News 24 Television
ओलीको सत्तामा धावाः प्रचण्डको अनौठो सक्रियता, अरु के गर्दैछन् ?

काठमाडौं । विपक्षी दलका नेताहरुले राजनीतिक सक्रियता बढाउन थालेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सक्रियता बढाउदै लगेका छन भने समाजवादी मोर्चालाई सक्रिय बनाउने बन्दै राजनीतिक दाउपेच पनि शुरु भएको छ । 

कांग्रेस एमालेको सत्ता सहकार्यमा खटपट शुरु भइसकेको छ । संविधान संशोधनलाई लिएर तनाव सिर्जना भएकै बेला प्रतिपक्षी दलका नेताहरुले समाजवादी मोर्चाको आवरणमा राजनीतिक सक्रियतालाई बढाउन थालेका छन् । यहि मेसोमा प्रचण्डले सरकार अलोकतान्त्रिक ढंगले बनेका कारण लामो समय नचल्ने दाबी गरे । 

प्रचण्डले यस्तो जिकिर गर्देैगर्दा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल भने समाजवादी मोर्चालाई सक्रिय बनाउने गरि तयारी गरिरहेको दाबी गरिरहेका छन् । 

माधवले समाजवादी मोर्चालाई सक्रिय बनाउने गरि सिंहदरबारमा बैठक चलेको दाबी गरेपनि मोर्चाको नेतृत्व गरिरहेका नेकपाका महासविव नेत्रविक्रम चन्द ’विप्लव’ भने बैठकमा सहभागी छैनन् । 

सत्ताको प्रश्न

प्रतिपक्षी दलहरुले राजनीतिक सक्रियता बढाएको विषयमा कुनै शंका छैन् । यस्तोमा समाजवादी मोर्चाको बैठक नै माघ २ गते बस्ने गरि निर्णय भनिएको बैठकमा संयोजक विप्लव र मोर्चाका सदस्य नेपाल समाजवादीका प्रतिनिधि नहुनुले पनि राजनीतिक रुपमा नयाँ शंका उत्पन्न गरेको छ । अझ, समाजवादी मोर्चाको कुनै साइनो नै नभएका राजेन्द्र लिङ्देनले पनि भेट गरेर संविधान संशोधन, व्यवस्था, नेतृत्व र अन्य विषयमा दिएको सार्वजनिक टिप्पणीले पनि राजनीतिक दाउपेचको संकेत गरिरहेको छ । 

राप्रपाले जस्तै माधव नेपाललाई संविधान संशोधनबारेको प्रश्न सोध्दा उनी प्रधानमन्त्री केपी ओलीमाथि अत्यन्तै अनुदार सुनिन्छन् । ओली ०८७ सम्मै सत्तामा रहन खोजेको पो हुन कि भन्दै माधव नेपालले व्यङ्ग्य कसेका छन् । 

प्रचण्डले राखेको यो बैठकमा अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्र श्रेष्ठ पनि सहभागी भएको भनिएको छ । बैठकले समाजवादी मोर्चाबारेको बहस छेडेपनि मोर्चासँग सम्बन्धित गतिविधिभन्दा सत्तासँगै सम्बन्धित गतिविधि नै देखिएकाले ओली नेतृत्वको सरकारबारेमा अनेक शंका र प्रश्न भने उठेका छन् । 

कुटनीतिज्ञको सक्रियता

कांग्रेस सभापति  शेरबहादुर देउवा पत्नीसमेत रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवाले समेत चिनियाँ राजदूतलाई भेटेकी छन् । उनले सिंहदरबारमा नेपालका लागि चिनियाँ राजदूत छन सोङसँग भेटवार्ता गरेको बताइएको छ भने उनीहरुले दुई देशबीचको सम्बन्ध र सहकार्यमा जोड दिएको बताइएको छ । 

केहि समय पहिले चीनसँग भएको बीआरआई सम्झौतामा कांग्रेसमा एककिसिमको आक्रोश रहेकै बेला सन्तुलनकारी अभिव्यक्ति दिदै आएकी आरजुले गरेको यो भेटलाई समेत अर्थपूर्ण भनिएको छ । यसरी कुटनीतिज्ञहरुले समेत सरकारमाथिका आशंका उब्जिएका बेला भेट्नुलाई थप रोचक ढंगले हेरिएको छ । 

ओलीको दौडधुप

प्रधानमन्त्री केपी ओली पनि कानूनमन्त्री अजयकुमार चौरासिया र मुख्यसचिव एकनारायण अर्याललाई लिएर राष्ट्रपति कार्यालय पुगेका छन् । संसद अधिवेशन आह्वानमै अलमल गरिरहेको सरकारले राष्ट्रपतिलाई भेट्ने काम नियमित भनेपनि यसको रहस्य भने खुलिसकेको छैन् । सत्ता उलटफेरको शंका चलेकै बेला राजनीतिक दल विभाजनसम्बन्धिका अध्यादेश आउन सक्ने र त्यसको प्रमुख लक्ष्यमा माधव नेपालको नेकपा एकीकृत समाजवादी हुने त होइन भन्ने शंका समेत उत्तिकै छ । 

उसोतः अन्य साना दलमा समेत तीब्र मतभेद चलिरहेको छ । यसरी दल विभाजनसम्बन्धि अध्यादेश जारी भएमा ओलीले एमालेलाई ठूलो पार्टीको रुपमा लैजान सक्ने सम्भावना समेत देखिन्छ ।

प्रकाशित मिति: शनिबार, पुस २७, २०८१  ०९:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update