News 24 Television
नेपालको सिमेन्टमा भारतको झेल ! निकास के ? 

रुपन्देही । पछिल्ला वर्ष नेपालबाट भारतर्फ सिमेन्ट निर्यातको अवस्था राम्रो थियो । निर्यात बढेसँगै उद्योगीहरु हौसिएका पनि थिए । तर, केही समय यता भारत सरकारको ब्यूरो अफ इण्डियन स्ट्यान्डर्स (बिआईएस)ले गुणस्तर सम्बन्धि इन्डियन स्ट्यान्डर्स इन्स्टिच्युट (आइएसआई) मार्क नविकरण नगर्दा केही उद्योगको सिमेन्ट निर्यात रोकिएको छ, भने केहीको समयावधि सकिँदैछ । जसले गर्दा उद्योगीहरु निराश बनेका छन् । 

कपिलवस्तुमा उद्योग रहेको बालाजी सिमेन्ट इण्डष्ट्रिजले कृष्णनगर नाका हुँदै सन् २०२३ को अन्तिमदेखि २०२४ सम्म ७ महिनाको अवधिसम्म२० करोड रुपैयाँको सिमेन्ट भारततर्फ निर्यात गर्यो । तर, पछिल्लो ७ महिना यता उक्त उद्योगको निर्यात ठप्प छ । 

यसको कारण हो, भारत सरकारको ब्यूरो अफ इण्डियन स्ट्यान्डर्स (बिआईएस)ले गुणस्तर सम्बन्धी इन्डियन स्ट्यान्डर्स इन्स्टिच्युट (आइएसआई) मार्क (सर्टिफिकेट) नविकरण नगर्नु । 

नविकरणका लागि उद्योगले ३ महिना अगाबै निवेदन दिएको थियो । तर, भारतले न नविकरण गरेको छ न कारण नै खुलाएको छ । आइएसआई नबिकरण नहुँदा कृष्णनगर नाका हुँदै भारततर्फ निर्यात भैरहेको सम्रान्ट सिमेन्टको निर्यात पनि रोकिएको छ । रुपन्देहीस्थित अर्घाखाँची सिमेन्ट लिमिटेडको निर्यात पनि ठप्प छ । 

अर्घाखाँचीको गत२०८१ असोज ९ देखि निर्यात रोकिएको छ । यो उद्योगले दुई वर्षमा करिब ५५ करोड रुपैयाँको सिमेन्ट निर्यात गरेको थियो ।

बिगतका वर्षमा भारतले आइएसआई मार्क नबिकरण गरे पनि यस वर्ष भने अबधि सकिएका कुनै पनि उद्योगहरुको नबिकरण गरेको छैन । अहिले कृष्णनगर नाका हुँदै घोराही सिमेन्ट, रुपन्देहीको बेलहिया नाका हुँदै पाल्पा र सर्वोत्तम सिमेन्टले भारततर्फ सिमेन्ट निर्यात गरिरहेका छन् । तर, यी उद्योगको पनि आइएसआई मार्क नबिकरण अवधि केही महिनाभित्रै सकिँदैछ । 

उद्योगीहरुका अनुसार भारतले यसैगरी नविकरण नगर्दै जाने हो भने केही समयपछि सबैजसो उद्योगले गर्दै आएको सिमेन्ट निर्यात रोकिनेछ । भैरहवा भन्सारका अनुसार बेलहिया हुँदै भारततर्फ निर्यात हुने मुख्य १० बस्तुमा सिमेन्ट र सिमेन्ट क्लिंकर पनि पर्छ । तर, पछिल्ला महिनामा केही उद्योगको निर्यात रोकिँदा विस्तारै निर्यात घटिरहेको छ ।

भारतले गुणस्तर चिन्ह र आयात अनुमती दिएपछि भैरहवा नाकाबाट आर्थिक वर्ष २०७९–८० मा ३१ करोड ६ लाख र २०८०–८१मा १अर्ब ६५ करोड ८६ लाख रुपैयाँ बराबरको सिमेन्ट निर्यात भएको थियो । 

चालु वर्षको मंसिर मसान्तसम्म ५ महिनाको अवधिमा ४३ करोड ४० लाख रुपैयाँको २ लाख ५९ हजार ७२१ टन सिमेन्ट भारततर्फ निर्यात भएको छ । 

पछिल्लो समय नेपालमा सिमेन्ट खपत कम छ । यस्तोबेला भारतले आइएसआई नविकरण नगर्दा उद्योगी झन निरास बनेका छन् । नेपाली सिमेन्ट गुणस्तर छ । अहिलेसम्म भारतले समेत गुणस्तरमा कुनै प्रश्न उठाएको छैन । तर, पनि भारतले नविकरण नगर्नुको कारण समेत नखुलाउँदा उद्योगीहरुमा अन्यौलता बढिरहेको छ । उद्योगीहरुले सरकारले भारतसँग कुटनीतिक पहल गरेर तत्काल आइएसआई नविकरणको व्यवस्था मिलाउन आग्रह गरेका छन् । 

प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१  ०६:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update