मुगु । नेपालको संविधानले स्थानीय पाठ्यक्रमको परिकल्पना गर्दै त्यसको निर्माण गर्ने जिम्मेवारी स्थानीय तहलाई दिएको छ । सोही अनुरुप मुगम कार्मारोङ गाँउपालिकाले भोट र नेपाली भाषामा पाठ्यपुस्तक निर्माण गरी पठनपाठनमा सन्चालनमा ल्याएको छ ।
नेपाली र मातृभाषामा पाठ्यक्रम निर्माण गरिएकाले पढ्न लेख्न निकै सहज भएको विद्यार्थीको अनुभव छ ।
हिमाली जिल्ला मुगुमा एक नगरपालिका र तिन गाँउपालिका गरी चार पालिका छन् । ती मध्ये मुगुम कार्मारोङ गाउँपालिकामा ९० प्रतिशत बौद्व धर्मावलम्बी र १० प्रतिशत हिन्दु धर्मावलम्वीको बसोबास छ ।
गाँउपालिका र करानि सामुदायिक बिकास केन्द्र नामक सस्थाको पहलमा पालिका भित्र रहेका १७ वटा सामुदायिक बिद्यालयमा स्थानिय खस नेपाली भाषा र भोट भाषामा कक्षा एकको पाठ्यक्रम निर्माण गरी सन्चालनमा ल्याएको छ ।
स्थानीय पाठ्यपुस्तक कक्षा १ देखि ८ कक्षासम्म सन्चालन गर्ने नेपाल सरकारको नीति भएपनि पहिलो चरणमा कक्षा १ को पाठ्यपुस्तक निर्माण गरी संचालनमा ल्याइएको र कक्षा २ र ३ को पाठ्यपुस्तक निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ ।
पालिकामा खसान र भोटेहरुको बसोबास भएकाले भोटे समूदायका बच्चाहरुलाई नेपाली भाषा पठनपाठनमा समस्या हुने गरेको गुनासो स्थानीयको थियो । हिन्दु र बौद्व धर्मालम्वीहरुको भूगोल, कला, संस्कृति र जीवनशैली लगायत समेटेर दुवै समुदायलाई सजिलो हुनेगरी पाठ्यक्रम निर्माण भएपछि अभिभावक पनि खुसी भएका छन् ।
नेपाली र भोट भाषामा पाठ्यपुस्तक बिद्यालयमा पढाइन थालेपछि शिक्षकलाई पनि पढाउन र लेखाउन निकै सहज भएको छ ।
स्थानीय पालिका भित्रका भेषभुषा र रितिरीवाजलाई समेटेर पाठ्यपूस्तक निर्माण गरिएपछि लोप हुने अवस्थामा पुगेका भाषा र संस्कृतिको संरणमा टेवा पुग्ने विश्वास स्थानीयले लिएका छन् ।