News 24 Television
मधेस सरकारद्वारा शहीद परिवारको बीमा कार्यक्रम सुरू

काठमाडाैँ । मधेस प्रदेश सरकारले शहीद परिवारहरूको स्वास्थ्य सेवामा सुधार ल्याउने उद्देश्यले स्वास्थ्य बीमा कार्यक्रमको शुरुवात गरेको छ ।

बुधवार पत्रकार सम्मेलन गर्दै प्रदेश सरकारका गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले पुस ९ गतेबाट बीमा कार्यक्रम लागू भएको जानकारी दिएका हुन् ।

मधेस सरकारले मधेस आन्दोलनका शहीद, माओवादी आन्दोलनको समयमा भएका जनयुद्धका शहीद र जिउँदो शहीद गरी १ हजार ८१ शहीद परिवारको स्वास्थ्य बीमा गर्ने प्रक्रिया अगाडी बढाइएको मन्त्री लेखीले जानकारी दिए । उनले स्वास्थ्य बीमा कार्यक्रमले प्रदेशका शहीद परिवारका सदस्यलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने जानकारी दिए । कार्यक्रमले शहीद परिवारलाई मेडिकल उपचारमा आर्थिक भारबाट मुक्त गर्ने लक्ष्य राखेको छ ।

पत्रकार सम्मेलनमा मन्त्री लेखीले गृहमन्त्रीको नेतृत्वमा स्थानीय सेवा र संरचनासम्बन्धी कानूनी संशोधनका लागि कार्यदल गठन गरिएको जानकारी पनि दिए । यस कार्यदलले स्थानीय तहहरूको संरचनामा सुधारका लागि मस्यौदा तयार पार्नेछ । 

प्रकाशित मिति: बुधबार, पुस २४, २०८१  १९:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update