News 24 Television
बदमासी गर्नेलाई चरिकोटमा खतरा ! पर्यटकलाई यस्तो सजिलो !

दोलखा । चरिकोट दोलखा जिल्लाको सदरमुकाममात्रै नभई प्रमुख व्यापारिक केन्द्र समेत हो । देशविदेशबाट दोलखा घुम्न आउने अधिकांश पर्यटकहरू चरिकोट पुगेमा मात्रै अन्यत्र जाने गर्छन् । दोलखाको सदरमुकाम समेत रहेको चरिकोटमा जिल्लाका अन्य स्थानहरूभन्दा मानिसहरूको चाप पनि बढिरहेको छ । चरिकोटमा हुनसक्ने सम्भावित अपराध एवम् घटना–दुर्घटनालाई मध्यनजर गर्दै विभिन्न स्थानमा सीसीटीभी जडान थालिएको छ । 

पर्यटकीय नगरिका रुपमा चिनिने दोलखाको चरिकोटमा सुरक्षा व्यवस्था चुस्त राख्न सीसीटीभी जडान अभियान थालिएको छ । भीमेश्वर नगरपालिकाले जिल्ला प्रहरी कार्यालय दोलखासँग समन्वय गरि सीसीटीभी जडान शुरु गरेको हो । 

दोलखाको भीमेश्वर नगरपालिकाले पहिलो चरणमा सिसिटिभी क्यामेरा जडान गर्न ४२ लाख ५० हजारको टेन्डर आवान गरेकोमा जडान कम्पनीले २७ लाख ६४ हजारमा टेन्डर स्वीकार्दै काम सुरु गरेको थियो । हाल चरिकोटका १५ स्थानमा सिसिटिभी क्यामेराहरू जडान गरिसकेको र आगामी वर्ष अन्य स्थानहरूमा पनि जडान गर्ने नगरपालिकाको योजना रहेको छ ।

चरिकोट बजारमा रहेका पसलहरू तथा स्थानीयको घरहरूमा चोरी, लुटपाटका घटनाहरू घट्ने गरेकोले स्थानीयले असुरक्षित महसुस गरिरहेकाले सिसिटिभी क्यामेरा जडान पश्चात् यस्ता घटनाहरूमा कमी आउने प्रहरीको विश्वास छ । 

जिल्लाको खरीढुङ्गा चेकपोइन्टबाट डिजिटल चेकपोइन्ट को सुरुवात गरेको दोलखा प्रहरीले जिल्ला प्रवेश गर्ने प्रत्येक नाकामा डिजिटल चेक पोइन्ट राख्ने तयारी गरिरहेको छ । 

डिजिटल चेक पोइन्ट र जिल्लामा राखिएका सिसिटिभी क्यामेराहरूले जिल्लाको सुरक्षा स्थितिलाई मजबुत बनाउने र अपराध अनुसन्धानमा पनि सहयोग पु¥याउने प्रहरीको भनाइ छ । 

दोलखा जिल्ला सुरक्षा दृष्टिकोणले अत्यन्त संवेदनशील जिल्ला मानिन्छ। चीनसँगको उत्तरी सिमाना तथा काठमाडौँ एवं तराईबाट प्रवेश गर्ने यातायातको केन्द्रबिन्दु पनि चरिकोट रहेको छ। जिल्ला प्रहरी कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष ८०÷८१ मा ३४ वटा सवारी दुर्घटनामा परेर ११ जनाले ज्यान गुमाएका थिए भने यस आर्थिक वर्षको मङ्सिर महिनासम्म १९ वटा सवारी साधन दुर्घटना भएकोमा ६ जनाले ज्यान गुमाएका छन्। दुर्घटनाबारे अनुसन्धान गर्न प्रहरीलाई अप्ठ्यारो भइरहेको अवस्थामा सिसिटिभी जडान पश्चात सहज हुने जिल्ला ट्राफिक प्रहरी कार्यालयको भनाइ छ। 

’सुरक्षित सहर ,सभ्य नागरिक र सफा नगर’ को अवधारणा जडान गर्न सुरु गरेको सिसिटिभी क्यामेराले  अपराधिक गतिविधि मात्र नभई नगर क्षेत्रमा जथाभावी फोहोर गर्नेहरूको पनि निगरानी गर्ने भएपछि स्थानीय खुशी छन् । 

भीमेश्वर नगरपालिकाले जडान गरेको सिसिटिभी क्यामेराले प्रविधिको विकास सँगसँगै चरिकोटमा हुँदै आइरहेका अपराध , दूव्र्यसनी र अराजक क्रियाकलापलाई नियन्त्रणमा सहज हुने विश्वास लिइएको छ । 

प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१  ०६:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update