News 24 Television
एमालेको आडमा स्काउटमा युवा संघका नेता लामाको हैकम !

काठमाडौं । नेपाल स्काउट भित्र जर्बजस्त रुपमा राजनीति प्रवेश भएपछि सामाजिक संस्थाको गरिमा माथि प्रश्न उठेको छ । नेपाल स्काउटका प्रमुख आयुक्त महेन्द्र राय रञ्जितले निर्देशक राम भट्टराईलाई निलम्बन गरि राष्ट्रिय युवा संघका नेता अजित लामालाई सहायक निर्देशकमा नियुक्त गरेका छन् । भट्टराई कार्वाहीमा परेको भन्दै लामाले कार्यालय प्रमुखका रुपमा अड्डा जमाउन थालेका छन् ।

राष्ट्रिय युवा संघका नेता समेत रहेका नेपाल स्काउटका राष्ट्रिय परिषद् सदस्य अजित लामा शुक्रबार नेपाल स्काउटका निर्देशक राम भट्टराईको कुर्चीमा विराजमान थिए । तर आइतबार भने भट्टराईको कार्यकक्ष बन्द रहेको थियो ।

 नेपाल स्काउटका प्रमुख आयुक्त महेन्द्रराय रंजितले निर्देशक भट्टराईलाई निलम्बन गरि र सहायक निर्देशक पदमा लामालाई नियुक्त गरेको बताएपछि लामा कार्यालय प्रमुखका रुपमा अड्डा जमाउन थालेका हुन् । तर लामालाई नियुक्त गरिएको रेकर्ड भने कार्यालयमा दर्ता पनि भएको देखिदैन । 

लामा स्वयम्ले पनि आफ्नो नियुक्तिबारे मिडियामा खुल्न चाहेनन् । उल्टै आफुले असुरक्षित महसुस गरेको भन्दै फेसबुक लाइभ गर्दै बसे । 

रञ्जितबाट निलम्बनमा परेका भनिएका निर्देशक भट्टराई भने आफ्नो कार्यकक्षमा अन्य ब्यक्तिको प्रवेश भएको भन्दै प्रशासन शाखामा गुहारिरहेका छन् । उनले आफुलाई निलम्बन गरिएको भन्ने सुचना सामाजिक संञ्जालबाट थाहा भएको भन्दै प्रशासन शाखाबाट निलम्बन गरिएको पत्र माग गरिरहेका छन् । उनलाई निलम्बन गरिएको पत्रबारे कार्यालयका प्रशासन शाखाका कर्मचारीले पनिअनभिज्ञता ब्यक्त गरेका छन् । 

निर्देशक भट्टराईले कार्यालयबाट निलम्बन गरिएको पत्र पाएका छैनन् भने कारबाही सम्बन्धी पत्र दर्ता कहिँकतै दर्ता गरिएको छैन । रंजित लामालाई नियुक्ति दिइएको पत्र पनि दर्ता रेकर्ड छैन । 

तर भट्टराई कारबाहीमा परेको भन्दै उनको एमालेको आडमा कार्यालय प्रमुखको हैकम जमाएका लामाले यस विषयमा प्रतिक्रिया दिन पनि अस्वीकार गरेका छन् । 

कानुन विपरीत निलम्बन र नियुक्ति

नेपाल स्काउटका प्रमुख आयुक्त रञ्जितले सत्ताको आडमा निर्देशक भट्टराईलाई निलम्बन गरेका छन् । जुन नियमसंगत देखिदैन । स्काउटको नियम अनुसार कार्यालय प्रमुख भन्दा तल्लो दर्जाको कर्मचारीलाई कार्यालय प्रमुखले र कार्यालय प्रमुखको हकमा नेपाल स्काउटको राष्ट्रिय कार्यकारी समीतिले अभियोजन गरि अनुशासनको कारबाही गर्न सक्ने उल्लेख छ । 

अनुशासनको सन्दर्भमा अनुसन्धान समिति गठन र आर्थिक अनियमितता गरेको आरोपमा छानबिन समिति गठन गरी राय पेश गर्नुपर्ने उल्लेख छ । त्यसैगरि, लामाको नियुक्ति पनि विधानसम्मत देखिदैन् । नेपाल स्काउटको कर्मचारी सेवा नियमावली २०५२ तेस्रो संशोधन २०८१ अनुसार कुनै पनि अस्थाई वा स्थायी कर्मचारी नियुक्ती गर्दा नेपाल स्काउटका कार्यालय प्रमुखको संयोजकत्वमा नेपाल स्काउटका कानुनी सल्लाहकार र विषयगत विशेषज्ञ सदस्य रहेको पदपूर्ति समिति गठन गरि, लिखित परिक्षा र मौखिक अन्तरवार्ता मार्फत मात्रै कर्मचारी नियुक्त गर्न पाउने व्यवस्था छ । तर यस विषयमा रञ्जित र लामा दुवैले प्रतिक्रिया दिन अस्वीकार गरेका छन् । 

प्रमुख आयुक्तले कानुन विपरीत कार्य गरेको भन्दै नेपाल स्काउटका प्रमुख समेत रहेका नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले २४ घन्टा भित्र राष्ट्रिय कार्यकारी समितिको बैठक बोलाउन निर्देशन दिएको बताएका छन् । 

नेपाल स्काउटका प्रमुख रहेका युवा तथा खेलकुद मन्त्रालयका मन्त्रीलाई समेत थाहै नदिई राष्ट्रिय कार्यकारी समितिमा समेत छलफल नगरी नेपाल स्काउटका निर्देशकमाथि प्रमुख रंजितले अंकुश लगाउन खोजेपछि उनको अहिले चौतर्फी आलोचना भएको छ ।

प्रकाशित मिति: सोमबार, पुस २९, २०८१  ०७:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update