News 24 Television
काठमाडौंमा चाकुको व्यापार फस्टायो, के भन्छन् व्यापारी ? 

काठमाडौं । माघे सङ्क्रान्ति आउन अब केही दिन मात्र बाँकी छ । यस समयमा काठमाडौं, भक्तपुर र ललितपुरका अधिकांश नेवार समुदाय चाकु बनाउनमा व्यस्त छन् । तर, चाकु व्यापारलाई वर्षौदेखि निरन्तरता दिँदै आएका उनीहरुका समस्या भने थुप्रै छन् । नेपालको संस्कृतिसँग जोडिएको चाकु व्यापारको वर्तमान अवस्था के–कस्तो छ त ?

माघे सङ्क्रान्ति आउन अब केही दिन मात्र बाँकी छ । यस समयमा काठमाडौं, भक्तपुर र ललितपुरका अधिकांश नेवार समुदाय चाकु बनाउनमा व्यस्त छन् । विशेष गरि टोखामा चाकु उत्पादनको मात्रा बढी रहेको छ । काठमाडौं उपत्यकाको उत्तरी भेगको मध्य भागमा रहेको प्राचिन शहर टोखा नेवार बस्ती हो । ‘टोखा’ नामको बारेमा एउटा किंवदन्ती छ । 

वर्षौं पहिले त्यहाँ धेरै फाँटहरु थिए जहाँ उखु खेती गरिन्थ्यो । नेपाल भाषामा ‘टु’को अर्थ उखु र ‘ख्यः’को अर्थ फाँट भन्ने बुझिन्छ । पहिलेपहिले गाउँमा उखु धेरै हुने भएर ‘टुख्यः’ भनिन्थ्यो ।  पछि अपभ्रंश हुँदै टोखा भन्न थालियो । टोखामा सामुहिक उखु खेती गरेर त्यहीँको उखुले परम्परागत रुपमा चाकु बनाउने गरिन्थ्यो । तर अहिले गुठीको जग्गा विक्री हुँदै मासिएपछि टोखामा अन्यत्रबाटै उखु ल्याएर चाकुको व्यावसायिक उत्पादन गरिँदै आएको छ । 

माघे सङ्क्रान्ति नजिकिएसँगै टोखावासीलाई चाकु बनाउन भ्याइनभ्याई छ । शुरुशुरुमा उपत्यकामा मात्र चाकुको माग हुने भएपनि अहिले देशभरबाट माग आउन थालेको चाकु व्यवसायीहरु बताउँछन् । चाकु खाँदा शरीरमा चिसो नपस्ने र रोगसँग लड्नसक्ने क्षमता विकास हुने विश्वास गरिन्छ । टोखामा चाकु बनाउन व्यवसायीहरु त व्यस्त छन् नै उपत्यका र उपत्यकाबाहिरबाट चाकु किन्न आउने व्यापारीको समेत बजारमा चहलपहल बढेको छ । टोखा बजारमा चाकु उत्पादन गर्ने व्यवसायीहरुका लागि समाज नै गठन गरिएको छ । 

मागअनुसारको चाकु उत्पादन गर्दै आइरहेको टोखा परम्परागत चाकु संरक्षण समाजका उपाध्यक्ष बुद्ध श्रेष्ठ बताउँछन् । बजारमा चाकुको मागअनुसार उत्पादन गर्न समस्या भइरहेको उनको भनाई छ । बजारमा सख्खरको मूल्य बोरामा दुई÷तीन सय रुपैयाँले बढेको भएपनि चाकु भने पुरानै भाउमा बेच्नुपरेको छ । 

टोखामा चाकुको भाउ प्रतिकिलो १०० रुपैयाँदेखि १४० रुपैयाँसम्म रहेको छ । आफूहरुले चाकुको मूल्य तोक्नको लागि बैठक नै आह्वान गरेको भएपनि विचौलियाको कारण समस्या भएको उनको दुखेसो छ । विचौलियाहरुलाई चाकु धेरै दिन राख्न नमिल्ने भएका कारण सस्तोमा दिन्छन् भन्ने सोच विकास भएको कारण आफूहरुले उचित मूल्य पाउन नसेकेको श्रेष्ठ गुनासो छ । 

तेस्रो पुस्ताले धानेको चाकु व्यवसाय

टोखावासीले चाकु बनाउन थालेको वर्षौं भयो । अहिले टोखाको तेस्रो पुस्ताले चाकु व्यवसाय धानिरहेको छ । शुरुमा उखु उत्पादन धेरै हुन्थे । समयक्रमसँगै उखु उत्पादन हराउँदै गएपनि टोखाबासीले चाकु उत्पादन गर्ने पूर्खाको परम्परा भने छोडेनन् । अहिले चाकुका लागि आवश्यक कच्चा पदार्थ तराई क्षेत्रबाट ल्याइने गरेको छ । 

चाकु नेपाली चकलेटको रुपमा काठमाडौं उपत्याकामा मात्र नभई उपत्यका बाहिरका शहरहरुमा समेत माग बढेको र अमेरिका बेलायत लगायतका देशहरुबाट समेत माग आउने भएकोले यसको ब्राण्डिङ गर्नुपर्ने व्यवसायीहरुको भनाइ छ । चाकुका लागि आवश्यक पर्ने सख्खर बाहिरबाट मगाउनुपर्ने बाध्यता रहेकोले यसको गुणस्तरलाई नापेर ब्राण्डिङ गर्न तीन तहको सहकार समन्वयकारी भुमिका खेल्न आवश्यक रहेको व्यवसायीहरु बताउँछन्  । 

नेवारी संस्कृतिमा माघ १ गते चाकु खानैपर्ने प्रचलन छ । साथै नेवार समुदायमा काजकिरियाको बेलामा पनि चाकु खाने प्रचलन रही आएको छ । 

प्रकाशित मिति: शनिबार, पुस २७, २०८१  ०८:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update