
काठमाडौं । पृथ्वी नारायण शाहको योगदानलाई स्मरण गर्दै मनाइने पृथ्वी जयन्तीले राष्ट्रिय एकता र नेपालभित्रको सांस्कृतिक विविधताको महत्वलाई पुनः उजागर गरेको छ । तर, दिवसको औचित्य के र किन यसलाई व्यापक रूपमा मनाइनुपर्छ भन्ने विषयमा विभिन्न कोणबाट बहस भइरहेको छ । यो दिनलाई गौरवको प्रतीक मानिने भएपनि सरकारी औपचारिकतामा सीमित राखिएकोमा विभिन्न पक्षबाट असन्तोष व्यक्त भइरहेको छ ।
पृथ्वीनारायण शाहले १८ औँ शताब्दीमा नेपाललाई एकीकृत मात्र गरेनन्, राष्ट्रिय पहिचान र स्वाभिमानको जग बसाले । त्यसैले पृथ्वी जयन्तीको औचित्य पुष्टि गर्नका लागि उनको योगदान र त्यसको वर्तमान परिप्रेक्ष्यमा सान्दर्भिकताबारे चर्चा हुनु आवश्यक छ । तर, यो दिन राजावादी शक्तिहरुको औपचारिक सभा–समारोहमा मात्रै सीमित हुने गरेको छ ।
शनिवार ३०३ औँ पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवसका क्रममा राष्ट्रपति र विभिन्न दलका प्रमुखहरूले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरे ।
सरकारी तवरबाट औपचारिक कार्यक्रम भने भएन । राप्रपा, राप्रपा नेपाल लगायतका कतिपय दलले भने पृथ्वीनारायण शाहलाई ‘राष्ट्रनिर्माता’का रूपमा उच्च सम्मान दिनुपर्नेमा जोड दिएका छन् ।
राष्ट्रिय एकता दिवसले नेपाललाई साना बाइसे–चौबीसे राज्यबाट एकीकृत राष्ट्र बनाउने ऐतिहासिक अभियानको सम्झना गराउँछ । तर, यो दिवसकै सन्दर्भमा पनि राजनीतिक दाउपेच हुने गरेको छ । यो दिवस किन महत्वपूर्ण छ ? किन हामीले पृथ्वी नारायण शाहलाई सम्झिनुपर्छ ? यो प्रश्नको उत्तर इतिहास, राष्ट्रियता, र वर्तमान चुनौतीहरूको विश्लेषणबाट स्पष्ट हुने राजनीतिक विश्लेषकहरू बताउँछन् ।
पृथ्वीनारायणले ‘दिव्य उपदेश’ मार्फत आर्थिक सुदृढीकरण, कूटनीतिक चातुर्यता, र सांस्कृतिक सहिष्णुताका पाठ दिए, जसले आज पनि नेपाली समाजमा मार्गनिर्देश गरिरहेको छ ।
नागरिक र राजनीतिक दलहरूबीच पृथ्वीनारायणको योगदानलाई अझ व्यापक रूपमा प्रचारप्रसार गर्नुपर्ने आवाज सुनिन थालेको छ । नेपाल एकीकरणको अभियानप्रति आलोचनात्मक टिप्पणी गर्नेहरुले समेत पछिल्लो समय पृथ्वीनारायणको चर्चा गर्न थालेका छन् ।
औपचारिकतामा मात्रै सीमित
नेपालका एकीकरणकर्ता पृथ्वी नारायण शाहको सम्झनामा मनाइने पृथ्वी जयन्ती सीमित राजनीतिक दलमा सीमित हुने गरेको छ । सरकारी तवरबाट पनि खासै महत्व दिएको पाइदैन ।
काठमाडौँ उपत्यका लगायत विभिन्न ठाउँमा पृथ्वीनारायणको शालिकहरुमा पुस २७ का दिन माल्र्यापण गरिए पनि ग्रामीण क्षेत्र र उपत्याका बाहिरी जिल्लाहरूमा यस दिनको कुनै खास प्रभाव देखिएन । हुनतः पृथ्वीनारायण शाह र अमेरिकाका प्रथम राष्ट्रपति जॉर्ज वाशिंगटन दुवैले आफ्नो राष्ट्रको निर्माणमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै तुलना हुन्छ । तर सम्मानको स्वरूप, जनस्तरको सहभागिता, र त्यसको प्रभावको सन्दर्भमा अमेरिकामा वाशिंगटनको सम्मान अत्यधिक हुने र सर्वस्वीकार्य भए पनि नेपालमा भने पृथ्वीनारायणको सम्मान औपचारिकतामा सीमित हुँदै गएको छ । वाशिंगटनलाई अमेरिकामा सबै पक्षबाट सम्मान गर्दा नेपालमा शाहको सम्मान राजनीतिक ध्रुवीकरणको कारणले केही विवादित बन्न पुगेको छ ।
अमेरिकामा सरकार, शिक्षा प्रणाली, र समाजले जॉर्ज वाशिंगटनको सम्मानलाई निरन्तर कायम राखेको छ । तर, नेपालमा पृथ्वीनारायणको योगदानलाई सम्मान गर्न प्रयास भए पनि त्यो पर्याप्त रूपमा संस्थागत भएको छैन ।
पृथ्वी जयन्तीको औचित्य केवल इतिहासको स्मरणमा सीमित छैन । यो दिवसले राष्ट्रिय एकता, सामाजिक सहिष्णुता, र वर्तमान युगमा पनि आत्मनिर्भरता र स्वाभिमानको महत्व झल्काउँछ । यसलाई जनस्तरमा व्यापक रूपमा मनाउने र नयाँ पुस्तालाई यसको महत्व बुझाउन सक्रिय प्रयास आवश्यक देखिन्छ ।