काठमाडौं । भारतको ब्यूरो अफ इण्डियन स्ट्याण्डर्ड बीआईएस प्रमाणपत्र दिन ढिलाई गर्दा पछिल्लो केही महिनायता नेपाली वस्तुको भारततर्फ निर्यातमा अवरोध भइरहेको छ ।
भारतले जुत्ता, सिमेन्ट, प्लाइउड, जस्तापाता र सेनिटरी प्याड सहित कृषिजन्य वस्तु आयात गर्नका लागि बीआईएस प्रमाणपत्र अनिवार्य गरेको छ । शुक्रवारदेखि काठमाडौँमा हुन लागेको नेपाल भारत वाणिज्य सचिवस्तरीय बैठकमा भारतमा नेपाली वस्तु निर्यात गर्दा बीआईएस प्रमाण लिनु नपर्ने प्रस्ताव राख्न नेपाली व्यवसायीले माग गरेका छन् ।
शुक्रवारदेखि नेपाल र भारत वाणिज्य सचिवस्तरीय संयन्त्रको दुई दिने बैठक काठमाडौँमा बस्दैछ । बैठकको पूर्वसन्ध्यामा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले नेपालमा उत्पादित कृषिजन्य उत्पादनको निर्यात अवरोध हटाउनको लागि नेपालको गुणस्तर तथा नापतौल विभागले दिने गुणस्तर प्रमाणपत्रलाई मान्यता दिन आग्रह गर्नुपर्ने माग माग राखेका हुन् ।
नेपालबाट जुत्ता, सिमेन्ट, प्लाइउड, जस्तापाता, सेनिटरी प्याड तथा कृषिजन्य वस्तु भारत आयात गर्दा बीआईएस प्रमाणपत्र अनिवार्य गरेको छ ।
नेपाली व्यवसायीको मुख्य माग
१. बीआईएस प्रमाणपत्र दिन गरिएको ढिलाईको अवरोध हटाउनु पर्ने
२. दुई देशबीचको व्यापार सन्धि संशोधन
३. एक अर्को देशको गुणस्तर प्रमाणिकरणलाई नै मान्यता दिनु पर्ने
४. तेस्रो मुलुकमा नेपालबाट सामान पठाउँदा वा ल्याउँदा थप अन्य २ सुख्खा बन्दरगाहको पहुँच बिस्तार गरिनु पर्ने
५. नेपालका कृषिजन्य उत्पादनहरु अलैंची, जुट, चिया र अदुवा निर्यातको अवरोध तत्काल हटाउनु पर्ने
६. नेपालका २ अन्तराष्ट्रिय विमानस्थल सञ्चालनको वातावरण बनाउनु पर्ने
७. लगानीका लागि सहज वातावरण बनाउनु पर्ने
८. २०१६ देखि लगाएको एन्टी–डम्पिङ शुल्क हटाउनु पर्ने
भारतीय टोली नेपालमा
बैठकमा भाग लिन भारतीय वाणिज्य तथा उद्योग मन्त्रालयका सचिव सुनिल वर्थवाल ११ सदस्यीय टोलीको नेतृत्व गर्दै बिहिवार काठमाडौँ आएका छन् । उनको टोलीमा विभिन्न मन्त्रालय, निकाय र बोर्डका प्रतिनिधि छन् ।