News 24 Television
शीतलहरले तहसनहसको जोखिम ! यस्तो देखिदैछ परिदृष्य !

काठमाडौं । चिसो बढेसँगै तराईका विभिन्न जिल्लामा शीतलहर भइरहेको छ भने, शीतलहरकै कारण जनजीवन नै प्रभावित छ । पछिल्लो एक हप्ता यता तराईका जिल्लाहरु हुस्सुले ढाकिने गरेका छन् । अत्याधिक चिसोले मृत्युवरण गर्नुपर्ने अवस्थासम्म छ तराई क्षेत्रमा । तर, शीतलहर र चिसोको असरबाट नागरिकलाई बचाउन सरकारले प्रभावकारी पूर्वतयारी भने गरेको देखिन्न । 

चिसो याममा तराई क्षेत्रमा शीतलहरको समस्या विगतदेखिकै हो । हरेक वर्ष शीतलहरकै कारण मानिसले मृत्युवरणसम्म गर्नुपरेको अवस्था छ । 

यस वर्ष पनि चिसोयाम शुरुसँगै तराईमा शीतलहरले जनजीवन जोखिममा पारिरहेको छ । यद्दपी, सरकारले दीर्घकालीन समाधानका कुनै कदम चाल्न सकेको छैन । तत्काललाई राहत मिल्ने गरि पूर्वतयारी समेत खासै भएको देखिदैन । 

शीतलहरको कहरबाट ज्यान गुमाउनेको अवस्था

–    शीतलहरका कारण ११ वर्षको अवधिमा करिब एक सय १६ जनाले ज्यान गुमाएको सरकारी तथ्यांक छ । 

–    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०६८

सालदेखि २०७९ पुस १३ (११ वर्ष) मा एक सय १६ जानाले ज्यान गुमाएका हुन् । 

–    शीतलहरका कारण सबैभन्दा बढी ज्यान गुमाउनेको संख्या रौतहटमा– ६३ जना

–    सप्तरीमा १९, महोत्तरीमा १५, सिराहामा ११, धनुषमा ४, बारामा दुई 

–    झापामा १, नवलपरासीमा १ जनाको मृत्यु

–    २०६८ साल वैशाखदेखि चैतसम्ममा मात्र ६६ जनाको मृत्यु भएको थियो । 

–    २०७४ मा ४८ जनाको शीतलहरका कारण मृत्यु
 
–    वि.सं २०६८ र २०७४ बाहेक अन्य वर्षमा शीतलहरकै कारण मृत्यु नभए पनि आगो, हिटर ताप्दा भने सर्वसाधरणको मृत्यु भयो ।

 शीतलहरबाट बढी प्रभावित जिल्ला

–    सुनसरीको दक्षिणी भाग, सप्तरी, सिरहा, धनुषा महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासीपश्चिम र कपिलवस्तु गरी ११ जिल्ला 

–    झापा, मोरङ, उदयपुर, चितवन, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरलगायत जिल्ला शीतलहरबाट कम प्रभावित 

शीतलहरजस्ता विपद् व्यवस्थापनका कार्य गर्ने अधिकार स्थानीय तहलाई दिए पनि उनीहरूको क्षमता अभिवृद्धि, पूर्वसूचनामा बेवास्ता, अन्य कार्यलाई बढी प्रथामिकता दिँदा शीतलहरजस्ता विपद् व्यवस्थापनको कार्य प्रभावकारी हुनसकेको छैन । 

राज्यले पनि कम प्रथामिकतामा राख्दा पूर्वतयारीमा लगानी न्यून रहेको सरोकारवालाको गुनासो छ ।

के हो शीतलहर ?

तराईका विभिन्न भागमा विशेषगरी पुस र माघमा आकाशलाई दिनभरि नै कुहिरोले ढाक्ने र घाम नलाग्ने हुँदा आकाशबाट अत्यन्त चिसो शीत खस्छ । 

यसरी चिसो बतास (हावा) चल्ने अवस्थालाई शीतलहरको प्राकृतिक प्रकोप भनिन्छ । प्रभावित क्षेत्रमा बिहानदेखि बेलुकासम्म हप्तौं वायुमण्डलको तल्लो सतहलाई बाक्लो हुस्सुले ढाक्नाले घाम नलाग्ने हुँदा तापक्रम ह्वात्तै तल झर्ने हुनाले चिसो बढी हुन्छ । 

शीतलहरबाट कसरी जोगिने

शीतलहरबाट प्रभावित हुने स्थानमा बसोबास गर्ने समुदायका मानिसले शीतलहरको समयमा आफ्ना परिवारको विषेश ख्याल राख्न जरूरी छ । 

यस समयमा सकेसम्म घर बाहिर ननिस्कुन उचित हुने विज्ञको सुझाव छ। न्यानो लुगा लगाउने, तातोपानी र खानेकुरा सेवन गर्ने, वृद्ध र बालबालिकाप्रति विशेष ध्यान दिने गर्नुपर्छ । 

के छ सरकारको योजना ?

सम्भावित शीतलहर तथा हिमपात विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्य मार्गदर्शनमा हिमपात, चिसो तथा शीतलहरबाट बच्न सचेतनाका कार्यक्रम सञ्चालन गर्ने, सामग्री तयार गरी प्रचारप्रसार गर्ने, विद्यार्थीलाई कक्षा दिने उल्लेख छ । 

हिमपात, तुसारो, बाक्लो कुहिरोका कारण सम्भावित सवारी दुर्घटनालाई न्यूनीकरण गर्ने, आवश्यकतानुसार सबै समूह गठन गरी त्यस्ता स्थानको ‘प्यापिङ’ गर्ने र दुर्घटना हुनसक्ने जोखिमयुक्त÷सम्भावित क्षेत्रमा विभिन्न सांकेतिक चिह्न तथा सूचनामूलक सन्देश राख्ने योजना छ। सवारीचालकलाई प्रवेश तथा प्रस्थान विन्दुमा जानकारी गराउने, हिमाली क्षेत्रमा हुनसक्ने हिउँआधीलागायत सम्भाव्य दुर्घटनाको खोज, उद्धार र उपचारको आवश्यक पूर्वतयारी गर्ने योजना छ। तर, यि योजनाहरु प्रभावकारी कार्यान्वयनमा छैनन् । 

प्रकाशित मिति: आइतबार, पुस २८, २०८१  ०८:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update