News 24 Television
राजकिशोर यादव र प्रेम सुवालको अराजक चर्काचर्की 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय मुलुकमा अराजकता बढ्दै गएको भन्दै हरेक ठाउँमा चिन्ता ब्यक्त गर्छन् । सामाजिक विद्वेष बढेको प्रधानमन्त्री ओलीले मात्र नभई मुलधारका राजनीतिक दलका नेताहरुले चिन्ता ब्यक्त गर्छन् । तर जनताबाट निर्वाचित भएका सांसदहरु नै अराजक बनेको बेलाबेला देख्न पाइन्छ । 

विहीबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा सांसदहरुबीच झण्डै हानाहानको स्थिति बन्न पुग्यो । यो हो, प्रतिनिधिसभा अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक चल्दै गर्दा समितिकै सभापति राजकिशोर यादव र नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालबीचको चर्काचर्की । 

नेमकिपाका सांसद सुवाल संसदको मात्रै संसदीय समितिको पनि कुनै बैठक छुटाउँदैनन् । संसदमा सबैभन्दा बढी प्रश्न राख्ने सांसद पनि सुवाल । नागरिका चासोदेखि पत्रपत्रिकाले उठाएका गम्भीर सवालहरु संसदमा तेर्साइरहन्छन् ।

विहीबार पनि अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा आफ्नो असहमति राख्न खोजे । समिति सभापति यादवले वास्ता नगरेपछि सुवालले आफ्नो धारणा राख्न पाएको भन्दै सभापति यादवमाथि कडा रुपमा प्रस्तुत भए । 

सभापति यादवले आफूमाथि औंला नउठाउन चेतावनी दिँदै कडा प्रतिवादमा उत्रिए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डे, समिति सदस्य रहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल लगायत बैठकमा सहभागी थिए । दलीय हिसाबले ठूला दलका सांसदहरुलाई समय दिए पनि नेमकिपा सांसद सुवालले बैठकमा उठेका सवालहरुमा आफ्नो धारणा राख्न पाएनन् । 

विहीबारको समितिको बैठकमा क्यान र नेपाल एयर लाइन्सभित्रको समस्याबारे छलफल भएको थियो । यादव र सुवालबीचको चर्काचर्कीअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पाण्डेले नेपाल एयरलाइन्सलाई नसुधारीकन आफूले विश्राम नलिने प्रतिवद्धता जनाए । 

समितिले नेपाल वायुसेवा निगममा देखिएका समस्या र सुधारका उपाय अध्ययन गरी एक महिनाभित्र समितिलाई प्रतिवेदन पेश गर्न शिशिर खनालको संयोजकत्वमा उपसमिति गठन गरेको छ । क्यानको बारेमा पनि आगामी बैठकबाट उपसमिति बनाएर जाने सभापति यादवले बताएका छन् । 

समितिले संस्कृति, पर्यटन र नागरिक उड्डयन गरी तीन क्षेत्रकै वृहत्तर विकासका लागि मन्त्रालयको नीतिगत, संरचनागत र व्यवस्थापकीय सुधार गर्न कार्यान्वयनयोग्य कार्ययोजना यथाशिघ्र निर्माण गरेर त्यसको जानकारी समितिलाई गराउन निर्देशन दिएको पनि दिएको छ । 

नेपाल एयर लाइन्स र क्यानबीचको विकराल समस्या हल गर्नु आवश्यक छ । तर त्यो भन्दा पनि बढी अराजकता सांसदहरुभित्रै देखिएको छ । जुनसुकै समस्याको पनि समाधानमा लाग्ने र सरकारलाई समेत निर्देशन दिने समितिका सदस्यहरु अराजक रुपमा प्रस्तुत नभई गम्भीरतापूर्वक छलफल छलफल बहस  गर्न जरुरी छ ।

प्रकाशित मिति: शुक्रबार, पुस २६, २०८१  ०७:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update