News 24 Television
आइतवार मात्रै रवि काठमाडौं जिल्ला अदालत जाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा ६५ लाख धरौटी बुझाएर रिहा भइसकेका छन् । काठमाडौं जिल्ला अदालतमा आफै हाजिर हुने सर्तमा रिहा भएका रविले शुक्रबारलाई बने गुड फ्राइडेको रुपमा मनाउदै अदालत जाने समय आइतबारलाई धकेलिदिएका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठगी, सम्पत्ति शुद्धिकरण र संगठित अपराध आरोपमा कास्की जिल्ला अदालतको आदेशपछि ६५ लाख धरौटीमा रिहा भएका छन् । 

६५ लाख धरौटी बुझाएर रिहा भएका रवि शुक्रबार काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुने कागज गरेर रिहा भएका थिए । तर, उनले शुक्रबार अदालत उपस्थित हुने विषयलाई आइतबारका लागि धकेलिदिएका छन् । 

यस्तोमा रविले पोखराबाट काठमाडौं आउँदा सडकमार्ग रोज्नुलाई कारण भएको रास्वपाले दाबी गरेको छ । तर, रविले किन शुक्रबार उपस्थित हुने विषयलाई किन प्राथमिकतामा राखेनन् भन्ने विषयमा भने विभिन्न टिप्पणी चलिरहेका छन् । 

रवि आइतबार अदालत जाने

रवि लामिछाने अब आइतबार मात्रै अदालतमा हाजिर हुनेछन् । पोखरासँगै रविविरुद्ध काठमाडौंमा पनि सहकारी ठगीको मुद्दा दर्ता भइसकेको छ । 

यस्तोमा रविलाई कास्की प्रहरीले धरौटीमा रिहा भएपनि काठमडौं प्रहरीलाई बुझाउने तयारी गरेको थियो । तर, सार्वजनिक रुपमा रविलाई राज्यले प्रतिशोध साँधेर घुमाइरहेको भन्ने सन्देश जानसक्ने खतरालाई मध्यनजर गर्दै रिहा गर्ने गरि तादम्यता देखायो । तर, रवि शुक्रबार अदालतमा उपस्थित हुने भनिएपनि सडकमार्गबाट आउँदा समय लागेको भन्दै अब आइतबार मात्रै अदालत जानेछन् । 

शुक्रबार अदालत उपस्थित हुँदा रवि फेरि प्रहरी हिरासतमा जानुपर्ने स्थिति हुन्थ्यो । शुक्रबार नै इजलास गठनको प्रक्रियासहित बयान र थुनछेक बहसको सम्भावना नभएपछि उनी आइतबारपछिसम्म रहनुपर्ने स्थिति बन्यो । 

जुन शनिवारको सार्वजनिक बिदा पनि यसैमा जाने स्थिति थियो । त्यहि विषयलाई रविले आइतबारका लागि समय सारेको बुझिन्छ ।

आइतबार रवि अदालत उपस्थित भएपछि अदालतले इजलास गठन, पेशी व्यवस्थापन गर्ने र बयानपछि थुनछेक बहस हुने स्थिति बन्छ । यस्तोमा रविलाई अदालतले प्रहरी हिरासतमा पठाउने सामान्य प्रचलन रहने हुन्छ । यसकारण पनि शनिबारको बिदा उपयोग रणनीतिले आइतबारसम्म अदालत उपस्थित हुने सुर गरेको देखिन्छ । 

अदालतको आदेशका कारण पनि हिरासत यात्रा रोकिएको विश्लेषण भइरहेको छ । तर, थुनाबाहिरै रहेर पूर्पक्ष गर्ने सवालमा भने काठमाडौं जिल्ला अदालतको आदेशपछि थप थाहा हुनेछ ।

रविको रिहाई र खुशी

रवि लामिछानेलाई कास्की जिल्ला अदालतले धरौटीमा छाड्ने आदेश दिएसँगै उनी रिहा भए । त्यसपछि रास्वपा कार्यकर्तादेखि धेरैले खुशी साटिरहेका छन् । तर, अदालतले अहिले नै निर्दोष वा दोषी किटान नगर्ने भएकाले मुद्दाको अन्तिम किनारा नलाग्नुन्जेलसम्म यो विषय पर्ख र हेरको स्थितिमा नै हुनेछ । 

अझं, अदालतले रवि र गोरखा मिडियाबीचको कारोबारदेखि अन्य विषयलाई केलाउदै कसुरदार होइन रहेछन भन्ने प्रमाण फेला नपरेको भनेको छ । यस्तोमा अब कास्की जिल्ला अदालतले गर्ने फैसला नै कुर्नुपर्ने हन्छ । सामान्यतया रविले आफ्नो रिहाईका लागि इजलासमा आफ्ना तर्क राख्दै आएका थिए । भने रविसँगै यो प्रकरणमा पक्राउ परेका छविलाल जोशीदेखि लीला पछाईसम्म सबै धरौटी बुझाएर रिहा भइसकेका छन् ।

सुप्रिम सहकारीमा पनि प्रहरीको सक्रियता

वुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पनि रुपन्देही प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको छ । रुपन्देहीमा पनि रविविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ भने काठमाडौं जिल्ला अदालतमा हुने न्यायिक प्रक्रियापछि रवि फेरि रुपन्देहीमा जानुपर्ने स्थिति छ । 

रवि लामिछानेलाई प्रहरीको प्रतिवेदनका अनुसार व्यक्तिगत रूपमा गएको २ करोड र गोर्खा मिडियाका नाममा गएको सामूहिक २ करोड १५ लाख २८ हजार गरी ४ करोड १५ लाख २८ हजार रुपैयाँको बिगो मागदाबी गरिएको बताइएको छ । 

यसरी रविविरुद्ध प्रहरीले पर्सा र चितवनमा पनि यहि प्रकृतिको अनुसन्धान र सहकारी ठगी मुद्दाको अभियोजन गर्ने तयारी गरिरहेको छ । यी दुई जिल्लामा समेत रविको बयान लिने काम प्रहरीले गरिसकेको छ ।

सांसद पद के होला ?

रवि धरौटीमा रिहा भइसकेपनि उनको सांसद पद भने निलम्बनकै अवस्थामा रहनेछ । सम्पत्ति शुद्धिकरण मुद्दाका कारण सांसद पद निलम्बनमा परेकाले उनीविरुद्धको मुद्दाको अन्तिम किनारा नलागेसम्म सांसद पद निलम्बनमै रहनेछ । तर, रास्वपाले सांसद पदबाट निलम्बन गर्ने प्रतिनिधिसभाको निर्णयविरुद्ध सर्वोच्च जाने स्थिति पनि रहन्छ । 

यसअघि नै रास्वपाले सर्वोच्च जाने भनेको थियो । तर, कास्की जिल्ला अदालतको निर्णयपछि थप निर्णय गर्ने भन्दै अल्झिएको रास्वपाले अब सभामुखको निर्णयविरुद्ध सर्वोच्च जाने र सांसद पद फिर्ताको माग गर्न भने पाउँछ । तर, त्यो समयसम्म भएपनि उनी सांसदको हैसियतमा काम गर्न भने पाउने स्थितिमा छैनन् । 

प्रकाशित मिति: शनिबार, पुस २७, २०८१  ०९:११
प्रतिक्रिया दिनुहोस्
Weather Update