News 24 Television
प्रचण्ड लक्षित ओलीको टिप्पणी- 'झिंगाले सरापेर डिंगा मर्दैन'

काठमाडाैँ । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अमूक व्यक्तिहरू एमालेको अस्तित्व सकिदिने भनेर लागे पनि अहिले एमालेकै नेतृत्वमा सरकार सञ्चालन भइरहेको बताएका छन् । उनले पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालहरुपति इंगित गर्दै उक्त अभिव्यक्ति दिएका हुन् ।

बिहीवार एमाले पार्टी केन्द्रिय कार्यालय च्यासलमा स्ववियु निर्वाचनका सन्दर्भमा आयोजित राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै ओलीले  एमालेलाई भित्तामा टाँसिदिने जस्ता अभिव्यक्ति दिनेहरुलाई पन्छाएर एमाले सत्तामा पुगेकाे बताए । पछिल्लाे समय एमाले देशमा जनताले सबैभन्दा धेरै मन पराएको राजनीतिक दल रहेको उनकाे जिकिर छ । आफू एउटा इमान्दारिताका साथ काम गर्ने व्यक्ति भएको जिकिर गर्दै झिंगाले सरापेर डिंगा नमर्ने टिप्पणी गरे ।

प्रधानमन्त्री ओलीले भने, ‘एमालेलाई मार्छौं, सिध्याउँछौँ भने, उधुम कराए, कोही भाला लिएका छन्, कोही के बोकेका छन् । त्यस्तो गरेर कराए । यो चुनावपछि एमाले टर्च लाइट बालेर खोज्दा एमाले भेटिँदैन भने । भित्तैमा टाँसिदिन्छु भन्न पुगे । एमालेलाई भित्तामा टाँसिदिने अरे क्या लगेर । भित्तामा टाँसेपछि फोटो भएन । एमाले कुनै अस्तित्वमा छैन, एउटा छायाँ बनाउँछु भने । के भनेनन् । केपी ओली, को केपी ओली, कोको, को केपी ओली ? यति बिर्सिने भइसके क्या । यस्तै बिर्सिएको राम्रो । मेमोरी पावरले तिमीहरुको त्यसैगरी काम गरोस् । केही छैन । अब को केपी ओली भन्नेकुरा म बताउन्न । मैले थाहा पाएको भनेको एउटा साधारण मान्छे हो । इमान्दारिताका साथ काम गर्छ । तर झिंगाले सरापेर डिंगा मर्ने भए । झिँगाले सराप्दा डिंगा मर्दैन भन्ने भनाइ छ ।’

तत्कालीन नेकपा विभाजनपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ओलीलाई भित्तामै पुर्याइदिने अभिव्यक्ति दिने गरेका थिए ।त्यसपछि लामै समय यी दुवै नेताबीच कटुता कायम रह्याे । अघिल्लाे सत्ता सहकार्य टुटेपछि पुनः दुवै नेताले एक अर्कालाई सत्तोसराप गर्दै आएका छन् । 

प्रधानमन्त्री ओलीले युवा शक्ति एमालेसँग छ कि छैन भन्नेकुरा फागुन १५ को अनेरास्ववियुको निर्वाचनबाट देखाउनुपर्ने समेत बताएका छन् । उनले प्रचारबाजी र भ्रम लामो समयसम्म टिक्न नसक्ने बताए ।

प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१  १६:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update