काठमाडौं । राष्ट्रिय राजनीतिमा छाएका राजनीतिक दलहरु आगामी ८४ सालको निर्वाचित केन्द्रित संगठन निर्माण अभियानमा छन् । आगामी निर्वाचनमा ठूलो शक्ति निर्माणका लागि साना ठूला दलहरु एकता र ध्रुवीकरणको अभियान चलाइरहेका छन् । तर सरकारको नेतृत्वको गरिरहेको संसदको दोस्रो ठूलो दल एमाले भने राजनीतिक दलहरु प्रति आक्रामक ढंगले प्रस्तुत भइरहेको छ ।
आगामी ८४ सालको निर्वाचनलाई लक्षित गरेर नै राजनीतिक दलहरुले राजनीतिक अभियान चलाइरहेका छन् । हालैमात्र सत्तारुढ दल नेकपा एमाले र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक सम्पन्न भए ।
अन्य साना दलहरुले पनि संगठन निर्माण अभियान तीब्र पारेका छन् । संसदीय ब्यवस्थाको विरोध गर्दै यसअघिका निर्वाचन बहिष्कार गरेको नेत्रविक्रम चन्द विप्लव पनि ८४ सालको निर्वाचनमा दल दर्ता गरी निर्वाचनमा भाग लिने निर्णय गरिसकेको छ । अन्य साना दलहरु एकता र ध्रुवीकरणमा छन् । तर प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने आफ्नै पार्टीबाट विभाजित राजनीतिक शक्तिदेखि कम्युनिस्ट घटकहरुविरुद्ध नै आक्रामक बनिरहेका छन् ।
नेकपा एमालेको पुस २१ गतेदेखि २३ गतेसम्म बसेको केन्द्रीय समितिको आठौं पूर्ण बैठकले पनि विभिन्न कालखण्डमा पार्टीबाट अलग भएकालाई पार्टीमा फर्किन आह्वान गरेको छ ।
‘निर्णायक राष्ट्रिय शक्तिको निर्माण मुलुकको आवश्यक हो । यस्तो शक्तिको निर्माणबाट मात्रै राष्ट्रिय हित र स्वाभिमानको रक्षा, लोकतन्त्रको सुदृढिकरण, राजनीतिक स्थायित्वको सुनिश्चिता, र रामृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षको परिपूर्ति र समाजवादको लक्ष्य हासिल गर्न सम्भव छ । यस्तो शक्तिको निर्माण नेकपा (एमाले)को नेतृत्वमा मात्रै सम्भव छ ।
यस यथार्थलाई मनन् गर्दै निर्णायक राष्ट्रिय शक्ति निर्माणको यस अभियानलाई सफल बनाउन पार्टी विभाजन लगायतका कारणले पार्टी बाहिर रहनु भएका सबै कमरेडहरू र स्वतन्त्र ढंगले क्रियाशील रहनु भएका सबै मित्रहरुलाई नेकपा एमालेमा फर्कन, यसमा आबद्ध हुन र सक्रिय हुन यो बैठक आहवान गर्दछ ।’– एमालेको आठौं केन्द्रीय समितिको बैठकको प्रस्तावनामा नै भनिएको छ ।
७९ सालको निर्वाचनका बेला पार्टी विभाजन भएका कारण एमालेको शक्ति कमजोर हुने आंकलन गरिएको थियो । तर पनि निर्वाचनबाट एमाले दोस्रो शक्ति बन्यो । त्यहीको दम्भ एमाले नेताहरुले देखाइरहेका छन् ।
एमालेबाटै अलग भई माधव नेपाल नेतृत्वमा गठन भएको नेकपा एकीकृत समाजवादी पनि विचारमिल्ने दलहरुसँग एकता गर्ने योजनामा छ भने प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र विप्लव, धर्मेन्द्र वास्तोला, लगायता तत्कालिन माओवादी घटकहरुसँग एकता प्रक्रिया अघि बढाउने योजनामा छ । तर एमाले शीर्ष नेताहरुको आक्रामक अभिब्यक्तिले एकता र ध्रुवीकरणको प्रक्रियामा आउन चाहेका नेताहरुलाई टाढा बनाउने संकेत गरिरहेको छ ।