
काठमाडौं । निर्माण क्षेत्रमा देखिएका समस्या तत्काल समाधान नगरे सडक आन्दोलनमा उत्रिने भन्दै निर्माण व्यवसायीहरुले चेतावनी दिएका छन् । देशभरका निर्माण व्यवसायीहरुले शनिबार काठमाडौंमा भेला आयोजना गरि सरकारलाई खबरदारी गरेका हुन् ।
नेपालको अर्थतन्त्र चलायमान बनाउने मुख्य क्षेत्र हो निर्माण व्यवसाय, तर यही क्षेत्र लामो समयदेखि समस्याग्रस्त छ । भुक्तानी, निर्माण सामग्रीमा अचाक्ली मूल्य वृद्धि लगाएतका कारण निर्माण व्यवसाय थलिएको छ ।
पटक–पटक आफ्ना समस्याबारे सरकारलाई ध्यानाकर्षण गराउदै आएपनि यसको सुनुवाइ नभएको भन्दै व्यवसायीहरुले शनिवार नेपाल निर्माण व्यवसायी महासंघको आयोजनामा काठमाडौंमा भेला सरकारलाई खबरादी गरेका छन् ।
निर्माण क्षेत्रका समस्या समाधान सडक आन्दोलनमा उत्रिने चेतावनी व्यवसायीहरुको छ । भेलाका क्रममा निर्माण क्षेत्रका विभिन्न ९ बुँदाहरुमा गहन छलफल समेत गरिएको छ । तीनै तहका सरकारले निर्माण कार्यको भुक्तानी नगरेको भन्दै यसले निर्माण क्षेत्र प्रभावित भएको उनीहरुको भनाई छ ।
सिमेण्ट, छड लगायतका निर्माण सामग्रीमा कालो बजारी भएको आरोप लगाउँदै व्यवसायीहरुले कालो बजारी नियन्त्रणमा सरकारको बजार अनुगमन फितलो रहेको र यसलाई तत्काल सुधार नगरे गम्भिर समस्या निम्तनेतर्फ सचेत समेत गराएका छन् । सरकारले व्यवसायीका माग सम्बोधन नगरे पुस मसान्तपछि देशव्यापी सडक संघर्षमा उत्रिने नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले चेतावनी दिए ।
राष्ट्र बैंकले निर्माण ब्यवसायीलाई प्रदान गरेको ब्यवस्था हटाउँदा ब्यवसायी पुष मसान्त पछि झन बढी समस्यामा पर्ने महासंघका अध्यक्ष सिंहको भनाई छ । निर्माण ब्यवसायीहरु लामो समय देखि भुक्तानीको कारण समस्यामा पर्दा जिल्ला तथा स्थानीयका साना तथा मझौला ब्यवसायीहरु बैकको कर्जा तथा साहुको ऋण भुक्तानी गर्न नसक्ने अवस्थामा पुगेको व्यवसायीहरुको गुनासो छ ।
विभिन्न जिल्लाहरुबाट भेलामा सहभागी भएका व्यवसायीहरुले आर्थिक समस्याको कारण कतिपय व्यवसायीलाई बाँच्नै मुस्किल भइरहेको भएपनि सरकार गम्भिर नभएको र यसपछिको परिणाम सरकारले जिम्मा लिनु पर्ने बताए ।
महासंघका पदाधिकारी, पूर्वअध्यक्ष तथा विभिन्न तहका निर्माण व्यवसायीहरुले सरकार निर्माण क्षेत्रमा गम्भिर नभए सडकमा उत्रिन बाध्य बनाएको भन्दै आक्रोश पोखेका छन् ।
सरकारले कामको भुक्तानी दिन नसक्दा अर्थतन्त्रमा नै समस्यामा पर्नेतर्फ सचेत हुन निर्माण क्षेत्रका विभिन्न तहका व्यवसायीहरुले आग्रह गरेका छन् ।
व्यवसायीले व्याज तथा ऋण भुक्तानी गर्न नसक्ने जटिल अवस्था आउने भएकाले नेपाल राष्ट्र बैक र अर्थ मन्त्रालय समेत व्यवसायीमैत्री बन्न उनीहरुको माग छ । अहिलेकै अवस्था लम्बिने हो भने मुलुकको अर्थतन्त्र थप धरासायी हुने निश्चित रहेकाले सरकारले निर्माण क्षेत्रको समस्या समाधान गर्नुको विकल्प देखिदैन ।