News 24 Television
अब भूकम्पका यस्ता सम्भावना ! कहाँ के गर्ने ? 

काठमाडौं । भूकम्पमा हुने मानवीय क्षतिको कारण कमजोर संरचना नै हो । भूकम्पको उच्च जोखिममा रहेको नेपालमा मध्यम प्रकारका भूकम्प र पराकम्पले पनि जनधनको क्षति गरिरहेका बेला ठूलो भूकम्प आए के होला ? यो प्रश्न गम्भिर रुपमा उठिरहेको छ । के भूकम्पबाट हुने जोखिम न्यूनिकरणका उपाय छैनन त ? उपाय भए कहाँ चुक भइरहेको छ त ? 

के तपाईं बस्नु भएको घर भूकम्पीय हिसाबले सुरक्षित छ ? वा नयाँ घर बनाउँदै हुनुहुन्छ भने भूकम्पीय हिसाबले सुरक्षित बनाउने विचार गर्नुभएको छ ? छैन भने यसमा ध्यान दिनुहोस् । ८ रेक्टर भन्दा बढीको भूकम्पको लागि आवश्यक उर्जा वा शक्ती भूगर्भमा संचित भइसकेको तथ्य भूगर्भविद्हरू बताउँछन् । 

भविष्यको कुनैपनि बेला ८ रेक्टर परिमाण भन्दा बढीको भूकम्प जान सक्ने प्रवल सम्भावना छ । भूकम्पको वैज्ञानिक भविष्यवाणी गर्न विज्ञान हालसम्म सफल भइसकेको छैन । त्यसैले आजैदेखि भूकम्पीय जोखिम न्यूनीकरण तथा पूर्वतयारीका लागि जुटनु आवश्यक छ । 

सबै नयाँ घरहरु भूकम्प प्रतिरोधी बनाउने, गैर संरचनात्मक वस्तुहरु बलियो र सुरक्षितसँग राख्ने कमजोर भवनहरुको भूकम्पीय सुदृढीकरण गर्दा पनि मानविय र भौतिक क्षतिलाई कम गर्न सकिन्छ । तर, सबै क्षेत्रमा भूकम्प प्रतिरोधी घर भवन, संरचना बनाउने ज्ञानको कमी छ । भूकम्पको बेला सबैभन्दा बढी क्षति त्यसैले गरिरहेको छ । 

यसबाहेक प्रत्येक वर्ष बढ्दै गएको शहरीकरणले पनि भूकम्पीय जोखिमको मात्रालाई बढाउँदै गएको छ । आचारसंहिता विपरीत बनाइएका भौतिक संरचनाहरू, साँघुरा र अव्यवस्थित सडकहरू, सहरी क्षेत्रमा पर्याप्त खुला ठाउँको अभाव लगायतका कारणले गर्दा पनि नेपालका अधिकांश सहर भूकम्पीय जोखिममा छन् ।

भूकम्पका समय कमजोर घर, विद्यालय वा कार्यालय भवन जस्ता भौतिक संरचनाको भग्नावशेषले किच्चिएर मृत्यु हुनेको संख्या ८०% रहेको अध्ययनहरूले देखाएको छ । २०७२ सालमा आएको भूकम्पमा पनि ९८% को मृत्यु भवनले किच्चिएर भएको छ र बाँकी २% को मृत्यु अन्य कारणले भएको छ । त्यसैले भूकम्पबाट जोगिन सुरक्षित भौतिक संरचना बनाउनु बाहेकको विकल्प छैन । 

भूकम्पीय जोखिम न्यूनीकरणका प्रमुख उपायहरु भनेको संरचनात्मक जोखिम न्यूनीकरण र भूकम्पीय पूर्वतयारी गर्ने हुन् । तर, विपद् आएपछि मात्र त्यसका लागि प्रतिकार्यमा नेपालले बढी ध्यान दिँदै आएको देखिन्छ । त्यसैले, संघीय सरकारको मात्रै नभएर भवन निर्माण संहिता लागु गराउन स्थानीय सरकारको भूमिका महत्तवपूर्ण रहने भएकाले  क्षमता अभिवृद्धिको पनि खाँचो देखिन्छ । 

प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१  ०६:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update