News 24 Television
रौतहटमा हात्ती पसेर किसानको हजारौँ विगाह केरा खेती नष्ट

रौतहट । पछिल्लो समय रौतहटमा जंगली हात्तीको आतंक बढ्दा सबभन्दा धेरै किसान प्रभावित भइरहेका छन् । किसानले लगाएको बालीनाली हात्तीले नष्ट गरिदिदाँ किसानहरुले निकै नोक्सानी व्यहोर्नु परिरहेको छ । ऋणपान गरेर खेती किसानी गरिरहेका किसानहरुले हात्ती नियन्त्रण गर्नेतर्फ सहयोग गरिदिन सरकारसँग अपिल समेत गरेका छन् । 

दुई महिनादेखि रौतहटको उत्तरी भेगमा रहेको चन्द्रपुर नगरपालिकाको २ र ३ वडामा जंगली हात्तीले निकै दुःख दिन थालेको छ । दैनिक ४ देखि ६ वटा संख्यामा आउने जङ्गली हात्तीहरूले किसानहरूले लगाएका अन्नबालीहरूमा नोक्सानी पुर्याइरहेका छन् । जङ्गली हात्तीहरूले विशेष गरी ती क्षेत्रमा लगाएका केरा खेतीमा बढी नै क्षति पु¥याएका छन् । 

समूहमा आउने जङ्गली हात्तीहरूले कैयौ विगाहमा लगाएका हजारौँ संख्यामा केराका बोटहरू लडाएर नोक्सान पु¥याएका छन् । हात्तीहरुले ५० वटादेखि ६०० वटा बोटसम्म केरा भाँचेर क्षति पु¥याएको किसानको गुनासो छ । लालबहादुर दोङले चन्द्रपुर २ मा लगाएको ८ सय केराका बोटमध्ये अब डेढसय वटा मात्रै बाँकी रहेको बताए । 

एउटा केराको बोट नोक्सानी हुँदा ८०० देखि १००० रुपैयाँसम्म नोक्सानी हुने किसानहरु बताउँछन् । अबको दुई तीन महिनामा बजारमा बेच्न तयार हुने केरा हात्तीले बोट सहित नै नष्ट गरेपछि हुने नोक्सानी कसरी व्यहोर्ने भनेर किसान झन चिन्तित बनेका छन् । 

आफ्नै जग्गा नहुने कतिपय किसानहरुले जग्गा भाडामा लिएर समेत केरा खेती गरिरहेका छन् । हात्तीले केरा नष्ट गरिदिएपनि उनीहरु आफ्नो परिश्रमको मूल्यको त कुरै छोडौँ जग्गा भाडा कसरी तिर्ने भन्नेमै चिन्तित छन् । आफूहरूले हात्ती नियन्त्रण गर्न र किसानलाई राहत दिन बारम्बार पहल गरे पनि तीनै तहको सरकारले कुनै सुनुवाई नगरेको स्थानीयको गुनासो छ ।  

जंगली हात्तीले चन्द्रपुर नगरपालिका मात्र नभएर जिल्लाका फतुवा विजयपुर, वृन्दावन,  गुजरा लगायतका पालिकाहरूमा पनि क्षति पु¥याइरहेका छन् । हात्तीहरूले किसानहरूको बाली मात्र नभएर घरहरूमा पनि नोक्सानी पु¥याएका छन् । 

घरमा राखेका धान, गहु, मकै मुसुरो, तोरी लगायतका अन्नहरू पनि हात्तीले फ्यालिदिने खाइदिने गरेको किसानहरू बताउँछन् । यता डिभिजन वन कार्यालय रौतहट भने हात्तीलाई मानव बस्तीमा पस्नबाट रोक्न आफूहरू लागिरहेको र यसका लागि इनरलाइजर जडान गर्न स्थानीय सरकारसँग आर्थिक लगायतको सहायताको लागि माग गरेको बताउँछ ।

सरकारले वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका २०८० जारी गर्दै बालीको क्षति भएमा मूल्याङ्कनको आधारमा एक मौसममा लगाएको बालीको एकपटक र वर्षमा दुईपटक नबढ्ने गरी बढीमा १० हजार रुपैयाँसम्म किसानले क्षतिपूर्ति पाउने व्यवस्था गरेको छ । जुन पर्याप्त नभएको र लिन पनि निकै झण्झटिलो रहेको किसानहरुको गुनासो छ । 
 

प्रकाशित मिति: शनिबार, पुस २७, २०८१  ०९:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update