैत्री कानूृन बनाउन संघले माग गरेको छ । संघका तर्फबाट गैरआवासीय नेपाली नागरिकता बहाल व्यक्तिलाई भिसा लिनु नपर्ने र भिसाको म्याद अवधि सकिएकाले पनि म्याद थप गर्नुपर्ने कारण समस्या भएको संघले जनाएको छ । 

गैरआवासीय नेपाली नागरिकलाई सवारी साधन खरिद गर्न, सवारी चालक अनुमतिपत्र प्राप्त गर्नका लागि आवश्यक कानून निर्माणका लागी पहल गरिदिन, नेपाली नागरिक सरह गैरआवासीय नेपाली नागरिकले समेत नेपालमा कम्पनी दर्ता, सञ्चालन, व्यवस्थापन र खारेज गर्न उनीहरुले माग गरेका छन् । 

नेपाल सरकारले जारी गरेको नेपाली परिचयपत्र लिएका गैरआवासीय नेपालीहरुलाई स्वदेश भित्र हवाई यात्रा गर्दा विदेशी नागरिक सरह व्यवहार भएकोले उनीहरुलाई नेपाली नागरिक सरहको हवाई यात्राको सुविधाका लागि कानुनी रुपमा सहजीकरण गर्नुपर्ने पनि उनीहरुको माग छ । 

संसदको आगामी हिउँदे अधिवेशनमा गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनको बिषयमा पर्याप्त छलफल गरेर विश्वका बिभिन्न देशमा रहेका नेपाली मूलका गैरआवासिय नेपालीको बिषयमा उपयुक्त कानून तथा नीति बनाउन सकेमा यो बिषयले निकास पाउने देखिन्छ ।

प्रकाशित मिति: सोमबार, पुस २९, २०८१  ०८:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update