कास्की । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई कास्की अदालतले ६५ लाख धरौटीमा छाड्न आदेश दिएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले बिहीबार लामिछानेसहित ७ जनालाई धरौटीमा छाड्न आदेश दिएको हो ।
जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछाने सहित ७ जनालाई धरौटीमा छाड्न आदेश दिएको छ । जिल्ला अदालत कास्कीले रबि लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, लिला पछाईसँग ३६ लाख, राम खनालसँग १५ लाख, कृष्ण गुरुङसँग १ लाख, मिना गुरुङसँग ५ लाख र आरती गुरुङसँग ५ लाख धरौटी माग आदेश गरिएको जिल्ला अदालत कास्कीले जनाएको छ ।
यता अदालतको आदेश आएसँगै रास्वपा तथा रवि लामिछाने समर्थकहरूले खुसियाली मनाउँदै नाराबाजीसमेत गरेका छन् । देशमा न्यायालय रहेको र न्याय पाइएको रास्वापका समर्थकहरूको भनाइ छ ।
रबि लामिछानेविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोगमा मुद्दा दायर भएको थियो । सोही मुद्दामा लामो बहसपछि बिहीबार मात्रै थुनछेक आदेश आएको हो । यद्यपि जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएपनि उनी तत्काल रिहा हुन सक्ने अवस्था भने छैन ।
काठमाडौं जिल्ला अदालतमा जाहेर भएको स्वर्णलक्ष्मी सहकारीको अपचलन मुद्दामा पेश गर्नका लागि लामिछानेलाई प्रहरीले काठमाडौं लैजान सक्ने सम्भावना रहेको छ ।