कास्की । पोखरा उपत्यकामा जलपंक्षी गणना शुरू गरिएको छ । पोखरा उपत्यकामा रहेका ताल र नदिमा यस वर्षको जलपंछी गणना शुरू गरिएको हो । सन् १९८७ देखि सुरु थालिएको जलपंछी गणना पोखरामा भने सन् २००४ बाट नियमित आधिकारिक गणना र अभिलेख राखिने गरेको छ ।
पोखरा उपत्यकामा जलपंक्षी गणना शुरु भएको छ । पोखरामा आधिकारिक रुपमा सन् २००४ देखि प्रत्येक वर्ष प्रत्येक वर्ष अंग्रेजी महिना जनवरीको पहिलो हप्तादेखि तेस्रो हप्तासम्ममा गरिँदै आएको जलपंछी गणना कार्यक्रम पोखरा उपत्यकामा रहेका ताल र नदीमा शुरु गरिएको हो ।
गणना कार्यक्रममा स्वयंसेवी पंछी अवलोकनकर्ता, स्थानीय बासिन्दा, सरोकारवाला निकाय र संरक्षण संघ संस्थाको सहभागिता रहेको छ । सिमसारमा आश्रित पानीचराहरूको अवस्था पत्ता लगाउने, संख्या अध्यावधि गर्ने, संरक्षणमा स्थानीय समुदायलाई सहभागी बनाउँदै जनचेतना अभिवृद्धि गर्ने लगायतका उद्देश्यसहित प्रत्येक वर्ष नेपालभर जलपक्षीहरूको अनुगमन र गणना गर्ने गरिएको छ ।
नेपालका ६० भन्दा बढी ताल तलैया र नदीहरूमा जलपंक्षीहरूको गणना गर्ने गरिएको छ । नेपाल लगायत अन्य देशमा समेत विभिन्न कारणले चराहरूको संख्या घट्दै गएको तथ्यांकले देखाउँदै आएको छ । पछिल्लो समयमा चराहरुको बासस्थान संकटमा पर्दै गएका कारण चराहरु घट्दै गएको पोखरा पंक्षी समाजका अध्यक्ष तथा गणनाका क्षेत्रीय प्रतिनिधी मनशान्त घिमिरे बताउँछन् ।
पानी चरा गणना पोखरामा रहेका केहि पथ प्रर्दशकहरु, नेपाल पंक्षी संरक्षण संघ पोखरा र पछिल्लो समयमा पोखरा पंक्षी समाजको संलग्नतामा हुँदै आएको छ । पोखराका बिजयपुर खोला, कमलपोखरी, गुँदे, खास्टे, न्युरेनी, दिपाङ, मैदी ताल, बेगनास ताल, रुपा ताल र फेवातालमा जलपंछी गणना कार्यक्रम गरिएको गणक झलक चौधरी बताउँछन् । पछिल्ला वर्षहरुमा चराका प्रजाती र संख्या दुबैमा कमि आउदै गएकाले पंक्षीमैत्री बन्नुपर्ने उनको भनाई छ ।
दक्षिण एसियामै पहिलो पटक वन्यजन्तु पर्यटन भित्र्याउने टाइगर टप्सको चेन होटल टाइगर माउण्टेन पोखरा लजका प्रबन्धक मार्कस कटनको अगुवाईमा सन् २००४ देखि पोखरा उपत्यकामा चरा गणना शुरु भएको हो । हाल सम्म गरिएको गणनामा पोखरा उपत्यकामा ४६ प्रजातिका पानी चराको अभिलेख गरिए पनि यस बर्ष १०२ प्रजातिका पानी चरा देखिएको जनाइएको छ ।