News 24 Television
ऋषिकेषपत्नी अञ्जला १० लाख धरौटीमा रिहा !

काठमाडौं । सहकारी ठगी प्रकरणमा मुछिएकी संसदको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेल पत्नी अञ्जला कोइराला लामो समयदेखि फरार रहेकी थिइन् । जिल्ला अदालत मोरङबाट पक्राउ पूर्जी जारी भएको भोलिपल्ट बुधबार नै कोइराला मोरङ जिल्ला अदालतमा उपस्थित भइन् । तर उनी बुधबार नै १० लाख धरौटी बुझाएर रिहा भएकी छन् । 

संघीय संसदको सार्वजनिक लेखा समिति सभापति ऋषिकेष पोखरेलकी पत्नी अञ्जला कोइराला मोरङको धनपाल गाउँपालिका ४ मा रहेको उमाशंकर कृषि सहकारी संस्थाको रकम अपचलनमा मुछिएकी हुन् । सहकारीको २२ करोड भन्दा बढी रकम अपचलन गरेको भन्दै उजुरी परेपछि फरार भइन् । सार्वजनिक लेखा समिति सभापति पोखरेलकै सक्रियतामा स्थापना भएको सहकारीको रकम अपलचनमा पत्नी अञ्जला जोडिएपछि पोखरेलमाथि नैतिक प्रश्न उठिरह्यो । 

सहकारी अपलचनमा आफ्नो नाम पनि जोडिएको कारण पोखरेलले ४ महिलासम्म पनि सार्वजनिक लेखा समितिको बैठकबाटै भागिरहेका थिए । तर चार महिनापछि बोलाएको बैठकमा  पनि पोखरेलविरुद्ध प्रश्नहरु उठे । एमाले सांसदहरुले पोखरेल पत्नी अदालतमा उपस्थित हुनुपर्ने बताएका थिए ।  

तर पोखरेलले आफू निर्दोष रहेको भन्दै सांसदहरुको प्रश्नमा नाजवाफ बने । उनले कानूनी प्रक्रियाको सबै विषयको परीक्षामा सहभागी हुन आफू तयारी रहेको समिति समक्ष स्पष्ट गरे । 

विपक्षी दलहरुले एमाले नेता एवम् सार्वजनिक लेखा समिति सभापति पोखरेलमाथि नै छानबिनको माग गरिरहँदा पनि पोखरेल पत्नी कोइरालालाई पक्राउ गरिएको थिएन । 

अन्ततः जिल्ला अदालत मोरङबाट पक्राउ पूर्जी नै जारी भएपछि भने कोइराला बुधबार विहान मोरङ जिल्ला अदालतमा उपस्थित भइन् । 

कोइरालाको उपस्थितिलाई विभिन्न शंकाको दृष्टिले हेरिरहँदा बुधबार नै मोरङ जिल्ला अदालतको इजलासले थुनामा बस्नु नपर्ने आदेश दियो । अञ्जलाको तर्फबाट ९ जना बरिष्ट अधिवक्तासहित ११ जनाले बहस गरेका थिए । अदालतको आदेशसँगै अञ्जला बुधबार नै १० लाख रुपैयाँ धरौटी बुझाएर छाडिएकी छन् । 

यही सहकारी ठगी मुद्दामा जोडिएका रंगेली २ का वडाध्यक्ष सन्तलाल खवास भने यसअघि नै ५ लाख धरौटीमा रिहा भएका थिए । एमाले नेता एवम् लेखा समिति सभापति ऋषिकेषकै सक्रियतामा स्थापना भएको उमागौरी कृषि सहकारीमा अञ्जला २०७२÷७३ सालदेखि नै सञ्चालक समितिमा थिइन् । सहकारीको रकम अपचलन मुद्दामा सञ्चालक समिति अध्यक्ष शम्भु रौनियारसहित २४ जना अभियुक्त अझै फरार छन् । 

प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१  ०६:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update