News 24 Television
तरकारीको नाममा विष सेवन गर्दै उपभोक्ता, कुनमा धेरै विषादी ?

काठमाडौं । दैनिक उपभोग्य पदार्थ साग तथा तरकारीहरुमा विषादीको अवशेष अत्यधिक मात्रामा भेटिन थालेको छ । कालीमाटी तरकारी बजार विकास समितिमा दैनिक रुपमा परीक्षणका क्रममा पछिल्लो एक सातायता विषादीको अत्याधिक मात्रा भेटिएको छ ।  मानव स्वास्थ्यका लागि हानिकारक मानिएका यस्ता विषदीको प्रयोग साग तथा तरकारीमा अध्याधिक मात्रामा गरिदा मानव स्वास्थ्य थप जोखिममा छ । 

काठमाडौंको तरकारी बजारमा रहेको केन्द्रीय कृषि प्रयोगशाला अन्तर्गतको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाईले तरकारीमा विषादीको दैनिक मापन गर्दै आएको छ । यहि मापनका क्रममा प्रयोगशाले एक हप्ता यता कालीमाटी तरकारी बाजारमा आउने विभिन्न तरकारीहरु मध्ये रायोको सागमा विषदीको प्रयोग बढि मात्रामा भएको भेटाएको छ । शुक्रवार प्रयोगशालाले गरेको परिक्षणका क्रममा रायो सागका साथै टाटे सिमीमा समेत अध्याधिक विषादीको प्रयोग भएको भेटिएको छ । 

कृषकहरुले विषादी छर्नासाथ तरकारी टिप्ने र बजारमा पठाउने प्रवृत्ति बढ्दो देखिएका कारण उपभोक्ता विषादीयुक्त तरकारी उपभोग गर्नबाट बञ्चित भएका छन् । विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ कालीमाटीले सागको नमुना परिक्षणका क्रममा भक्तपुरबाट कालीमाटी तरकारी बजार विक्रिका लागि लगिएको रायोको सागको नमुना परिक्षण गर्दा ९९ दशमव ३८०९ प्रतिशत अर्गानोफस्फेट नामक विषादी भेटाएको थियो । 

त्यस्तै अन्य स्थानबाट आएका रायोगको साग सहित अन्य सागमा पनि ८८ दशमलव ८४० प्रतिशत देखि ५४ दशमलव ८६४ प्रतिशत सम्म अर्गानोफस्फेट नामक विषादी भेटाएको थियो । जबकी यस्ता प्रकारका विषदी यस्तो प्रकारको विषादी ३५ प्रतिशतभन्दा कम भए उपभोगयोग्य ३५ देखि ४५ प्रतिशतसम्म भए केही दिन राखेर खान मिल्ने तथा ४५ प्रतिशतभन्दा बढी भए खानका लागि अयोग्य मानिन्छ । 

शुक्रवार विश्लेषण प्रयोगशाला एकाइले गरेको परिक्षणमा टाटेसिमीमा अत्यधिक मात्रामा अर्थात खान आयोग्य खालको भेटिएका कारण ६९ केजी टाटेसिमी डिस्पोज गरिएको थियो । 

विषदीयुक्त तरकारी तथा फलफूलको  सेवन स्वास्थ्यका लागि घातक हुने विज्ञको भनाई छ । यस्ता तरकारीको सेवनले छाला तथा श्वासप्रवासका साथै मृगौला तथा क्यान्सरको जोखिमलाई समेत बढाउने गर्छ । 

नेपालमा अझै पनि धेरै कृषकहरू विषादीको मात्रा र त्यसको अवधिबारे पूर्ण रूपमा जानकार नहुँदा यस्ता समस्या बढेको बताइन्छ । व्यवसायिक रुपमा खेती गर्ने कृषकहरुलाई विषदीका बारेमा सचेतना फैलाउने र आमभोक्क्ता आफै पनि सजक र सचेत हुन आवश्यक छ ।

 

 

प्रकाशित मिति: शनिबार, पुस २७, २०८१  ०८:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update