काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटि बैठक समापन कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले दिएको भव्यक्तिपछि सत्ता गठबन्धनमा समस्या पैदा हुनसक्ने खतराका संकेतहरु देखिएका छन् ।
मुख्यतः प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधनको विषयमा दिएको अभिव्यक्तिका कारण सत्ता गठबन्धनमा फाटो आउने खतरा देखिएको हो । हाल सत्ताको नेतृत्वमा नेकपा एमाले रहेपनि यसको प्रमुख आधार भने नेपाली काँग्रेस नै हो ।
यस्तोमा ओलीले दिएको अभिव्यक्तिमा नेपाली काँग्रेसका नेताहरुले भने आपत्ति जनाउन थालिसकेका छन् । वर्तमान गठबन्धन निर्माण हुँदै गर्दा काँग्रेस एमालेबीच संविधान संशोधन अपरिहार्य भएको बताइएको थियो ।
राजनीतिक अस्थिरतालाई रोक्नकै लागि संविधान संशोधन गर्ने विषयमा पहल गर्ने र तत्कालै यसबारे सर्वदलिय समझदारी गर्ने भनिएपनि प्रधानमन्त्री ओलीले भने अब ०८७ सालमा मात्रै संविधान संशोधन गर्ने भनेपछि सत्ता साझेदार दल नेपाली काँग्रेसले भने आपत्ति जनाएको हो ।
हुनत नेपाली काँग्रेसले यो प्रतिकृया जनाउनु अघि ओलीको अभिव्यक्तिबाट एमालेकै नेताहरु पनि आश्चार्य चकित बनेका थिए । तर ओलीले दोहो¥याइएरै ०८७ मै संविधान संशोधन गर्ने बताएपछि एमाले नेताहरु पनि त्यसलाई स्वीकार गर्न बाध्य बनेका छन् । तर यही अभिव्यक्तिका कारण सत्ता गठबन्धनको भविष्य तलमाथि त नहोला ? भन्ने विषय पेचिलो बनिरहेको छ ।
समझदारीबाट भाग्ने प्रयासमा एमाले !
काँग्रेससँग गठबन्धन गर्नुको प्रमुख कारण नै संविधान संशोधन र स्थायी सरकार निर्माणको आधार तय गर्नु थियो । तर अब वर्तमान गठबन्धनकै बलामा संविधान संशोधन हुने विषय लगभग अनिश्चितजस्तै भइसकेको छ । किनकी संविधान संशोधनका लागि काँग्रेस एमालेको मात्रै सिट संख्याले पुग्दैन ।
यो अवस्थामा माओवादी केन्द्रको साथ अनिवार्य छ । तर माओवादी भने तत्काल दुई दलिय प्रणालीमा जानेगरी संविधान संशोधन गर्ने पक्षमा छैन । यद्यपि काँग्रेस एमालेले सुरुमा सर्वदलिय सहमतिमा जोड दिने सम्झौता गरेका थिए । तर अहिले प्रधानमन्त्री ओली नै प्रतिपक्षी दलहरुलाई हार गुहार नगर्ने मुडमा पुगेका हुन् ।
ओली बरु आगामी निर्वाचनको मत परिणाम कुरेरै भएपनि संविधान संशोधनको विषयलाई सार्थकता दिने रणनीतिमा पुगेका हुन् ।
यो अवस्थामा काँग्रेसले भने एमालेबाट धोका भएको रुपमा व्याख्या गर्न थालेको छ । काँग्रेसको नेतृत्व स्तरबाटै यो अभिव्यक्ति नआएपनि दोस्रो तहका नेताहरुले धोकाकै रुपमा व्याख्या गर्न थालिसकेका छन् ।
गठबन्धन नटिक्ने संकेत
प्रमुख दुई दलहरुले विभिन्न समझदारी गरेर सरकार निर्माण गरेपनि दुवै दलका नेताहरुमा त्यसअनुसारको लय भने मिलेको छैन । बढीजसो एमालेले गठबन्धनप्रति सदाशयता प्रकट गरिरहेपनि काँग्रेस नेताहरुले भने यस्लाई स्वीकार गरिरहेका छैनन् ।
यस्तोमा प्रधानमन्त्री ओलीले काँग्रेसलाई पटक पटक नेतृत्व हस्तान्तरणको मिति स्मरण गराइरेका छन । तर काँग्रेस नेताहरु भने घरीघरी एमालेको नेतृत्वमा सरकार रहेपनि नीति भने आफूहरुकै रहेको जिकिर गरिरहेका छन् ।
काँग्रेस नेताहरु वर्तमान सरकारको जग र नीतिबारे पटक पटक बखान गर्ने गरेपनि यो मामिलामा एमालेले भने कुनै प्रतिकृया दिइरहेको छैन । यद्यपि वर्तमान सरकारको आधार र अस्थित्वको सवालमा काँग्रेस एमाले भित्र व्यापक संघर्ष रहेको पुष्टि गर्ने आधारहरु प्रशस्तै देखिन्छन् ।
यो अवस्थामा संविधान संशोधनको विषयलाई प्रमुख आधार नै बनाएर सत्ता सहकार्य गरेका काँग्रेस एमालेले ओलीको अभिव्यक्तिलाई कुन रुपमा लिन्छन् ? यो विचरणीय मोडमा पुगेको छ । तर काँग्रेसका केही नेताहरुले भने यसलाई आपत्तिको विषय बनाइसकेको छन् ।