बाँके । थारू समुदायको सबैभन्दा ठूलो पर्व माघीको रौनक सुरु बाँकेमा पनि शुरु भएको छ । यतिबेला माघीका लागि दुना टपरी बनाउनेदेखि मासुको जोहो गर्ने तथा अन्य कार्यक्रमको तयारीमा थारु समुदाय जुटेका छन् । मुख्य चाड माघी नजिकिँदै गर्दा थारू समुदायका कला, संस्कृति प्रदर्शन हुन थालेका छन् भने गाउँमा मात्रै नभई सहरमा समेत थारू संस्कृतिको रमझम बढेको छ ।
नेपालको पश्चिम तथा मध्य तराईका थारू समुदायको माघी सबैभन्दा ठूलो पर्व हो । माघे संक्रान्तिलाई थारु समुदायले नयाँ वर्षको रूपमा मनाउन गरेका छन् । पुष महिनालाई बिदाई गर्दै माघ १ गतेलाई स्वागत गर्न माघे सक्रान्तिको अघिल्लो दिन अर्थात पुष महिनाको अन्तिम दिन थारु समुदाय जिता मार्ने कार्य अन्तर्गत बङ्गुर, खसी, बाख्रा, मुर्गा, भेडा काट्ने तयारीमा व्यस्त हुने गर्दछन् ।
माघीमा आफन्त तथा साथी सहित ढिक्री, मासु लगायतका परिकार खाने, खुवाउने चलन छ । थारू समुदायले माघीलाई विशेष पर्वका रूपमा मनाउने भएकाले एकसाता अघिदेखि नै माघीको रौनक सुरु हुने गरेको थारु अगुवाहरू बताउँछन् ।
माघे सक्रान्तिको दिन राती नै नुहाएर सादा चामलको टिका लगाएर आफु भन्दा ठुलोको आर्शिवाद लिने र सानालाई आर्शिवाद दिने चलन छ । माघीको दोस्रो र तेस्रो दिन घुरा खेल खेल्ने, बडघर चुन्ने, चिराखी चुन्ने र बर्षभरी गाउँमा हुने गतिबिधीको नीतिनियम बनाउने जस्ता कार्य हुने गर्दछ । थारु समुदायको पर्वसँगै नयाँ बडघर चुन्ने र सबै नयाँ योजना बनाउने गर्दछन् ।
माघीमा विशेष गरी बङ्गुरको मासु, माछा, घोंगी, गङ्गटो लगायतका खानाका पकवानहरू खाने चलन छ । यो पर्वमा नयाँ वर्ष शुभारम्भ हुने भएकोले रोजगारीका लागि बाहिरिएकाहरू पर्व मनाउनका लागि घर फर्कने र बर्ष भरीको गतिविधि तय गरेर पुन वाहिर कमाउन जाने गरेका छन् । घरको होस् वा गाउँको हरेक गतिविधिको तय माघमा नै गरिने भएको हुनाले नयाँ बर्षको रुपमा मनाउने गरिन्छ । माघीमा पाहुना धेरै जम्मा हुने भएकाले उनीहरूको स्वागतका लागि थरीथरीका खानाको परिकार पकाउँन थालिएको छ ।
माघ १ गते विहानै नुहाएपछि नजिकै रहेको मठमन्दिर तथा मेला महोत्सवमा घुम्न तथा पुजापाठ गर्न जाने प्रचलन पनि थारु समुदायमा रहेको छ । बाँके लगायतका जिल्लामा माघी मनाउन हरेक वर्ष गाउँगाउँमा मेला तथा महोत्सवको आयोजना गरिदै आएको छ । पछिल्लो समय माघीमा नुहाउने र नदीखोला किनारामा मेला आयोजना गर्ने चलन पनि बढ्दै गएको छ ।